नेपालको होटल उद्योग, राष्ट्रिय पर्यटन विकास, आर्थिक समृद्धि, रोजगारी सिर्जना र सांस्कृतिक पहिचानको सशक्त आधारस्तम्भका रूपमा विकसित हुँदै आएको छ । सन् १९६६ मा होटल एसोसिएसन नेपालको स्थापना सँगै औपचारिक रूपमा संगठित बनेको नेपाली होटल उद्योगले ६० वर्षको यात्रामा अनेक आरोह अवरोह पार गर्दै आजको अवस्थामा आइपुगेको छ । होटल एसोसिएसन नेपालले आफ्नो स्थापना भएको ६० वर्ष पूरा गर्दै हीरक जयन्ती मनाइरहँदा, नेपालको होटल उद्योगले तय गरेको ऐतिहासिक यात्राको समग्र समीक्षा गर्ने उपयुक्त समय पनि हो । सन् १९६६ मा सीमित सदस्य होटलहरूको साझा आवाजका रूपमा स्थापना भएको होटल एसोसिएसन नेपाल, आज नीति निर्माण, निजी–सरकारी संवाद, संकट व्यवस्थापन र उद्योग नेतृत्वको एक सशक्त संस्थाका रूपमा स्थापित भएको छ ।
“होटल” फ्रान्सेली शब्द हो । यो शब्द होस्टेल हुँदै होस्ट अर्थात् पाहुनाको सत्कार गर्ने संस्कृतिसँग जोडिएको पाइन्छ । ऐतिहासिक रूपमा सन् १७६० तिर इंग्ल्याण्डमा आवास गृहलाई पहिलोपटक होटल नाम दिइएको उल्लेख छ । विश्वव्यापी रूपमा होटल उद्योग औद्योगिक क्रान्तिपछि तीव्र रूपमा विकास भयो, जतिबेला रेलमार्ग, जलयात्रा र व्यापारिक यात्राको विस्तारसँगै व्यवस्थित, स्वच्छ र छिटो सेवाको माग बढ्दै गयो। स्विट्जरल्यान्ड र संयुक्त राज्य अमेरिका आधुनिक होटल व्यवस्थापनका अगुवा बने भने २०औं शताब्दीमा अन्तर्राष्ट्रिय होटल चेन अवधारणाले होटल व्यवसायलाई विश्वव्यापी उद्योगका रूपमा स्थापित ग¥यो । नेपालको सन्दर्भमा भने होटल उद्योगको विकास लामो समयसम्म सीमित रह्यो । १०४ वर्ष लामो राणा शासनकालमा जनताको आवागमन, स्वतन्त्रता र अन्तर्राष्ट्रिय सम्पर्कमा कडा प्रतिबन्ध थियो । यात्रालाई विलासिनताका रूपमा हेरिन्थ्यो र व्यापार तथा शिक्षा बाहेक अन्य प्रयोजनका लागि यात्रा न्यून थियो। त्यस समयमा नेपालमा धर्मशाला र पारिवारिक आतिथ्य नै प्रमुख आवासीय अभ्यास थिए, जहाँ यात्रुहरूलाई ठूलो हलमा बस्न दिइन्थ्यो, आफैं ओछ्यान बनाउने र परम्परागत खाना तथा पेय पदार्थ सेवन गर्ने चलन थियो । यही अवस्था धेरै समयसम्म कायम रह्यो ।
सन् १९५१ मा राणा शासनको अन्त्यसँगै नेपाल विश्वका लागि खुल्यो । यही राजनीतिक परिवर्तन नै नेपालको आधुनिक होटल उद्योगको वास्तविक जन्मबिन्दु बन्यो । सोही वर्ष पाटनको जावलाखेलमा “नेपाल होटल” स्थापना भयो, जसलाई नेपालकै पहिलो होटल मानिन्छ । यद्यपि यो होटल एक आर्थिक वर्ष मात्र सञ्चालनमा रह्यो। यस ऐतिहासिक मोडसँगै नेपालमा औपचारिक रूपमा विदेशी पर्यटक प्रवेश गर्न थाले र आतिथ्य उद्योगले आकार लिन सुरु ग¥यो ।
