नेपाली अर्थतन्त्र हाल एक कठिन मोडबाट गुज्रिरहेको छ । बजारमा मागको कमी, तरलताको संकुचन र व्यवसायीहरूमा छाएको निराशाले समग्र आर्थिक चक्रलाई सुस्त बनाएको छ । यस्तो चुनौतीपूर्ण घडीमा निजी क्षेत्रले केवल गुनासो गरेर बस्ने भन्दा पनि बजारलाई चलायमान बनाउने साहसिक कदम चाल्नु आवश्यक छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले प्रथम काठमाडौं महोत्सव आयोजना गर्न लागेको छ । ‘समृद्ध काठमाडौं हाम्रो अभियान’ भन्ने दृढ संकल्पका साथ काठमाडौंको भृकुटीमण्डपमा माघ १४ गते सुरु हुने महोत्सव १७ गतेसम्म चल्नेछ । यो महोत्सव केवल एउटा व्यापारिक मेला मात्र नभई नेपाली मौलिकता, उद्यमशीलता र आर्थिक पुनर्जागरणको उत्सव पनि भएको संघका अध्यक्ष दिनेश श्रेष्ठ बताउँछन् । स्थानीय उत्पादनलाई प्रोत्साहन र उद्यमीहरूमा नयाँ उत्साह भर्ने लक्ष्यका साथ आयोजना गरिएको मेलाका विषयमा केन्द्रित रहेर अध्यक्ष श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकानीः
‘प्रथम काठमाडौं महोत्सव’ आयोजना गर्दै हुनुहुन्छ, यसको मुख्य उद्देश्य के हो ?
अहिलेको व्यावसायिक वातावरण निकै चुनौतीपूर्ण छ । बजारमा सुस्तता छ र व्यवसायीहरूमा एक प्रकारको निराशा छाएको छ । यस्तो अवस्थामा हात बाँधेर बस्नुभन्दा आर्थिक गतिविधिलाई चलायमान बनाउनु आवश्यक छ । महोत्सवको मुख्य उद्देश्य नै व्यावसायिक क्षेत्रमा उत्साह थप्नु, उत्पादक र उपभोक्ताबीच सिधा सम्पर्क गराउनु र ओझेलमा परेका स्थानीय उत्पादनलाई बजारसँग जोड्नु हो । ‘व्यापार व्यवसायको उत्थान, कला संस्कृति र पर्यटन प्रवद्र्धन, समृद्ध काठमाडौं हाम्रो अभियान’ मूल नाराका हामी काठमाडौं महोत्सवमा जुटेका छौं ।
यसपटकको महोत्सवमा विशेष आकर्षणहरू के–के छन् ?
यो केवल सामान किनबेच गर्ने थलो मात्र हुने छैन । हामीले यसलाई प्रदर्शनीसँगै वर्कसप र अन्तरक्रियात्मक प्लेटफर्मका रूपमा विकास गरेका छौं । महोत्सवमा नेपालका विभिन्न जातजातिका रैथाने र मौलिक परिकारहरू, हस्तकलाका सामग्री, र कृषि उत्पादनहरू रहनेछन् । काठमाडौं महानगरपालिकासँगको सहकार्यमा हुने यस मेलामा उपत्यकाका सबै नगरपालिकाको सहभागिता रहनु आफैंमा एउटा ठूलो शक्ति हो । करिब २०० स्टलमा नेपालसहित विभिन्न देशका उत्कृष्ट उत्पादनहरू प्रदर्शन गरिनेछन् ।
साना तथा महिला उद्यमीहरूका लागि महोत्सवले कस्तो अवसर सिर्जना गर्छ ?
हामीले लघु, साना र मझौला उद्यमलाई यो महोत्सवको मेरुदण्ड मानेका छौं । विशेषगरी महिला उद्यमीहरूका लागि हामीले छुट्टै प्याभिलियनको व्यवस्था गरेका छौं । उनीहरूका उत्पादनलाई बजारको मूल प्रवाहमा ल्याउन यो एउटा सुनौलो अवसर हो । यसबाहेक, हामीले डिजिटल प्रविधि पनि अपनाएका छौं । स्टल राख्ने व्यवसायीहरूको सेवा र वस्तुलाई डिजिटल एक्स्पो वेबसाइटमार्फत निःशुल्क प्रवद्र्धन गरिनेछ, जसले उनीहरूको व्यापारिक सञ्जाल मेला सकिएपछि पनि विस्तार भइरहनेछ ।
स्थानीय सरकार, विशेषगरी काठमाडौं महानगरपालिकासँगको समन्वय कस्तो छ ?
समन्वय निकै उत्साहजनक छ । काठमाडौं महानगरपालिका र उपत्यकाका अन्य नगरपालिकाहरूले यसलाई आफ्नै कार्यक्रमका रूपमा अपनत्व लिनुभएको छ । महानगरका ३२ वटै वडाका रैथाने उत्पादनहरू महोत्सवमा देख्न पाइनेछ । स्थानीय निकायहरूको यो सहभागिताले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन र कला–संस्कृतिको जगेर्ना गर्न ठूलो भूमिका खेल्नेछ । काठमाडौंका अन्य नगरपालिकासँग पनि सहकार्य र समन्वय भएको छ । अन्य स्थानीय तहका स्थानीय उत्पादन पनि महोत्सवमा देख्न सकिन्छ ।
दर्शक र उपभोक्ताले महोत्सवबाट कस्तो लाभ लिन सक्छन् ?
उपभोक्ताले एकै ठाउँमा नेपालका मौलिक स्वाद र हस्तकलाका सामग्रीहरू सुपथ मूल्यमा पाउनुहुनेछ । हरेक दिन कलाकारहरूबाट सांस्कृतिक प्रस्तुतिहरू हुने भएकाले यो एउटा पारिवारिक उत्सव जस्तो हुनेछ । हामीले यसलाई व्यापारिक लाभका लागि मात्र नभई पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा पनि अघि बढाएका छौं । काठमाडौंलाई संसारभर चिनाउने र आन्तरिक पर्यटन बढाउने हाम्रो लक्ष्य हो ।
महोत्सवलाई आगामी दिनमा कसरी निरन्तरता दिने योजना छ ?
हाम्रो सोच यसलाई ‘वान टाइम इभेन्ट’ मात्र बनाउने होइन । काठमाडौं महोत्सवलाई आगामी दिनमा वार्षिक रूपमा आयोजना गरी व्यवसाय प्रवद्र्धनको एउटा स्थायी प्लेटफर्म बनाउने हाम्रो दीर्घकालीन लक्ष्य छ । म सम्पूर्ण आम नागरिक र व्यवसायी साथीहरूलाई भृकुटीमण्डपमा आएर मेलाको अवलोकन गरिदिन र हामीलाई रचनात्मक सुझाव दिन हार्दिक निमन्त्रणा गर्दछु ।




Comments are closed.