काठमाडौं। सरकारी सेवाबाट निवृत्त भएपश्चात् साहित्य लेखनमा पूर्णरूपमा समर्पित डा. भोजराज घिमिरेको नवौं कृतिका रूपमा गजल सञ्चयन ‘नाद’ बजारमा आएको छ। यसअघि कविता, गीत, गजल, कथा र उपन्यास गरी आठवटा कृति प्रकाशित गरिसक्नुभएका घिमिरेको यो पछिल्लो कृतिले नेपाली गजल साहित्यमा नयाँ आयाम थपेको छ। समीर मिडिया एण्ड प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको ‘नाद’लाई तीन खण्डमा विभाजन गरिएको छ: ‘उकुसमुकुस’, ‘साधना’ र ‘साधनोत्तर’।
‘उकुसमुकुस’ खण्डमा १२ वटा गजल समावेश छन्, जसले शायरका प्रारम्भिक अनुभूतिको उकुसमुकुसलाई शब्द र शेरमार्फत प्रस्तुत गर्दछन्। दोस्रो खण्ड ‘साधना’मा ७६ वटा गजलहरू समेटिएका छन्। यस खण्डले शायरको निरन्तर अभ्यास र गजल लेखनप्रतिको समर्पणलाई दर्शाउँछ। ‘अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने मान्यतालाई पुष्टि गर्दै यस खण्डका गजलहरूले परिष्कारको यात्रा देखाउँछन्।
कृति समीक्षकका अनुसार, यस खण्डमा शायरले आफूलाई शिष्ट साधकको दायरामा राखेर आफ्नो वैशिष्ट्यलाई गजलका शेर मार्फत प्रस्तुत गरेका छन्। अन्तिम तथा तेस्रो खण्ड ‘साधनोत्तर’मा २२ वटा गजलहरू छन्। यहाँसम्म आइपुग्दा शायर घिमिरेको लेखनमा परिपक्वता र खारिएकोपन स्पष्ट देखिन्छ।
‘नाद’भित्रका गजलहरूले पूर्णरूपमा शास्त्रीयतालाई अवलम्बन गर्दै जीवन, संस्कृति, रीतिथिति, जगत् र प्रणयजस्ता विषयलाई चामत्कारिक ढंगले प्रस्तुत गरेका छन्। विशेषगरी प्रेम र प्रणयपरक विषयमा उनको कलम कलात्मक रूपमा चलेको पाइन्छ।
कृतिमा हरेक गजलको अन्त्यमा बहरका अर्कानसहित प्रस्तुत गरिनुले नवसर्जकहरूलाई शास्त्रीय गजल लेखनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ। शायर घिमिरेले नेपाल प्रज्ञा प्रतिष्ठानको आधिकारिक शब्दकोशलाई अनुसरण गर्दै भाषागत शुद्धतामा पनि सजगता अपनाएका छन्। तीन खण्डे संरचनामार्फत शायरले आफ्नो लेखन यात्राको क्रमिक विकासलाई प्रस्तुत गर्दै आफूलाई एक परिष्कारवादी लेखकका रूपमा स्थापित गरेको देखिन्छ।
डा. घिमिरेको प्रकाशोन्मुख अर्को गजल सञ्चयन ‘लहड’ले नेपाली गजल साहित्यमा एक इतिहास रच्ने सङ्घारमा रहेको पनि समीक्षकहरूले उल्लेख गरेका छन्, जसको विस्तृत चर्चा भविष्यमा हुने नै छ। ‘नाद’ले भने हाल पाठकमाझ आफ्नो साहित्यिक गुञ्जन छर्न थालिसकेको छ।
Comments are closed.