यसपछि सन् १९५२ मा रुसी नागरिक बोरिस लिसानेविचले काठमाडौँको सेतो दरबारमा “रोयल होटल” स्थापना गरे, जुन नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको लक्जरी होटल मानिन्छ । बोरिसले नेपाललाई विश्व पर्यटन नक्सामा ल्याउन निर्णायक भूमिका खेलेको मानिन्छ । यही समयमा नेपालमा पारस होटल (१९५२), स्नो भ्यू होटल (१९५४) जस्ता होटलहरू स्थापना भए भने सन् १९५६ मा बागबजारमा होटल कोरोनेशन निर्माण भएको थियो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेपछि नेपालले अन्तर्राष्ट्रिय ध्यान पायो । पर्वतारोहण टोली, अनुसन्धानकर्ता, कूटनीतिज्ञ र विदेशी पाहुनाको आगमन बढ्दै गयो, जसले आवास, भोजन र सेवाको माग उल्लेखनीय रूपमा बढायो । १९६० को दशकसँगै नेपालको होटल उद्योग संरचनागत रूपमा संस्थागत हुन थाल्यो । सन् १९६५ मा होटल डेल अन्नपूर्ण सञ्चालनमा आयो, जुन ताज होटल समूहको व्यवस्थापनमा रहेको पहिलो पाँचतारे होटल थियो । सन् १९६६ मा सोल्टी ओबरोई होटल स्थापना भयो, जसले नेपालमा लक्जरी होटल अवधारणालाई मजबुत आधार दियो। यही वर्ष आठ सदस्य होटलहरूको पहलमा होटल एसोसिएसन नेपाल स्थापना भयो, जसले होटल उद्योगको सामूहिक आवाजका रूपमा नीति निर्माण र सरकारी निर्णय प्रक्रियामा प्रभाव जमाउन सुरु ग¥यो ।
१९७० को दशक नेपालको पर्यटन र होटल उद्योगका लागि अत्यन्तै उर्वर कालखण्ड रह्यो । सन् १९७० मा नेपाल टुरिज्म कमिटी गठन भयो र १९७२ मा तयार गरिएको टुरिज्म मास्टर प्लानले पर्यटन विकासलाई योजनाबद्ध दिशामा अघि बढायो । यही कालखण्डमा हिप्पी संस्कृतिको आगमनसँगै काठमाडौँ अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षण केन्द्र बन्यो, जसले होटल, रेस्टुरेन्ट र रात्रि जीवनको अवधारणामा नयाँ आयाम थप्यो । सन् १९७७ मा विश्व पर्यटन दिवसको अवसरमा याक एन्ड यती होटल सञ्चालनमा आयो, जसले राणा कालीन लाल दरबारलाई आधुनिक पाँचतारे होटल र सम्मेलन केन्द्रमा रूपान्तरण ग¥यो। यस अवधिमा काठमाडौँ बाहिर पोखरा र चितवन जस्ता क्षेत्रहरूमा पनि होटल उद्योग विस्तार भयो। तारे होटल प्रणाली, ट्राभल एजेन्सी, ट्रेकिङ र सफारी पर्यटन व्यावसायिक बन्दै गयो ।
१९८० को दशकपछि विश्वव्यापीकरणसँगै पर्यटन उद्योगमा प्रतिस्पर्धा बढ्यो । अन्तर्राष्ट्रिय सेवा मापदण्ड, दक्ष जनशक्ति, श्रम व्यवस्थापन र नेटवर्किङ जस्ता विषयहरू चुनौतीका रूपमा देखा परे । हानले यी चुनौतीहरूलाई सम्बोधन गर्न सरकारसँग निरन्तर संवाद गर्दै होटल उद्योगका समस्या समाधानमा नेतृत्वदायी भूमिका खेल्यो । यही कारण होटल उद्योग नेपालका सफल उद्योगहरूमध्ये एकका रूपमा स्थापित रहन सफल भयो ।
