पोखरा, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र बेजोड आतिथ्यताको अनुपम संगम हो । यही संगमलाई उत्सवको रूप दिएर सडकमा उतार्ने विशिष्ट अभ्यासको नाम हो–पोखरा सडक महोत्सव । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना हुँदै आएको यो महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र होइन, यो पोखराको पर्यटन, एकता र आर्थिक सक्रियताको उदाहरण हो । विशेषतः २७औँ पोखरा सडक महोत्सवसम्म आइपुग्दा यसले आफूलाई एउटा सशक्त इभेन्ट टुरिज्म मोडेलका रूपमा स्थापित गरिसकेको छ, जसले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म पोखराको पहिचानलाई मजबुत बनाएको छ ।
नेपालको पर्यटन संरचनामा जाडोयामलाई लामो समयसम्म अफ–सिजनको रूपमा हेरिँदै आएको थियो । पोखरा जस्तो प्रमुख पर्यटकीय गन्तव्यमा समेत यस समयमा होटलको अक्सुपेन्सी घट्ने, व्यवसाय सुस्त हुने र रोजगारीका अवसर सीमित हुने अवस्था देखिन्थ्यो । यही चुनौतीपूर्ण यथार्थलाई अवसरमा रूपान्तरण गर्ने दूरदर्शी सोचका साथ पोखराका पर्यटन उद्यमीहरूबीच सडक महोत्सवको अवधारणा अघि आयो । देशमा यही समय अंग्रेजी नयाँ वर्ष उत्सवका रूपमा मनाइने भएकाले पर्यटक आकर्षित गर्न सकिने सम्भावना देखियो । सडकलाई उत्सवको मञ्च बनाउने यो सोच सुरुवातमा जोखिमपूर्ण जस्तो देखिए पनि यसले क्रमशः सकारात्मक परिणाम दिन थाल्यो र पोखराको पर्यटन क्यालेन्डरमा जाडोयामलाई पनि उत्सवको मौसमका रूपमा स्थापित गरिदियो ।
सुरुवाती वर्षहरूमा सीमित साधन, सानो क्षेत्र र केही कार्यक्रमबाट सुरु भएको पोखरा सडक महोत्सव आज २७ वर्षे निरन्तरतासँगै संस्थागत र परिपक्व रूप लिइसकेको छ । हरेक वर्ष कार्यक्रमको स्वरूप परिमार्जन हुँदै जानु, व्यवस्थापनमा पेशागतता थपिनु र सहभागिताको दायरा विस्तार हुनु यसको विकासक्रमका महत्वपूर्ण सूचक हुन् । दीर्घकालीन रूपमा कुनै पनि पर्यटन कार्यक्रम सञ्चालन गर्नु सजिलो हुँदैन, तर पोखरा सडक महोत्सवले निरन्तरतामार्फत विश्वास र परम्परा निर्माण गरेको छ । २७औँ संस्करणले यसलाई केवल वार्षिक कार्यक्रम नभई पुस्तान्तरण हुँदै जाने सांस्कृतिक उत्सवको रूपमा स्थापित गरेको अनुभूति दिएको छ ।
फिस्टेल गेटदेखि जरेबरसम्म फैलिएको करिब तीन किलोमिटर लामो सडक खण्ड महोत्सवका दिनहरूमा पूर्ण रूपमा रूपान्तरित हुन्छ । सामान्य दिनमा सवारी साधन र व्यावसायिक गतिविधिले भरिएको यही सडक जब सवारीरहित बन्छ, तब त्यो मानव–केन्द्रित उत्सवस्थलमा परिणत हुन्छ । सडकमा मानिस हिँड्छन्, नाच्छन्, संवाद गर्छन् र संस्कृतिको अनुभूति गर्छन् । शहरी पर्यटन र सार्वजनिक स्थानको उपयोगको दृष्टिले हेर्दा यो अभ्यास अत्यन्तै महत्वपूर्ण छ, किनकि यसले सहरलाई उत्सवको थलोका रूपमा पुनःपरिभाषित गरेको छ ।
पोखरा सडक महोत्सव नेपाली बहुसांस्कृतिक पहिचानको जीवन्त प्रदर्शन पनि हो । विभिन्न जातजातिका लोकनृत्य, मौलिक भेषभूषा, लोकसंगीत र आधुनिक सांगीतिक प्रस्तुति एउटै मञ्चमा देख्न पाइन्छ । यसले परम्परा र आधुनिकताको सन्तुलित सहअस्तित्व प्रस्तुत गर्छ । त्यस्तै, स्थानीय तथा अन्तर्राष्ट्रिय खानपानको विविधताले स्वादको उत्सव सिर्जना गर्छ। स्थानीय परिकारको प्रवद्र्धनले ग्रामीण उत्पादन र शहरी बजारबीच सम्बन्ध मजबुत बनाउँछ, भने पर्यटकका लागि यो अनुभवात्मक पर्यटनको उत्कृष्ट उदाहरण बन्छ, जहाँ उनीहरू केवल गन्तव्य हेर्दैनन्, गन्तव्य अनुभूति गर्छन् ।
