साहसिक पर्यटनको पाँच दशक

दीपेन्द्र पहारी

नेपाल, भुगोलले सानो । हिउँले ढाकिएका पहाडहरू भएको देश । प्राकृतिक स्रोतहरूमा विविधता, वन्यजन्तु र वनस्पति र जीवजन्तुहरूसंगै ५७ मिटरको तल्लो बिन्दुदेखि विश्वको उच्चतम बिन्दु ८,८४८.८६ मिटरसम्मको भौगोलिक भिन्नताले नेपाललाई प्राकृतिक रूपमा विविधतायुक्त देश बनाएको छ । हिमाल आरोहण, पदयात्रा जस्ता गतिविधिहरू नेपालमा सन् १९५० मा अन्नपूर्णको पहिलो आरोहणबाट सुरु भएको थियो ।

नेपालमा ५५०० मिटरभन्दा अग्ला ३ हजार ३१० चुचुरा छन् । देशको विविध भूगोलले धेरै साहसिक सम्भावनाहरू उजागर गरेको छ । यहाँ १० वटा राष्ट्रिय निकुञ्ज, तीन वन्यजन्तु आरक्ष, छ वटा संरक्षण क्षेत्र र एउटा शिकार आरक्ष, ६,००० खोला र धेरै तालहरू छन् । नेपालमा व्यावसायिक साहसिक पर्यटनको पाँच दशकभन्दा लामो इतिहास छ । बेलायती लेफ्टिनेन्ट कर्नल जिम्मी रोबर्ट्सले नेपालमा व्यावसायिक साहसिक पर्यटनको जग बसालेका थिए । पर्यटकहरूलाई समस्याविना नेपालमा पदयात्रा वा आरोहणको अनुभव लिने अवसर प्रदान गर्न रोबर्ट्सले सन् १९६४ मा नेपालको पहिलो पदयात्रा र पर्वतारोहण कम्पनी माउन्टेन ट्राभल नेपाल स्थापना गरेका थिए । त्यसबेलादेखि, नेपालले साहसिक पर्यटन विकासमा लामो यात्रा गरेको छ । ट्रेकिङ, पर्वतारोहण, रक क्लाइम्बिङ, माउन्टेन बाइकिङ, माउन्टेन फ्लाइट, प्याराग्लाइडिङ, अल्ट्रालाइट फ्लाइट, राफ्टिङ, कायाकिङ, क्यानोनिङ, बोटिङ, बन्जी जम्पिङ, शिकार, हनी हन्टिङ, जंगल सफारी, स्की पर्वतारोहण, स्काई डाइभ, जिप लाइनिङ, अल्ट्रालाइट फ्लाइट र म्याराथन, ट्रायथलन र चरा अवलोकन जस्ता साहसिक पर्यटन नेपालमा गर्न सकिन्छ । सांस्कृतिक विविधता, वनस्पति र जीवजन्तुले भरिपूर्ण वन, नदी, ताल र झरनाले नेपाललाई विश्वकै अचम्मको देश बनाएको छ । अन्नपूर्ण सर्किट ट्रेक, एभरेष्ट बेस क्याम्प ट्रेक, कञ्चनजंघा ट्रेक र लाङटाङ ट्रेक केही उत्कृष्ट पदयात्रा मार्गहरू हुन् । साथै करिब १,७०० किलोमिटर लामो र सबैभन्दा आकर्षक पदमार्ग, ग्रेट हिमालयन ट्रेलको हालै अन्वेषण र विकास गरिएको छ । यो भुटान, नेपाल, भारत र पाकिस्तानलाई समेट्ने लोकप्रिय मार्ग हो। सबैभन्दा अग्लो पहाडमा पदयात्रा गरी र स्कीइङ गरेर तल आउनु रोमाञ्चक हुन्छ । प्याराग्लाइडिङ पर्यटनको अर्को साहसिक खेल हो, जुन पोखरामा राम्रोसँग विकसित भएको छ ।