१९९० पछिको खुला अर्थतन्त्र, राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्व र प्राकृतिक विपत्तिहरूले होटल उद्योगलाई गम्भीर चुनौती दिए । २००८ को शान्ति प्रक्रियापछि पर्यटन र होटल उद्योगले पुनः गति लियो। ठूला परियोजनाभन्दा साना, बुटिक, विशेषीकृत होटल र रिसोर्टहरूको विकास बढ्दै गयो, जसले अनुभवमुखी आतिथ्यलाई प्राथमिकता दिन थाल्यो । होटल उद्योग नेपालको पर्यटन अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित छ । यस क्षेत्रले प्रत्यक्ष रूपमा लाखौँ व्यक्तिलाई रोजगारी प्रदान गरेको छ भने अप्रत्यक्ष रूपमा कृषि, पशुपालन, हस्तकला, यातायात, निर्माण, ऊर्जा र सेवा क्षेत्रलाई पनि गतिशील बनाएको छ । विदेशी मुद्रा आर्जन, कर राजस्व वृद्धि र स्थानीय उत्पादनको बजार विस्तारमा होटल उद्योगको योगदान उल्लेखनीय छ । यसले सिर्जना गर्ने आर्थिक बहुगुणक प्रभावले ग्रामीण तथा शहरी अर्थतन्त्रबीच सेतुको काम गर्दै आएको छ । समयक्रमसँगै पर्यटकहरूको चाहनामा उल्लेखनीय परिवर्तन आएको छ । आजका पर्यटकहरू मौलिक अनुभव, स्थानीय संस्कृति, स्वास्थ्य र वेलनेस, वातावरणीय संवेदनशीलता तथा प्रविधिमैत्री सेवा खोजिरहेका छन् । आन्तरिक पर्यटनको तीव्र वृद्धि, भारतीय र चिनियाँ बजारको बढ्दो महत्व तथा उच्च खर्च गर्ने पर्यटकको आकर्षणले होटल उद्योगका लागि नयाँ अवसर सिर्जना गरेको छ । ती अवसरसँगै सेवा गुणस्तर र विविधीकरणका चुनौती पनि थपिएका छन् ।
नेपाली होटल उद्योगको सबैभन्दा गम्भीर चुनौती मानव संसाधनसँग सम्बन्धित रहेको छ । दक्ष र प्रशिक्षित जनशक्ति विदेश पलायन, सीमित तालिम अवसर, न्यून पारिश्रमिक र करियर सुरक्षाको अभावले उद्योगको सेवा स्तरमा असर पारेको छ । पर्यटन तथा आतिथ्य शिक्षण संस्थाहरू र होटल उद्योगबीचको कमजोर समन्वयले सीप विकासमा अपेक्षित परिणाम दिन सकेको छैन । प्रविधि र डिजिटल रूपान्तरणले होटल व्यवसायको संरचना र सञ्चालन शैलीमा आमूल परिवर्तन ल्याएको छ । अनलाइन ट्राभल एजेन्सी, डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल, कृत्रिम बौद्धिकता आधारित मूल्य निर्धारण र अनलाइन समीक्षा व्यवस्थापन आजको प्रतिस्पर्धी बजारमा अपरिहार्य बनेका छन् । यद्यपि, साना तथा मझौला होटलहरूका लागि प्रविधि अवसरसँगै आर्थिक बोझ र सीप अभावको कारण चुनौती पनि बनेको छ ।
नीतिगत र संरचनागत दृष्टिले हेर्दा होटल उद्योग कर संरचना, श्रम ऐन, इजाजत प्रक्रिया, लगानी स्वीकृति र संघीय शासन प्रणालीअन्तर्गतको समन्वय अभावजस्ता चुनौतीहरूसँग जुधिरहेको छ । नीति स्थिरताको कमी, बारम्बार नियम परिवर्तन र बहु–निकायको जटिल प्रक्रियाले लगानीकर्ताको विश्वासमा असर पारेको छ । लगानीमैत्री वातावरण निर्माण र निजी क्षेत्रलाई दीर्घकालीन स्पष्टता प्रदान गर्नु आजको आवश्यकता हो ।