यस महोत्सवको सबैभन्दा बलियो आधार भनेकै समुदायको सक्रिय सहभागिता हो। होटल तथा रेस्टुराँ व्यवसायी, कलाकार, विद्यार्थी, स्वयंसेवक, स्थानीय बासिन्दा र विभिन्न संघ–संस्थाको सहकार्यले यो कार्यक्रम जनस्तरको उत्सव बनेको छ। स्थानीय समुदायले यसलाई आफ्नै कार्यक्रमका रूपमा अपनाएको देखिन्छ, जसले स्वामित्वको भावना सिर्जना गरेको छ। पर्यटन विकासमा समुदाय सहभागी हुँदा मात्र दीर्घकालीन दिगोपन सम्भव हुन्छ भन्ने सिद्धान्तलाई पोखरा सडक महोत्सवले व्यवहारमा उतारेको छ।
आर्थिक दृष्टिले हेर्दा पोखरा सडक महोत्सवले सहरभरि सकारात्मक तरंग फैलाउने गरेको छ। होटल, रेस्टुराँ, ट्राभल एजेन्सी, यातायात सेवा, हस्तकला व्यवसायी र साना व्यवसायी सबैले प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिन्छन्। केही दिनको कार्यक्रम भए पनि यसले सिर्जना गर्ने आर्थिक गतिविधिको प्रभाव लामो समयसम्म महसुस हुन्छ। घरेलु तथा छिमेकी मुलुकका पर्यटकको आगमनले पोखरालाई वर्षभरि चलायमान गन्तव्य बनाउने प्रयासलाई थप बल पुगेको छ, जसले रोजगारी र आम्दानीका अवसर विस्तार गरेको छ।
यस सफल यात्राको मूल आधार रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल पोखराको निरन्तर नेतृत्व हो। कार्यक्रम आयोजना, सरोकारवालासँग समन्वय, सुरक्षा व्यवस्थापन, अनुशासन र समयसापेक्ष सुधारमा रेबान पोखराको भूमिका निर्णायक देखिन्छ। २७ वर्षसम्म एउटै अवधारणालाई निरन्तरता दिँदै हरेक वर्ष नयाँपन थप्नु संस्थागत प्रतिबद्धता र नेतृत्व क्षमताको स्पष्ट प्रमाण हो।
विश्व पर्यटन परिदृश्यमा सडक महोत्सवहरू गन्तव्य पहिचान निर्माणका सशक्त माध्यमका रूपमा स्थापित छन्। स्पेनको ला टोमाटिनाले सानो सहर बुनोललाई विश्वमानचित्रमा चिनाएको छ। लन्डनको नटिङ हिल कार्निभलले बहुसांस्कृतिक सहअस्तित्व र सामाजिक समावेशिताको सन्देश दिएको छ भने अमेरिकाको न्यु अर्लिन्समा आयोजना हुने मार्डी ग्रासले संस्कृति, संगीत र अर्थतन्त्रलाई एउटै सूत्रमा बाँधेको छ। यी विश्वप्रसिद्ध उत्सवहरूझैं पोखरा सडक महोत्सव पनि स्थानीय पहिचानमा आधारित, तर विश्वस्तरीय अनुभव प्रदान गर्ने दिशामा उन्मुख देखिन्छ।
२७औँ संस्करणले व्यवस्थापन र जिम्मेवार उत्सवको सन्देशलाई समेत प्राथमिकतामा राखेको देखिन्छ। भविष्यमा वातावरणमैत्री अभ्यास, फोहोर व्यवस्थापन, प्लास्टिक न्यूनिकरण र हरित पर्यटन अवधारणालाई अझ संस्थागत गर्न सकिएमा यसको अन्तर्राष्ट्रिय छवि थप सबल बन्नेछ। समग्रमा, पोखरा सडक महोत्सव सडकमा मनाइने पर्व मात्र होइन; यो पोखराको सामाजिक चेतना, पर्यटन र सामूहिक उत्साहको प्रतिविम्ब हो। २७ वर्षे यात्राले स्पष्ट सन्देश दिएको छ, सही सोच, सहकार्य र निरन्तरताले स्थानीय उत्सवलाई विश्वस्तरीय गन्तव्य ब्रान्डमा रूपान्तरण गर्न सकिन्छ।
(लेखक पहारी पर्यटन प्राध्यापक हुन् ।)





Comments are closed.