wada auto show

अटोमोबाइल व्यवसायमा उत्साह ल्याउन ‘अटो शो’ सफल हुनेछ

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को आयोजनामा पोखरामा पहिलो संस्करणको अटो शो हुँदैछ । चैत १४ देखि १७ सम्म चल्ने अटो शोका बारेमा केन्द्रित रहेर वाडाका अध्यक्ष दिपेन्द्र कोइरालासँग गरिएको संक्षिप्त कुराकानीः

पोखरामा पहिलो पटक ‘वाडा अटो शो’को आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

हामीले पर्यटनको राजधानी शहर पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न गइरहेका छौं । हाम्रो अभिभावक संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को संयुक्त आयोजना तथा पहलमा यो शो हुँदैछ । पोखराको अमरसिंहचौरमा चैत १४ देखि १७ गतेसम्म अटो शो चल्नेछ । अटोमोबाइल उद्योगको भविष्य र त्यसमा भएको नविनतम प्रविधिहरूको बारेमा जनचेतना फैलाउने हाम्रो उद्देश्य हो । यो शो अटोमोबाइल व्यवसायी र उपभोक्ताबीचको संवादको पुलको रूपमा कार्य गर्नेछ ।

अटोमोबाइल लगायत समग्र निजी क्षेत्र आर्थिक मन्दीको मारमा परिरहेको अवस्था छ । अटो शोले आर्थिक गतिविधि बढाउन कस्तो योगदान गर्नेछ ?

पछिल्लो समय अटोमोबाइल व्यवसायीहरु आर्थिक मन्दीको चपेटामा परेको अवस्था छ । पोखरामा धेरै डिलरका साथीहरु हुनुहुन्छ । डिलरहरु पनि मारमा परेका छन् । कतिपय डिलरहरु बन्द हुने अवस्थामा छन् । यस्तो अवस्थामा अटो शो आयोजना हुँदा व्यवसायमा सकारात्मक योगदान हुने र आर्थिक गतिविधि बढ्नेमा हाम्रो विश्वास छ । पोखरामा अटो शोको आयोजना भएको खबरसँगै यहाँका व्यवसायीहरु उत्साही भएको हामीले पाएका छौं । वाडा अटो शोले अटोमोबाइल व्यवसायमा नयाँ उत्साह र ऊर्जा ल्याउने विश्वास लिएका छौं । शोले व्यवसायीहरूलाई नयाँ सम्भावनाहरू र बजारको वृद्धि देखाउने अवसर दिनेछ ।

अटो शोको स्टल बुकिङ कस्ता रह्यो ?

हामीले स्टल बुकिङ खुल्ला गरेको छोटो समयमा नै सबै स्टलहरु बुकिङ भएका छन् । अटो शोमा २–पाङग्रे, ४–पाङग्रेसहित लाइट कमर्शियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण, फुटकोट लगायत कम्पनीहरुको स्टल रहनेछ । स्टल बुकिङमा निकै उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ । यसले पोखरामा अटोमोबाइल क्षेत्रको ठूलो सम्भावना र रुचि देखाउँछ । पोखरा र आसपासका क्षेत्रका दर्शकहरूले अटोमोबाइल क्षेत्रमा भएको नयाँ प्रविधि र उत्पादहरूलाई नजिकबाट अनुभव गर्ने अवसर पाउनेछन् ।

अटो शोको समयमा पोखरेली जनताको सहभागिता कस्तो रहनेछ भनेर तपाईंको अनुमान के छ ?

हामीले पोखरेली जनताको उत्साह र सहकार्यमा ठूलो विश्वास लिएका छौं । पोखरा पर्यटन र व्यापारिक शहर हो र यहाँका स्थानीयहरू पनि अटोमोबाइल क्षेत्रप्रति उत्साही छन् । हामीलाई विश्वास छ कि पोखरा र आसपासका क्षेत्रमा बसोबास गर्ने दर्शकहरूको ठूलो उपस्थितिले शोको सफलता सुनिश्चित गर्नेछ ।

अटो शोमा नै आएर सवारी साधन किन्दा ग्राहक लाभान्वित हुन्छन् ?

अवश्य, पनि अटो शोमा आएर सवारी बुकिङ गर्दा ग्राहकहरु लाभान्वित हुनेछन् । किनकी अटो शोमा गाडी सोकेस गर्ने कम्पनीहरुले आकर्षक अफरहरु सार्वजनिक  गर्ने तयारी गरेका छन् । शोरुममा गएर गाडी बुक गर्नुमा भन्दा अटो शोमा गएर बुक गरी लाभ लिन सकिनेछ । यो अवसरको सदुपयोग गर्न म सबैलाई आग्रह गर्दछु ।

अन्त्यमा के भन्नुहुन्छ ?

लामो समयको प्रयासपछि हामीले पोखरामा अटो शो आयोजना गरेका छौं । अटो शोको अपनत्व ग्रहण गर्दै सम्पूर्ण पोखरेली जनतालाई साथ दिन म आह्वान गर्दछु । यहाँको समग्र विकासमा अटो शोको सकारात्मक योगदान रहनेछ । अटो शोलाई सफल बनाउने अभियानमा साथ दिने सम्पूर्णप्रति म आभारी छु ।

You might also like

Comments are closed.