२०१५ को भूकम्प र कोभिड–१९ महामारीले होटल उद्योगको जोखिम व्यवस्थापन क्षमता र संस्थागत लचकतालाई कठोर परीक्षणमा पारे । ती संकटका समयमा हानको नेतृत्वमा गरिएको नीतिगत पैरवी, राहत र पुनरुत्थानका प्रयासहरूले संस्थागत परिपक्वता र उद्योगको सामूहिक शक्ति प्रमाणित गरेको छ। भविष्यमा यस्ता संकटको सामना गर्न पर्यटन बीमा, आपतकालीन कोष र जोखिम पूर्वतयारी प्रणाली आवश्यक देखिन्छ । होटलहरू नेपालको संस्कृति, खानपान, वास्तुकला, आतिथ्य परम्परा र जीवनशैलीका जीवित दूत हुन्। अन्तर्राष्ट्रिय होटल ब्रान्डको विस्तारसँगै स्थानीय मौलिकता र पहिचानलाई जोगाइराख्नु नेपाली होटल उद्योगको दीर्घकालीन चुनौती र जिम्मेवारी दुवै हो ।
यस सन्दर्भमा होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता क्षेत्रका रूपमा स्थापित गर्दै दीर्घकालीन पर्यटन नीति निर्माण गर्नु आवश्यक छ । क्षेत्रीय होटल विकासका लागि कर छुट, सहुलियत ऋण र पूर्वाधार प्रोत्साहन दिनु, मानव संसाधन विकास कोष स्थापना गरी उद्योग–शिक्षा सहकार्य सुदृढ गर्नु, हरित होटल अभ्यासका लागि स्पष्ट मापदण्ड र प्रोत्साहन व्यवस्था गर्नु, साना तथा मझौला होटलहरूलाई डिजिटल रूपान्तरणमा प्रविधि अनुदान प्रदान गर्नु तथा संकट व्यवस्थापनका लागि पर्यटन बीमा र आपतकालीन कोष सञ्चालन गर्नु आजका प्रमुख नीतिगत आवश्यकताहरू हुन् । आज होटल उद्योग नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण मेरुदण्डका रूपमा स्थापित छ । यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौं रोजगारी सिर्जना गरेको छ र शहरीदेखि ग्रामीण क्षेत्रसम्म आर्थिक प्रभाव फैलाएको छ । आधुनिक प्रविधि, अनलाइन बुकिङ प्रणाली, हरित होटल अवधारणा र दिगो पर्यटन अभ्यासले नेपाली होटल उद्योगलाई नयाँ दिशामा अघि बढाइरहेको छ ।
स्थापनादेखि आजसम्म हानले नीति पैरवी, संकट व्यवस्थापन, श्रम संवाद र उद्योग सुदृढीकरणमा निरन्तर योगदान दिँदै आएको छ । यसको ६० वर्षे यात्रा नेपाली होटल उद्योगको संस्थागत परिपक्वता र सहकार्यको प्रतीक हो। आगामी दिनमा हानले दिगोपन, डिजिटल रूपान्तरण, सीप विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई अग्रस्थानमा पु¥याउने दिशामा अझ सक्रिय भूमिका खेल्नुपर्नेछ ।
हानको डायमण्ड जुबिली, विगतका उपलब्धिबाट प्रेरणा लिँदै, वर्तमानका चुनौतीलाई स्वीकार गर्दै र भविष्यका सम्भावनालाई आत्मसात् गर्दै, रूपान्तरणशील यात्राको जीवन्त दस्तावेज हो । ६० वर्षको यात्राले नेपाली होटल उद्योगलाई अनुभव, आत्मविश्वास र उत्तरदायित्व प्रदान गरेको छ । अबको यात्रा केवल संख्यात्मक विस्तारको नभई गुणस्तर, दिगोपन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक उत्कृष्टताको हुनुपर्छ । आगामी दिनमा पनि होटल उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउने यात्रामा हान अग्रणी रहोस् । हीरक जयन्तीले अझ उज्यालो भविष्य र सफलताको नयाँ अध्याय कोरोस् । हार्दिक शुभकामना !




Comments are closed.