अर्थमन्त्री र निजी क्षेत्रबीच छलफलः व्यावसायिक वातावरण सुधारिएको निष्कर्ष

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका शीर्ष नेतृत्वबीच अर्थमन्त्रालयमा समसामयिक आर्थिक मुद्दा तथा निजी क्षेत्रसँगको सहकार्यबारे विशेष छलफल भएको छ ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्श का अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेंद्रराज पाण्डे, र नेपाल उद्योग व्यापार महासंघ का अध्यक्ष खेमराज भण्डारी उपस्थित थिए ।

अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा निजी क्षेत्रले पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै, २०८२ भाद्र २३ र २४ को आन्दोलनले असर पारेको व्यवसायिक वातावरण सुधार्ने चुनौतीमा साझा प्रयासबाट उल्लेखनीय प्रगति भएको बताएका छन् ।

उक्त अवसरमा अर्थमन्त्रीले आर्थिक स्थायित्व कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न, घरेलु उद्योग संरक्षण गर्दै निर्यात प्रवर्धन गर्न, पुँजी बजार पारदर्शी बनाउने र आर्थिक सुशासन कायम गर्ने विषयमा आएका सुझावहरूमा चर्चा भएको बताए । साथै, कार्यकालमा बाँकी रहेका योजना र कार्यक्रमहरू आगामी अर्थमन्त्रीलाई हस्तान्तरण गरिने जानकारी दिएका छन् ।

निजी क्षेत्रका नेतृत्वले अर्थमन्त्रीको चासो र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै मुलुकको समग्र विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेकोमा जोड दिएका छन् ।

उनीहरूले मूल्य अभिवृद्धि, कच्चा पदार्थ र तयारी वस्तु आयातमा कर घटाउने, उत्पादन तथा निर्यात प्रवर्धनमा सरकारको ध्यान केन्द्रित गर्ने, नियमनकारी निकायको प्रभावकारिता मूल्यांकन गर्ने र उच्च शुल्क दर घटाउने जस्ता विषयमा अझै सुधार आवश्यक रहेको बताउँदै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

 

You might also like

Comments are closed.