दिगो पर्यटनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक

दिनेश तुलाधर, उपाध्यक्ष, होटल एसोसिएसन नेपाल

होटल एसोसिएसन नेपालले आफ्नो स्थापना भएको ६० वर्ष पूरा गरेको अवसरमा हिरक जयन्ती मनाइरहेको छ । यो जयन्ती केवल एक दिन वा एक कार्यक्रममै सीमित नभई, वर्षभरि विभिन्न रचनात्मक, नीतिगत र व्यावहारिक कार्यक्रमहरू सञ्चालन गरेर मनाउने हाम्रो योजना छ । यस अवसरलाई आत्मसमीक्षा, सुधार र भविष्य निर्माणको आधार बनाउँदै नेपाली होटल उद्योगलाई अझ व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउने हाम्रो उद्देश्य हो ।

होटल संघ नेपालले देशभर फैलिएका होटल व्यवसायीहरूलाई व्यवस्थापन, सेवा र गुणस्तरका दृष्टिले थप सशक्त बनाउँदै लैजाने लक्ष्य लिएको छ । यही सोचका साथ हामीले नेपालभरको होटल उद्योगको स्तरउन्नति गर्न तथा पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन होटल एक्स्पो आयोजना गर्न लागेका छौं । यो एक्स्पो केवल चारतारे वा पाँचतारे होटलहरूका लागि मात्र सीमित हुने छैन, बरु साना, मझौला तथा सबै स्तरका होटलहरूको क्षमता अभिवृद्धि गर्ने साझा प्लेटफर्मका रूपमा रहनेछ ।

हाम्रो प्रयास अन्तर्राष्ट्रियस्तरका होटल सेवा–सुविधा नेपालमै उपलब्ध गराउनेतर्फ केन्द्रित छ । होटल सञ्चालनमा आवश्यक मापदण्ड, व्यवस्थापन शैली, सेवा गुणस्तर, प्रविधि प्रयोग र मानव संसाधन विकासमा विशेष ध्यान दिइनेछ । यसले सम्पूर्ण होटल उद्योगलाई एउटै साझा मापदण्डतर्फ उन्मुख गराउने विश्वास हामीले लिएका छौं । पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको एक प्रमुख स्तम्भ हो । हाल पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा करिब ७ प्रतिशत पुगेको छ, जुन गर्वको विषय हो । नेपाल आउने प्रत्येक पर्यटकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देशको अर्थतन्त्रमा योगदान पु¥याइरहेका छन् । त्यसैले पर्यटकलाई सुरक्षित, गुणस्तरीय र विश्वस्तरको सेवा प्रदान गर्नु हाम्रो साझा दायित्व हो ।

पर्यटनको सफल व्यवस्थापनका लागि सरकारी, निजी तथा सामुदायिक सबै क्षेत्रहरूको सहकार्य अपरिहार्य छ । होटल व्यवसायी मात्रले प्रयास गरेर पर्यटन क्षेत्र दिगो रूपमा अगाडि बढ्न सक्दैन । सरकारको भूमिका नीति निर्माण, पूर्वाधार विकास, हवाई कनेक्टिभिटी विस्तार र पर्यटनमैत्री वातावरण सिर्जनामा अत्यन्त महत्वपूर्ण हुन्छ । यस सन्दर्भमा सरकारलाई हाम्रो आग्रह छ, नीति बनाउँदा होटललाई मात्र केन्द्रमा नराखी, समग्र पर्यटन क्षेत्रलाई समेट्ने गरी दीर्घकालीन र व्यवहारिक नीति निर्माण गरियोस् ।

हिरक जयन्तीको अवसरमा हानले बिगतका उपलब्धि मात्र होइन, आगामी दिनका चुनौती र सम्भावनालाई पनि गम्भीरतापूर्वक विश्लेषण गरिरहेको छ । यदि नीति, पूर्वाधार, सेवा गुणस्तर र जनशक्ति विकासमा समन्वित प्रयास गर्न सकियो भने नेपाली होटल तथा पर्यटन उद्योगले अझ ठूलो फड्को मार्नेमा हामी विश्वस्त छौं । हिरक जयन्ती हाम्रो लागि उत्सव मात्र होइन, नयाँ संकल्प र नयाँ यात्राको सुरुवात पनि हो ।

You might also like

Comments are closed.