दीपा रेग्मी, काठमाडौं । डाक्टर कर्टका नामले परिचित डा. दिलजान मन्सुर र उनको क्लिनिकमाथि थप उजुरी परेका छन् । काठमाडौंको मैतिदेवीमा ‘एफडीएच क्लिनिक’ सञ्चालन गर्दै आएका डा. कर्टको सेवा प्रभावकारी नभएको भन्दै उजुरी परेपछि मेडिकल काउन्सिलको छानविनमा तानिएका उनी माथि विभिन्न निकायमा थप उजुरी परेका हुन् ।
स्रोतका अनुसार उनले तोकिएको भन्दा चर्को शुल्क लिएको भन्दै उजुरी परेको छ ।त्यस्तै फिजिसियनका रूपमा रहेका उनले आफ्नो विज्ञताभन्दा बाहिर गएर फिजिसियन किटो इन्स्ट्रक्टरको रूपमा काम गरेको उनीमाथि आरोप छ । उनले जेजे सुझाव दिँदै आएका छन्, अनुसन्धान भन्दा पनि उनको आइडियामा आधारित रहेको उजुरीमा उल्लेख छ । डा. कर्टले आम्दानीअनुसारको कर तिरे नतिरेको छानविनको लागि कर कार्यालयमा समेत उजुरी परेको स्रोतले बतायो । महानगरपालिकामा दर्ता नभएको भन्दै काठमाडौं महानगरपालिका पनि उजुरी परेको स्रोतको भनाइ छ । उजुरीका आधारमा मेडिकल काउन्सिलले यसअघि नै कागजात उठाएर छानविन गरिरहेको जानकारी दिएको छ ।
डा. कर्टले आफ्नो क्लिनिकमा २५ देखि ३० जना एकै ठाउँ जम्मा गरेर १ घण्टा क्लास दिने र त्यसकै आधारमा डाइट प्लान सिफारिश गर्दै आएको पाइएको छ । पीडितहरूले उनको परामर्श पछि झनै डरलाग्दो स्वास्थ्य समस्या देखिएको बताएका छन् ।
काउन्सिलमा दिएको उजुरीमा पीडितहरूले भनेका छन्, ‘उनले एक पटकमा २५-३० जनालाई एउटै कोठामा राखेर कक्षा लिन्छन् र सबैलाई फ्याट र प्रोटिन बढी खान सल्लाह दिन्छन् ।’ उनले परामर्श वापत प्रतिव्यक्ति १० हजार रुपैयाँ र ल्याब टेस्टको ६ हजार दिने गरेका छन् ।
Comments are closed.