काठमाडौं । टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थापलियाले अटोमोबाइल क्षेत्रमा नयाँ प्रविधि भित्रिए पनि त्यसअनुसारको जनशक्ति उत्पादनमा नेपाल कमजोर रहेको बताएका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजी स् ड्राइभिङ द फ्युचर अफ मोबिलिटी’ संवादमा उनले सो धारणा राखेका हुन् ।
उनका अनुसार नेपालमा विद्युतीय तथा अत्याधुनिक सवारीसाधनको प्रयोग बढिरहेको भए पनि त्यसअनुसार प्रविधि, अनुसन्धान र दक्ष जनशक्ति विकासमा पर्याप्त ध्यान पुगेको छैन । नेपालका अधिकांश कलेज तथा विश्वविद्यालयमा अझै प्रोग्रामिङ, वेब डेभलपमेन्ट, डेटाबेस, नेटवर्किङ लगायतका परम्परागत विषयमा बढी जोड दिइने गरेको उनले बताए । आधुनिक सवारीमा प्रयोग भइरहेका सेन्सर, स्वचालन, एआई तथा अन्य डिजिटल प्रणालीका लागि आवश्यक जनशक्ति उत्पादनमा ध्यान जानु आवश्यक रहेको उनको भनाई छ ।
‘अब एआई, साइबर सुरक्षा, एम्बेडेड सिस्टम, रोबोटिक्स, एज कम्प्युटिङ, अटोमोटिभ सफ्टवेयर र डिजिटल फरेन्सिक जस्ता विषयलाई शिक्षामा प्राथमिकताका साथ समावेश गर्नुपर्ने छ,’ उनले भने । एउटा विषयका रूपमा एम्बेडेड सिस्टम पढेर मात्र भविष्यको आवश्यकता पूरा नहुने भन्दै उनले यसको उन्नत संस्करण, रोबोटिक्स, एज कम्प्युटिङ र अटोमोटिभ सफ्टवेयरसमेत विद्यार्थीले गहिराइमा अध्ययन गर्नुपर्ने उल्लख गरे ।
थापलियाले आफूले अवसर पाए वर्तमान पाठ्यक्रममा ६० प्रतिशत कोर एकेडेमिक्स, २० प्रतिशत इमर्जिङ टेक्नोलोजी र २० प्रतिशत इन्डस्ट्री एप्लिकेसन राख्ने अवधारणा प्रस्तुत गरे । यसबाट विद्यार्थीले आधारभूत ज्ञानसँगै नयाँ प्रविधिको अभ्यास र उद्योगको वास्तविक आवश्यकता बुझ्न सक्ने उनको भनाइ छ ।



Comments are closed.