ज्वज्वलोपा, नमस्कार, शुभ बिहानी ।
कला र संस्कृतिले समृद्ध काठमाडौं जिल्लामा यस संघले पहिलो पटक आयोजना गरेको ‘काठमाडौं महोत्सव २०८२’ र ‘काठमाडौं व्यापार मेला २०२६’ को समुद्घाटनका लागि हाम्रो निमन्त्रणा स्वीकार गरी, आफ्नो व्यस्तताका बाबजुद प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुभएकी काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुश्री सुनिता डंगोल ज्यू प्रति आयोजक समितिको तर्फबाट हार्दिक आभारसहित स्वागत अभिवादन व्यक्त गर्दछु ।
मेलाको महत्वलाई कदर गर्दै ¥यालीमा सहभागी भई हाम्रो हौसला बढाइदिनुहुने सार्क चेम्बर, अन्तर्राष्ट्रिय चेम्बर, साथै व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स एवं घरेलु तथा साना उद्योग वाणिज्य संघका अध्यक्ष एवं पदाधिकारीज्यूहरू, काठमाडौं जिल्लाका नगर प्रमुख तथा उपप्रमुखज्यूहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकृतज्यूहरू, जिल्ला, नगर, वस्तुगत तथा स्थानीय उद्योग–व्यवसाय संघका प्रतिनिधिहरू, महोत्सवका प्रवद्र्धक, सहयोगी संघ–संस्था, वडा प्रमुखहरू, स्वदेशी तथा विदेशी प्रदर्शकहरू, शिल्पी, कलाकार, सञ्चारकर्मी मित्रहरू र सम्पूर्ण आदरणीय महानुभावहरूमा हार्दिक स्वागत गर्दछु ।
तपाईंहरूको गरिमामय उपस्थितिले यो महोत्सवलाई विशेष बनाएको छ । जीवित देवी कुमारी माजूको आशीर्वाद प्राप्त गरी बाजागाजासहितको ¥यालीपश्चात् यहाँ आइपुगेर मातृशक्तिको प्रतीक, युवा नेतृको करकमलबाट यस मेलाको समुद्घाटन गराउन पाउँदा हामी गौरवान्वित छौं । आराध्यदेव भगवान् पशुपतिनाथ र स्वयम्भूनाथको काखमा रहेको यो पवित्र भूमिमा पहिलो पटक आयोजना गरिएको यो महोत्सव तपाईंहरूको भव्य उपस्थितिले सफल भएको हामीले महसुस गरेका छौं ।
‘व्यापार व्यवसायको उत्थान, कला संस्कृति र पर्यटन प्रवद्र्धन, समृद्ध काठमाडौं हाम्रो अभियान’ नाराका साथ आयोजित यो महोत्सव केवल व्यापारिक प्रदर्शनी मात्र होइन, यो हाम्रो सांस्कृतिक पहिचान, उद्यमशीलता र सिर्जनशीलताको उत्सव पनि हो । मेलामा काठमाडौं महानगरपालिका र अन्य नगरपालिकाहरूले स्वरोजगारका लागि प्रदान गरेको सीपमूलक तालिमबाट उत्पादित महिला उद्यमीका सामग्रीहरू विशेष आकर्षणका रूपमा छन् । ‘एक वडा, एक उत्पादन’ कार्यक्रम अन्तर्गतका उत्कृष्ट वस्तुहरूलाई बजारसम्म पु¥याउनु हाम्रो लक्ष्य हो । यसका साथै, प्रविधिमार्फत विश्वभर जानकारी दिन हामीले ‘डिजिटल एक्सपो’ पनि सुरु गर्दैछौं ।
हाल बजारमा वस्तु तथा सेवाको मागमा आएको कमी र निजी क्षेत्रमा छाएको निराशालाई चिर्न यो मेला सहयोगी हुनेछ भन्ने हाम्रो विश्वास छ ।
हाम्रो संविधानले स्थानीय तहलाई शक्ति सम्पन्न बनाएको छ । तर, एक दशक बितिसक्दा पनि केन्द्रबाट स्थानीय तहलाई पूर्ण रूपमा स्वायत्त बनाउन सकिएको छैन । अब निजी क्षेत्र र स्थानीय सरकार मिलेर सहकार्य गर्नु जरुरी छ । यस उत्सवमा स्थानीय तहको उत्साहपूर्ण सहभागिताले सोही सहकार्यको प्रतिविम्ब झल्काउँछ । अब ‘निजी क्षेत्रलाई किन सहयोग गर्ने ?’ भन्ने प्रश्न गर्नेहरूलाई हामी यो सहकार्यमार्फत जवाफ दिन चाहन्छौं । हामीले तिरेको करबाटै स्थानीय विकास सम्भव भएको छ र यसको निरन्तरताको हामी अपेक्षा गर्दछौं ।
विश्वका पर्यटकीय नगरहरूमा वर्षैभरि उत्सवहरू भइरहन्छन् । काठमाडौं जस्तो विश्व सम्पदा सूचीमा रहेको सहरमा यस्ता कार्यक्रमले पर्यटन वृद्धिमा ठूलो मद्दत पु¥याउनेछ ।
अन्तमा, एउटा दुःखद पक्ष राख्न चाहन्छु । देशको राजधानीमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हल नहुनु पीडादायी छ । यो भृकुटीमण्डपको अवस्था जीर्ण छ । धेरै नेताहरूले मञ्चबाट अन्तर्राष्ट्रिय हल बनाउने आश्वासन दिनुभयो, तर मञ्चबाट ओर्लनासाथ ती प्रतिबद्धताहरू बिर्सिइए । यदि सरकारले सक्दैन भने, यो जग्गा हाम्रो संघलाई ४९ वर्षका लागि लिजमा उपलब्ध गराइयोस् । सरकारको एक पैसा लगानीबिना हामी यहाँ तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको सभाहल र प्रदर्शनी केन्द्र निर्माण गर्नेछौं र प्रत्येक वर्ष सरकारलाई निश्चित राजस्व बुझाउनेछौं । विदेशी पाहुना आउँदा यो जीर्ण भवन देखाउन हामीलाई लाज लाग्छ ।

आजको मुख्य चिन्ता भनेको युवा जनशक्तिको पलायन र आर्थिक मन्दी हो । हामीले युवाहरूलाई देशमै अवसर र कामको सम्मान दिनुपर्छ । अत्यधिक र अनिश्चित करको बोझले समृद्धि सम्भव छैन । सरल र सुलभ सरकारी सेवा, स्तरीय शिक्षा, स्वास्थ्य र मेहनत अनुसारको आय नै आजको युवाको सपना हो ।
यो महोत्सव सफल बनाउन अहोरात्र खट्ने हाम्रो सानो तर सशक्त टिम, शुभचिन्तक र सहयोगी हातहरूप्रति कृतज्ञता व्यक्त गर्दछु । केही कमी–कमजोरी भएमा औंल्याइदिनुहुन अनुरोध गर्दै, यहाँहरूको समय सिर्जनशील बनोस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।
(बुधबार सुरु भएको प्रथम काठमाडौं महोत्सवको उद्घाटन कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले व्यक्त गरेको मन्तव्यका सार)




Comments are closed.