डिस्टिब्युटरहरूले कामको सिलसिलामा विशेषगरी कुन-कुन समस्या भोग्नुपरिरहेको छ ?
अहिले हाम्रो मुख्य समस्या भनेको स्थानीय तह पसल पसलमा सामान ढुवानी गर्ने कार्यमा समय सीमा र ट्राफिक व्यवस्थापनको छ । स्थानीय तह पसल पसलसम्म सामान ढुवानी गर्ने गाडीहरूलाई बिहान ९ देखि ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म रिङरोड भित्र चलाउन रोक लगाइएको छ । यो नियमले हाम्रो कार्य सम्पादनमा ठूलो बाधा पुगेको छ । हामीले समयमा नै सामान पसलहरूमा पु¥याउन कठिन भएको छ । बिहानको समय सीमालाई त हामीले एक हदसम्म व्यवस्थापन गर्ने कोशिश गरेका छौं तर, बेलुकाको समयमा धेरै नै समस्या छ । सामान डेलिभरी गर्न निस्केका गाडीहरूले बीचको तोकिएको समयमा सम्पन्न गर्न नसकेको अवस्थामा बाँकी सामान फिर्ता लियर फर्किसक्नुपर्ने कि त ४ बजेदेखि ७ बजेसम्म गाडीहरु जहाँको त्यही अड्किनु पर्दछ । यस्तो अवस्थाले कर्मचारी ब्यवस्थापनमा र समयमै सामान ढुवानी गर्न समेत ठूलो कठिनाई भयको छ । अर्कोतर्फ ४ बजेर केही मिनेट जाने बित्तिकै ढुवानी गरेर फर्किएका साधनलाई ट्राफिक प्रहरीले जरिवानाको रसिद थामाइदिन्छन् । समयमा आपूर्ति गर्ने तथा सर्व सुलभ तरिकाले बस्तुको बजारमा उपलब्धतालाई सुनिश्चित गर्ने काममा होमिएका हामी बितरक व्यवसायीलाई यो हदसम्मको कारबाही या भनौं झमेला त्यति राम्रो हो जस्तो लाग्दैन । अर्को कुरा राती ७ बजेपछि बितरण व्यवसायीले सामान पसल पसलमा पु¥याउन सक्ने वातावरण छ र ? राती पसल खुल्छन् र ? के हामीहरुको बजारमा दुई सिफ्ट काम गर्ने अवस्था छ र ? छैन । तेसो भएको हुँदा दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्मको बितरकका साना ढुवानीका साधनहरुलाई कार्यालय समयको नाममा समय सीमा तोकिएकोमा यो व्यवस्था हटाइयोस् भन्ने नै हामी बितरकको साझा माग हो ।
के ट्राफिक र सानाढुवानीका गाडीहरूबीचको यो समस्या समाधान गर्न कुनै पहल भएको छ ?
हामी यस समस्या समाधानका लागि नियमन निकायहरूसँग निरन्तर पहल कदमी गरिरहेका छौँ । हामीले यातायात व्यवस्था विभाग, उद्योग वाणिज्य मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, ट्राफिक प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायत सम्बन्धित निकायमा धेरै पटक डेलिगेसन गएका छौँ छलफलमा बसेका छौँ । उहाँहरूले बितरण प्रणाली भएको यस किसिमको समस्या सम्बोधन गर्ने र समाधान गर्ने आश्वासन त दिनुभयको छ तर समस्या जहाँको त्यहीँ छ । यति लामो समयसम्म सम्बोधन नभएकोमा हामी चिन्तित छौँ । हामी ठूला गाडीहरु जस्तै ट्रकलाई कार्यालय समयमा चलाउन दिनुपर्छ भन्दैनौँ, तर साना ढुवानीका गाडीलाई हाल भएको समय सीमा हटाइदियर सहज वातावरण बनाउनु पर्छ भन्नेमा छौं ।
तपाईंहरुले आयातीत र नेपालमै उत्पादित सामानलाई बजारीकरणमा योगदान पु¥याउनुभएको छ । उद्योगी, आयातकर्ता र वितरकबीचको सम्बन्ध कस्तो पाउनुहुन्छ ?
