पोखरा । यही २० र २१ गते आयोजना हुने पोखरा उद्योग वाणिज्य संघको निर्वाचनका लागि व्यवसायी दिलीप श्रेष्ठले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । व्यावसायिक हकहितको संरक्षण, संघको गरिमा अभिवृद्धि र उद्योगी–व्यवसायीका समस्या समाधानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धताका साथ उनले चुनावी मैदानमा उत्रिने निर्णय गरेका हुन् ।
विगत लामो समयदेखि पोखराको व्यावसायिक क्षेत्रमा पहिचान बनाएका श्रेष्ठले संघलाई थप समावेशी, सशक्त र व्यवसायीमैत्री बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।
उम्मेदवारीबारे स्पष्ट पार्दै श्रेष्ठले भने, ‘अहिलेको जटिल आर्थिक परिस्थितिमा उद्योगी–व्यवसायीहरू विभिन्न समस्यासँग जुधिरहेका छन् । संघको गरिमालाई अझ उच्च बनाउँदै व्यवसायीका हकहित र समस्या समाधानका लागि म निरन्तर समर्पित भएर काम गर्नेछु । विगतको सांगठनिक अनुभव र व्यावसायिक दक्षतालाई संघको हितमा प्रयोग गर्दै उद्योग वाणिज्य संघलाई व्यवसायीको भरपर्दो अभिभावक संस्थाका रूपमा विकास गर्न मेरो उम्मेदवारी हो ।’
श्रेष्ठ हाल अधिकृत बिक्रेता संघ पोखराका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वितरक महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्य हुन् । पोखरा उद्योग वाणिज्य संघकै पूर्व कार्यसमिति सदस्य भई जिम्मेवारी सम्हालिसकेका उनी लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीका पूर्व अध्यक्ष तथा पोखरा प्लास्टिक व्यवसायी समिति कास्कीका सदस्य समेत हुन् ।

अदिति ट्रेड सेन्टर, फोर ए डी ट्रेडिङ हाउस र फोर डी ट्रेडिङ हाउसका सञ्चालक रहेका श्रेष्ठको सांगठनिक अनुभव र व्यावसायिक पहुँचका कारण संघको आगामी कार्यसमितिमा उनको उपस्थिति फलदायी हुने व्यवसायीहरूको अपेक्षा छ ।



Comments are closed.