अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेका व्यवसायीहरूको साझा र प्रतिष्ठित संस्था हो नेपाल शैक्षिक परामर्श संघ (इक्यान) । इक्यानले आफ्नै विशिष्ट पहिचान र गरिमा निर्माण गरेको छ । २०औं साधारण सभासम्म आइपुग्दा इक्यानले आफ्नो इतिहास रच्न सफल भएको छ । यस संस्थाले आफ्ना सदस्यको हकहितको संरक्षण गर्दै समस्याको समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
मैले आन्तरिक र बाह्य दुवैस्तरमा संस्थाको गतिविधिहरू सफल बनाउन नेतृत्वको पछाडि उभिएर सक्रियतापूर्वक योगदान गर्दै आएको छु । ‘फेयर कमिटी’को संयोजक भएर भृकुटीमण्डपमा आयोजित ‘मेगा फेयर’मार्फत ३८ लाख आम्दानी जुटाउन सफल भएको अनुभव छ । मैले कोभिड–१९ को चुनौतीपूर्ण समयमा संस्थाको प्रवक्ताको रूपमा व्यवसायीका समस्या सरकारसम्म पुर्याउन अग्रणी भूमिका निर्वाह गरेको छु । कार्यसमिति सदस्य, प्रथम सचिव र दुई कार्यकाल महासचिव भएर संस्थासँग निरन्तर जोडिएको छु ।
करिब १५ वर्ष इक्यानमा प्रत्यक्ष जोडिने क्रममा दोस्रो कार्यकालका लागि महासचिवमा पुनः निर्वाचित भएर प्रशासनिक सुधार लगायतमा काम गर्न सफल भएको छु । इक्यानले संचालन गर्ने हरेक गतिविधिमा म अग्रभागमा रहेर निरन्तर सहभागिता जनाउँदै आइरहेको छु । इक्यानको गरिमा उच्च बनाउने गरी हामीले निरन्तर काम गर्दै आइरहेका छौं । देशभरका शैक्षिक परामर्श व्यवसायीहरूलाई इक्यान हाम्रो घर हो भन्ने अनुभूति गराउन सक्नु नै हाम्रो सफलता हो । हामीले आगामी दिनमा इक्यानलाई अझ सबल र सशक्त बनाउन जरुरी छ । यसका लागि हामी निरन्तर प्रयत्नशील रहनेछौं ।



Comments are closed.