पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहालसँग अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा अष्ट्रेलिया बसोबास गर्दै आइरहेका नेपालीहरुको अवस्था, नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया पुगेपछि भोग्नुपर्ने समस्याहरु, कोभिड–१९ का कारण पछिल्लो एक वर्ष देखी स्थगित अष्ट्रेलियाको उडानलगायतका विषयमा छलफल गरिएको थियो ।
अन्तर्राष्ट्रिय शिक्षामा परामर्श व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको, अष्ट्रेलियाका कलेज विश्वविद्यालयहरुले पनि परामर्श व्यवसायीहरुलाई विश्वास गर्ने कारणले सोही अनुसार विद्यार्थी तथा अविभावकहरुलाई सहि परामर्श तथा सल्लाह दिनुपर्नेमा राजदुत दाहालले जोड दिए ।
ट्रेड कमिसन सर्भिस क्यानडाका नेपालका लागि ट्रेड एड्भाइजर तथा इक्यानका पूर्व प्रथम उपाध्यक्ष द्विराज शर्माले नेपाली विद्यार्थीहरुको अष्ट्रेलियाको अर्थतन्त्रमा योगदान रहेको, नेपाली विद्यार्थीहरुले एक असल र मिहेनेती विद्यार्थीको रुपमा परिचय बनाएको बताए।
नेपाली विद्यार्थीको प्रमुख गन्तव्य अष्ट्रेलियामा हाल झण्डै एक लाख नेपालीहरु बसोबास गर्दै आइरहेका छन् भने करिब साठी हजार विद्यार्थीहरु अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा अध्ययनरत रहेको बताइन्छ ।
इक्यान कास्कीका अध्यक्ष इविन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष भुवन क्षेत्रीले स्वागत गरेका थिएभने सञ्चालन सचिव सन्तोष शाहीले गरेका थिए । कार्यक्रममा इक्यान कास्कीका कार्यसमिति सदस्य तथा साधारण सदस्यको उपस्थिती थियो ।
Comments are closed.