उद्योगी, आयातकर्ता र वितरक एकआपसमा परिपूरक बनेर काम गर्नुपर्छ । तर, कतिपय अवस्थामा केही उद्योगी र आयातकर्ताले आफ्नो खुसीले वितरक बनाउने र हटाउने गर्छन् । उनीहरूले बजारको हिसाबकिताब नमिलाउने, सामान बिग्रिएको (ड्यामेज), म्याद गुज्रिएको (एक्स्पायरी), क्लेमको कुराहरू पनि बेवास्ता गरेर वितरकहरुलाई दुःख दिने गरेको पाइन्छ । यो समस्या समाधान गर्न दुबै पक्ष एकै ठाउँमा बसेर छलफल गर्नु आवश्यक छ । काम सुरु गर्दा वा अन्त्य गर्दा एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) लिएर मात्रै अगाडि बढ्ने हो भने सबैलाई सहज हुन्छ । यसले कम्पनीलाई पनि घाटा हुँदैन र वितरकलाई पनि समस्या पर्दैन । हामीले ‘विन–विन’ अवस्थाका लागि काम गर्नुपर्छ ।
उधारो कारोबारको समस्या र त्यसले वितरकलाई पारेको असरबारे कस्तो छ ?
अहिले बजारमा उधारो नदिए व्यापार हुँदैन । कम्पनीहरु लाई अग्रिम भुक्तान वा बैंक ग्यारेन्टी वा सेक्युरिटी चेक दियर मात्र बितरकले बितरणको काम गरेका हुन्छन् । यस्तो अवस्थामा उधारो दिएको पैसा उठ्छ कि उठ्दैन भन्ने निश्चित हुन्न । आज चलिरहेको पसल भोलि बन्द भएको वा भागेर गएको घटना धेरै पाइन्छ । यहाँ बितरकहरु मारमा परेको देखिन्छ । कम्पनीले बैंक ग्यारेन्टी वा अन्य माध्यमबाट आफ्नो पैसा जसरी पनि उठाउँछ, तर यसको सम्पूर्ण भार वितरकमा पर्छ । यस्तोमा उद्योगी, आयातकर्ता वा कम्पनीले बितरकहरुसँग बसेर दुबै पक्ष एक आपसमा छलफल गरेर समस्या समाधान गर्नुपर्छ र अर्को कुरा सरकारले ‘क्रेडिट एक्ट’ वा उधारो नउठेको रकमलाई कसरी समायोजन गर्ने भन्ने व्यवस्था गरिदिएमा दोहोरो करको मारबाट पनि यी व्यवसायीलाई धेरै सहज हुनेछ ।
तपाईंहरुले नेपाली उत्पादनलाई वितरणमा कत्तिको प्राथमिकता दिनुभएको छ ?
अहिले हामी बितरकहरुको मुख्य प्राथमिकता नै नेपाली उत्पादनको बिक्री बितरण र प्रवद्र्धन गर्ने रहेको छ । समय पहिलाको जस्तो पनि छैन अहिले स्वदेशमै पनि उत्कृष्ट उत्पादन/ब्रान्डहरु उत्पादन हुन थालेका छन् । यो हाम्रो जस्तो देशको लागि शुभ समाचार हो । हामी बितरकहरु पनि ‘एक बितरक’, ‘एक नेपाली उत्पादन’ अनिवार्य बितरक बन्ने भन्ने अभियानमा पनि लागेका छौँ । यसले सार्थकता पनि पाएको छ । आजको दिनमा त नेपाली ब्रान्ड÷उत्पादनको मात्र बितरण गर्ने बितरक पनि प्रसस्तै छ । यश अर्थमा ‘मेड इन नेपाल’ नेपाली उत्पादन हाम्रो पहिलो प्राथमिकता हो ।
तपाईंहरूको आसन्न साधारणसभाको मुख्य एजेन्डा के-के छन् ?
नेपाल बितरक संघको २४औं वार्षिक साधारणसभा भदौ १४ गते शनिबार हुँदैछ । हाम्रो साधारणसभाको मुख्य एजेन्डा भनेको माथि उठाइएको विषयहरु समाधानका लागि सम्वद्ध सबै नियमन निकायहरुसँग समन्वय गरी सम्पूर्ण कार्यसमिति तथा सदस्यहरू सक्रियताका साथ लागिपर्ने हो । संघको बिधानको उद्देश्यअनुरुप सदस्यहरूको व्यावसायिक हकहितको लागि एकता बद्ध भएर काम गर्ने, संघसँग आवद्ध नभएका सदस्यहरूलाई समेत संघमा आबद्ध गरि मजबुत सशक्त संघ बनाउने । उद्योगी तथा आयातकर्ताहरुसँग नियमित समन्वय र सहकार्य गरि बितरक व्यवसायीको दैनिक कार्य सम्पादनमा आउने विभिन्न किसिमका समस्याहरुलाई समाधान गर्ने ।
Comments are closed.