काठमाडौं । नेपाल बितरक संघको २४औं साधारणसभा भदौ १४ गते शनिबार हुने भएको छ । काठमाडौंको सुकेधारास्थित क्विन प्यालेस बैंक्युटमा बिहान ११ बजे साधारणसभा सुरु हुनेछ । उक्त साधारणसभाले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।
संघले बिगत २४ वर्षदेखि बितरक पेशाको हकहितका क्षेत्रमा काम गर्दै आइरहेको छ । यस पटकको साधारणसभामा संघले नीति निर्माणको अभावका कारण बितरक वर्गले भोग्दै आएको पीडालाई विशेष एजेन्डा बनाउने निर्णय गरेको अध्यक्ष रामहरि घिमिरेले जानकारी दिए ।
साधारणसभाको तयारीलाई तिब्र बनाइएको सचिव लोकश्वर मान जोशीले जानकारी दिए । ‘बितरकहरूको भूमिकाको आधारमा उनीहरू आजको अर्थतन्त्रका महत्वपूर्ण स्तम्भ हुन्, तर नीति र पहिचानको कमीका कारण बितरकहरू ओझेलमा परेका छन् । साधारणसभाले यस विषयलाई सम्बोधन गर्नेछ,’ उनले भने ।
नेपालमा हजारौं वितरकहरू उत्पादनकर्ता र उपभोक्ताबीचको सेतु बनेर आपूर्ति प्रणालीलाई सुदृढ बनाइरहेको संघले जनाएको छ । ‘उनीहरूको योगदानले बजार स्थायित्व, मूल्य सन्तुलन र उपभोक्ता सहजता सम्भव भएको छ। तर, औपचारिक नीतिगत मान्यता नपाउँदा वितरक पेशा अझै ओझेलमा परेको छ,’ सचिव जोशीले भने ।
नेपाल बितरक संघले बितरक व्यवसायलाई दीगो, पारदर्शी र सम्मानजनक बनाउन सरकार र सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
साधारणसभामा संघको आगामी कार्ययोजना, वितरक व्यवसायसँग सम्बन्धित चुनौती, अवसर, सरकारी निकायसँगको सहकार्य र दीर्घकालीन नीति निर्माणको माग जस्ता विषयलाई मुख्य एजेन्डा बनाइने संघले जनाएको छ । बिगतमा गरिएको उपलब्धिका समिक्षासहित भविष्यको रणनीतिबारे समेत छलफल हुने संघले जनाएको छ ।
साधारणसभाको अवसरमा ‘वितरक गीत २०८२’ को औपचारिक विमोचन हुने संघले जनाएको छ । संघले आफ्नो पहिचान, संघर्ष र योगदानलाई सांगीतिक शैलीमा प्रस्तुत गर्दै ‘वितरक गीत’ तयार पारेको हो । सचिव लोकश्वर मान जोशीका अनुसार यो गीतले वितरकहरूको उत्साह, जिम्मेवारी, परिश्रम, कर्मशील र गर्वलाई अभिव्यक्त गर्नेछ । ‘वितरक व्यवसायलाई राष्ट्रिय पहिचान दिलाउने यात्रामा यो गीत ऐतिहासिक दस्तावेज बन्ने विश्वास लिएका छौं,’ उनले भने ।
गीतलाई संघकै सचिव लोकश्वर मान जोशीले रचना गरेका हुन् । गीतमा वितरकको जीवन यात्रा, पेशाप्रतिको निष्ठा, राष्ट्र निर्माणमा योगदान र समाजप्रतिको जिम्मेवारीलाई कवितामय तरिकाले प्रस्तुत गरिएको छ ।
Comments are closed.