नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठद्वारा मनोनयन दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षको लागि दुर्गाराज श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । चैत २४ गते हुने साधारणसभा तथा निर्वाचनका लागि उनले आज प्यानलसहित मनोनयन दर्ता गरेका हुन् ।

उनको प्यानलबाट एसोसिएट उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा प्रेम हरि मैनाली, जिल्ला नगर उपाध्यक्षमा कविराज खत्री र कोषाध्यक्षका उम्मेदवार जीवनकाजी माकाजु रहेका छन् ।

श्रेष्ठले हाल महासंघ बागमती प्रदेशको उपाध्यक्ष पदमा रहेर काम गरिरहेका छन् । वस्तुगत–एसोसियट समूहबाट उनी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

बागमती प्रदेश महासंघलाई भौतिक संरचना सम्पन्न बनाउने, जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुको क्षमता विकासमा केन्द्रित हुने, साना तथा मझौला उद्यम व्यवसायलाई लक्षित गरी प्रदेशको आर्थिक र औद्योगिक नीति निर्माणमा केन्द्रित हुने जस्ता एजेण्डा अघि सारेका छन् ।

बागमती प्रदेशका भूगोलका उद्योग वाणिज्य संघहरु, सबै वस्तुगत संघहरु तथा एसोसियट सदस्यहरुलाई स्थानीय तह र प्रदेश सरकारसँग जोडेर कर प्रणाली र लेखा प्रणालीदेखि नापतौल सम्मका विषयमा आफूले काम गर्ने उनको प्रतिवद्धता छ । बजार अनुगमनको स्पष्ट मापदण्ड बनाउनका लागि सम्बन्धित उद्योग वाणिज्य संघहरुसँग स्थानीय प्रशासनले सहकार्य गर्नुपर्ने नीतिगत प्रबन्ध गर्ने आफ्नो योजना रहेको पनि श्रेष्ठले बताएका छन् ।

२०६२ सालबाट व्यवसायिक यात्रा प्रारम्भ गरेका उनी नेपाल वितरक संघको कार्यसमिति सदस्य हुँदै अध्यक्षसम्म भएका थिए । उनले २०७४ देखि २०७६ सम्म वितरक संघको अध्यक्ष भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका थिए ।

उनी उद्योग वाणिज्य संघ काठमाडौंको संस्थापक हुन् । आफू संस्थापक सदस्य रहेको यस संघको हाल उनी महासचिव छन् । यति मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा नेपालको औद्योगिक र व्यवसायिक क्षेत्रको प्रतिनिधित्व गर्दै उनी ‘नेपाल–माल्टा चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री’को एक्जुकेटिभ मेम्बर (कार्यकारी सदस्य) छन् ।

श्रेष्ठले प्रदेश सरकारसँग उद्योगी व्यवसायीका कुराहरुमा ‘स्ट्रङ लविङ’ गर्ने र समस्या समाधानमा दिनरात केन्द्रित हुने प्रतिवद्धतासहित आफूले अध्यक्षमा उम्मेदवारी दिएको जनाएका छन् । उनले पोखरा विश्व विद्यालयबाट एमबीए उत्तीर्ण गरेका छन् ।

You might also like

Comments are closed.