काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले शैक्षिक परामर्श व्यवसायीहरुका सन्दर्भमा देखिएका समस्याहरुको समाधान गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)को आइतबार आयोजित १८औं साधारणसभाको उद्घाटनका अवसरमा बोल्दै उनले नेपाली विद्यार्थीहरु अध्ययनमा लागि विदेश जाने क्रम बढसँगै परामर्श व्यवसायीहरुको पनि भूमिका बढेको बताएका हुन् ।
नेपाली विद्यार्थीले सकेसम्म नेपालमै पढेको राम्रो तर विदेश जाने नै भएपछि परामर्श व्यवसायीले आवश्यता अनुसारको परामर्श सेवासहित सहयोग गर्नुपर्ने बताए । परामर्श व्यवसायीका सन्दर्भमा देखिएका नीतिगत समस्या समाधानका लागि सरकार तयार रहेको पनि उनको भनाइ छ ।
सरकारको शिक्षा सम्बन्धी नीति स्पष्ट रहेको उनको भनाइ छ । ‘गुणस्तरीय शिक्षाका लागि सरकार प्रतिबद्ध छ । देशभित्र राम्रा शैक्षिक संस्था हुँदाहुँदै पनि विद्यार्थीहरु विदेशमा जाने क्रम बढेको छ,’ उनले भने । आफ्नो भविष्य सुनिश्चित र रोजगारी प्राप्तिका लागि विद्यार्थी विदेशिने क्रम बढेको पनि उनले बताए । ‘हामीले जति रोक्न खोजेपनि रोकिने अवस्था छैन,’ उनले भने, ‘रोक्नका लागि देशको समग्र शिक्षा पद्धतिको ट्रान्फर्मेसन जरुरी छ । एउटा शैक्षिक क्यालेन्डर अनुसार पठनपाठन, रिजल्ट आवश्यक छ । विद्यार्थीले चाहेको विषय पढ्न पाउनुपर्ने र पढेपछि राम्रो जब र तलब हुनुपर्छ ।’ त्यो अवस्था पनि आउने र समय लाग्ने उनको भनाइ छ ।
आफ्नो भविष्य र रोजगारीको अपेक्षासहित विद्यार्थीहरु बाहिरने क्रम बढेपछि ती विद्यार्थीलाई त्यहाँको शैक्षिक अवस्था, नीति र अवसरका बारेमा सत्य तथ्य परामर्श दिनुपर्ने दायित्व शैक्षिक परामर्श व्यवसायीको भएको पनि उनले बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली विद्यार्थीलाई नेपालमै अध्ययनको वातावरण बनाउन शैक्षिक क्षेत्रमा आमूल सुधार आवश्यक रहेको बताए । गुणस्तरीय शिक्षासँगै रोजगारीको सुनिश्चित हुनुपर्ने उनको भनाइ छ ।
इक्यानका अध्यक्ष शेषराज भट्टराईले नेपाली विद्यार्थी सकेसम्म नेपालमै अध्ययन गरोस् र विदेश जाने अवस्थामा कमी आउनुपर्छ भन्ने मान्यता आफूहरुको रहेको बताए । ‘इक्यानले यही मान्यतासहित स्टडी इन नेपाल अभियान पनि चलाइरहेको छ,’ उनले भने । यद्यपि, विद्यार्थीहरु विदेश जाने क्रम बढेको र कतिपय सन्दर्भमा त्यो बाध्यता पनि रहेको उनले बताए । ‘विद्यार्थी विदेश जाने अवस्थामा हामीले आवश्यक परामर्श सेवा दिनै पर्छ र सहजीकरण गर्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै इक्यानका निबर्तमान अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श व्यवसाय ठूलो व्यावसायिक क्षेत्रमा रुपमा स्थापित भएको बताए । रोजगारी र लगानीका दृष्टिले यो क्षेत्र सानो नरहेको उनको भनाइ छ । यो क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसकेको पनि उनले बताए । राज्यले समयमा नै नीति नियम नबनाउँदा आफूहरुलाई समस्या भएको उनले बताए ।
इक्यानका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रियु)ले इक्यान शैक्षिक परामर्श व्यवसायीको छाता संस्था रहेको र संस्थाले नेपालमै गुणस्तरीय शिक्षाका लागि पहल गर्ने नीति लिएको बताए ।
कार्यक्रममा महानायक राजेश हमाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, इक्यानका सल्लाहकार समिति सभापति अरुण लामिछाने, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका संयोजक एवं इक्यान पूर्व अध्यक्ष परिसद संयोजक राजेन्द्र बराल, आइरिनका अध्यक्ष हेमन्त भट्टराई, अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक महासंघ अध्यक्ष कमला तुलाधर, ब्रिटिस काउन्सिलका कन्ट्रि एक्ज्याम डाइरेक्टर तथा जनरल म्योनजर प्रतिष्ठा थापा रायमाझी लगायतले परामर्श व्यवसायका सन्दर्भमा आआफ्नो धारणा राखेका थिए ।
साधारणसभाले महासचिव दीपकराज भुसाल र कोषाध्यक्ष आशिक कार्कीको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । ‘साधारणसभा सम्पन्न भएपश्चात हामी अब इक्यानलाई थप सक्रिय बनाउने गरी नयाँ योजनाका साथ अगाडि बढेका छौं’ महासचिव दीपकराज भुसालले भने ।
Comments are closed.