काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी ले मध्यपूर्वमा फैलिएको युद्धप्रति गहिरो असन्तोष व्यक्त गर्दै शक्ति प्रयोगको सट्टा संवाद र सहकार्य आवश्यक रहेको बताए । उनले विशेषगरी United States सँगको सम्बन्ध व्यवस्थापन गर्नुपर्ने र दुई शक्तिबीचको मतभेद जिम्मेवार ढङ्गले सम्हाल्नुपर्नेमा जोड दिए ।
बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यीले इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणबाट सुरु भएको द्वन्द्व विश्व शान्तिका लागि चिन्ताजनक भएको बताए । उनले स्पष्ट पारे कि बल प्रयोग समस्याको समाधान होइन। “सैन्य शक्तिले उचित कारण सिद्ध हुँदैन,” उनले भने, “संसार फेरि जङ्गलको नियममा फर्किन सक्दैन ।”
चीनको वार्षिक राजनीतिक कार्यक्रम ‘दुई सत्र’ का अवसरमा आयोजित सम्मेलनमा यीले चीन–अमेरिका सम्बन्ध, व्यापारिक तनाव, दक्षिण चीन सागरमा देखिएको विवाद, मध्यपूर्व युद्ध तथा युक्रेन युद्धलगायत विषयमा विस्तृत टिप्पणी गरे । उनका अनुसार सन् २०२६ चीन–अमेरिका सम्बन्धका दृष्टिले अत्यन्तै महत्वपूर्ण वर्ष हो। दुई शक्तिबीच प्रतिस्पर्धा बढ्दा पनि सम्बन्ध व्यवस्थापन आवश्यक रहेको उनले बताए।
गत वर्ष डोनाल्ड ट्रम्प पुनः अमेरिकी राष्ट्रपति बनेपछि वासिङ्टन–बेइजिङ सम्बन्ध थप तनावपूर्ण बनेको छ। दुवै देशले एकअर्काका उत्पादनमा प्रतिशोधात्मक शुल्क लगाउँदै व्यापार युद्ध तीव्र बनाएका छन्। मन्त्री यीले भने, “अत्यधिक कर र आपूर्ति शृङ्खलामा अवरोधले समस्या समाधानको सट्टा जटिलता बढाउँछ। यस्ता कदम आगो निभाउन इन्धन प्रयोगजस्ता हुन्, अन्ततः आफैंलाई नै क्षति पुर्याउँछ।”
यद्यपि चीन–अमेरिका बीच मतभेद गहिरो भए पनि विदेशमन्त्री यीले संवादको वातावरण सिर्जना गर्न, विद्यमान मतभेद व्यवस्थापन गर्न र अनावश्यक हस्तक्षेप हटाउन दुवै पक्षले प्रयास गर्नुपर्ने बताए ।
बेइजिङले इरानसँग कूटनीतिक र व्यापारिक सम्बन्ध नजिक राखेको छ। यीले इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको कडा आलोचना गर्दै आए। उनले रूससँग चीनको सम्बन्ध स्थिर र दृढ रहेको पनि बताए ।
साथै विदेशमन्त्री यीले यूरोपेली साझेदारहरूलाई संरक्षणवादी सोचबाट बाहिर निस्केर चीनसँग आर्थिक प्रतिस्पर्धा र साझेदारी गर्न स्वागतयोग्य रहेको बताए। चीनले फ्रान्स, जर्मनी, बेलायत लगायत ५० देशका नागरिकलाई भिसा–मुक्त यात्रा सुविधा दिएको र केही निर्यात वस्तुमा शुल्क घटाउने सम्झौता गरेको जनाइयो।
चीन–जापान सम्बन्धमा भने ताइवानको प्रश्न केन्द्रमा रहेको छ। विदेशमन्त्री यीले ताइवानलाई चीनको अभिन्न भूभाग ठानेर आवश्यक परे बल प्रयोग गर्ने सम्भावना स्पष्ट पारे। “ताइवान सम्बन्धी प्रयासहरू अस्वीकार्य छन् र चीनको राष्ट्रिय चासोको केन्द्रमा रहेको छ,” उनले भने।
उनी यसलाई “लक्ष्मण रेखा” ठानेर पार गर्ने वा कुल्चने प्रयासलाई कडा चेतावनी दिएका छन् । चीनले कुनै पनि शक्तिलाई उपनिवेशवादको पक्षमा उभिन नदिने दाबी पनि मन्त्री यीले गरे।






Comments are closed.