त्यस्तै, अन्नपूर्ण सर्किट ट्रेक, मुस्ताङ र बाग्लुङ बेनीमा माउन्टेन बाइक उत्कृष्ट ट्रेलहरू हुन् । पर्यटन क्षेत्रमा ¥याफ्टिङ अर्को सबैभन्दा रोमाञ्चक र साहसिक गतिविधि हो । नेपालमा सन् १९९० देखि व्यावसायिक रूपमा ¥याफ्टिङ सुरु भएको हो । त्रिशूली नदी, भोटेकोशी र दूधकोसी रोमाञ्चक ¥याफ्टिङ गतिविधिहरूको लागि विश्वका उत्कृष्ट नदीहरू हुन् । बन्जी जम्पिङले नेपालमा साहसिक पर्यटन खोजी गर्नेहरूको गन्तव्य बनेको छ । कुश्माको बन्जी नेपालको सबैभन्दा अग्लो बन्जी हो र २२८ मिटरसम्मको फ्रीफल भएको विश्वकै दोस्रो उच्च हो ।

सन् २०२० मा गरिएको एक अध्ययन अनुसार, साहसिक पर्यटनका लागि विश्वका उत्कृष्ट देशहरूमा नेपाल ४४ औं स्थानमा परेको थियो । विदेशी मुद्रा आर्जन गर्ने, रोजगारी सिर्जना गर्ने, आय र रोजगारीमा रहेको असमानता घटाउने, आर्थिक क्षेत्रहरूबीचको सम्बन्ध सुदृढ गर्ने र गरिबी निवारणमा मद्दत गर्ने महत्वपूर्ण सम्भावना भएकाले पर्यटनलाई नेपालको सामाजिक-आर्थिक विकास र समृद्धिको माध्यम मानिन्छ । साहसिक पर्यटन पनि ग्रामीण क्षेत्रको विकासको मुख्य कारक हो । ग्रामीण क्षेत्रमा साहसिक गतिविधिका लागि पर्यटकको आगमनले स्थानीय बजारका लागि रोजगारी, भौतिक पूर्वाधार र व्यापारको माग सिर्जना गर्न मद्दत गर्छ । एक पर्यटकले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ जनालाई रोजगारी दिन्छ । पछिल्ला वर्षहरूमा, देशमा साहसिक पर्यटन द्रुत रूपमा विकास भएको छ । नयाँ पदयात्रा मार्गहरू, साहसिक खेलकुद र भौतिक पूर्वाधारहरू लगायत पर्यटनलाई सहयोग पु¥याउन थालेपछि आगामी वर्षहरूमा यो क्षेत्र फस्टाउने अपेक्षा गरिएको छ ।

देशमा साहसिक सम्भावना र बाहिरी गतिविधिहरूको वास्तविक सम्भावनामा धेरै बाधाहरू छन् । पर्यटकीय गन्तव्यहरूले पानीको अभाव र प्रदूषणको सामना गर्दै फोहोरमैला व्यवस्थापनको समस्या, आधारभूत सेवाको अभाव, उद्धार सेवा र दक्ष जनशक्तिको अभाव यस क्षेत्रका केही प्रमुख चुनौतीहरू हुन् । जुन हालैका वर्षहरूमा जलवायु परिवर्तनले झन् झन् बढाएको पर्यटन, प्राकृतिक र क्षेत्रगत प्रतिवेदनले देखाएको छ । यसबाहेक, कमजोर पूर्वाधारहरू जस्तै सीमित सडक र सडकको खराब गुणस्तर र अविश्वसनीय आन्तरिक हवाई सेवाहरूमा सुधारको खाँचो छ । नीति तथा नियमको अभाव साहसिक पर्यटनको सुस्त बृद्धि हुनुका प्रमुख कारक हुन् । व्यावसायिकताको अभाव, पर्यटन व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धा र इच्छुक विद्यार्थीहरूका लागि साहसिक पर्यटनसँग सम्बन्धित पाठ्यक्रमहरूको अभाव पनि मुख्य चिन्ताका विषय हुन् । तसर्थ, साहसिक पर्यटनका लागि नेपाल विश्वकै उत्कृष्ट ठाउँको रूपमा चिनाउन मुलुकले आफ्नो क्षमताको पूर्ण उपयोग गर्नुपर्दछ ।

(लेखक पर्यटन व्यवस्थापन विषयका प्राध्यापक हुन् ।)

lcci
You might also like

Comments are closed.