सडक दुर्घटनाका कारण अकालमा ज्यान जाने क्रम बढ्दो छ । दुर्घटना पश्चात उपचार नपाएर ज्यान जाने समस्या पनि विकराल छ । तर यतातिरको तथ्यांकमा कमैको मात्र ध्यान जाने गरेको छ । यसका लागि आधुनिक एम्बुलेन्स सर्भिलियन्स सिस्टमको व्यवस्था गर्नु आवश्यक छ । प्राथमिक उपचार दुर्घटना स्थलमै गर्नुपर्छ । क्विक रेस्पोन्सका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था पनि हुनुपर्छ ।
दुर्घटनाको अवस्थामा सामान्यतः आधा घण्टामै उद्दार गर्न सकिने व्यवस्था गरिनुपर्छ । यसका लागि हेलिकप्टर इमर्जेन्सी रेस्पोन्स, स्थानीय समुदायलाई तालिम तथा हाई रिस्क जोनमा रहेका वडा कार्यालय, लायन्स, रेडक्रस आदिलाई पनि तालिम दिनुपर्छ । एक घण्टामा इमर्जेन्सी सुविधा सम्पन्न अस्पतालमा पुराउने व्यवस्था गरिनु आवश्यक हुन्छ ।
अहिले दुर्घटना पछि अस्पतालसम्म आउदा नै धेरैको मृत्यु हुने गरेको छ । अस्पताल पुगे पछि पनि जमानी, बिमा, आपताकालीन कोषको व्यवस्था आदि भन्दा पनि उपचारमा ध्यान दिने अवस्था निर्माण गरिनु आवश्यक छ । पुलिस केस भन्दा पहिले उद्दारमा उत्प्रेरित गर्नुपर्छ । उपचार पछिको फलो अप सिस्टमलाई पनि व्यवस्थित गरिनु पर्छ । यसका लागि आवश्यक औषधि, रोजगारी आदिको व्यवस्था हुनु आवश्यक छ । उपचारका लागि स्वास्थ्य बिमाले कभर गर्नुपर्छ । यात्रु बिमा, यातायात बिमाले सबैलाई कभर गर्ने व्यवस्था हुनु राम्रो हुन्छ । यस्ता कुरामा ध्यान दिन सकेमा दुर्घटना पश्चात पनि धेरैको ज्यान जोगाउन सकिने छ ।
संयुक्त राष्ट्र संघले यो भन्दा पहिले पनि सडक सुरक्षा एक्सन प्लान २०१३-२०२० घोषणा गरेको थियो । तर यो अवधिमा नेपालमा केही उल्लेखनीय कार्य भएन । हाल सडक सुरक्षा दशक २०२०-२०३० चलिरहेको सन्दर्भमा पनि खासै उल्लेखनीय कार्य भएका छैनन् । तर पनि आगामी दिनमा यो क्षेत्रमा अझै केही कार्य गरेमा सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने छ ।
हाल सडक सुरक्षा परिषद ऐन बन्न सकेको छैन । राष्ट्रले निकै नै मेहनत गरेर बनाएको नेसनल एक्सन प्लान बेवारिस बनेको छ । सार्वजनिक यातायात प्राधिकरण हराएको छ । यातायात प्रशासन कमजोर बनेको छ । यो अवस्थामा सबै मिलेर केही गर्न सकिएमा आगामी दिनमा दुर्घटना न्यूनीकरणमा अवश्य पनि केही उपलब्धि हासिल गर्न सकिने छ । यसतिर सबैको ध्यान जानु आवश्यक छ ।
Comments are closed.