शैक्षिक मेलाको परम्परालाई इक्यानले दियो निरन्तरता

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी बृहत शैक्षिक मेला हुँदैछ । शैक्षिक परामर्शदातृ संस्थाहरु आबद्ध संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले मेला गर्ने परम्परालाई निरन्तरता दिएको छ । ‘कोभिड १९’ महामारीको कारणले बिगत ४ वर्षदेखि मेला स्थगित भएको थियो । इक्यानले पुनः मेलाको सुरुवात गर्दै मेला गर्ने परम्परालाई निरन्तरता दिएको हो । इक्यानले यस वर्ष १५औं संस्करणको मेला असोज १६ गते बुधबार एभरेष्ट होटल नयाँ बानेश्वरमा गर्दैछ ।

विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सत्यतथ्य जानकारी र परामर्श प्राप्त गर्नका लागि मेला उपयुक्त थलो बन्ने इक्यानका अध्यक्ष शेषराज भट्टराई बताउँछन् । मेलामा १५ हजार भन्दा बढि विद्यार्थी तथा अभिभावकको उपस्थिति रहने आयोजकको विश्वास छ । मेलामा ३७ वटा स्टल राखिएका छन् । इक्यानमा आबद्ध विभिन्न प्रतिष्ठित कन्सल्टेन्सीहरुले स्टल राखेर विद्यार्थीलाई परामर्श दिने तयारी गरेका छन् । विदेशका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुलाई पनि विद्यार्थीले प्रत्यक्ष भेटेर परामर्श लिन सक्नेछन् ।

विभिन्न देशका राजदुतावास तथा कुटनीतिक नियोगका प्रतिनिधिहरु मेलामा सहभागी हुनेछन् । मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरुसँगै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागीता रहने इक्यानले जनाएको छ ।

‘नेपाली विद्यार्थीलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना एवं अवसरहरुका विषयमा पर्याप्त सूचना प्रवाह हुनेछ,’ अध्यक्ष भट्टराईले भने, ‘स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको प्रमुख उद्देश्य छ ।’

jutta mela

विद्यार्थीको उच्च शिक्षाको सपना साकार पार्न इक्यानद्वारा आयोजित शैक्षिक मेला एक महत्वपूर्ण प्लेटफर्मको रूपमा प्रस्तुत हुने इक्यानका महासचिव दीपकराज भुसाल बताउँछन् । विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई विश्वका विभिन्न शिक्षण संस्थाहरू, तिनका शैक्षिक प्रणालीहरू, पाठ्यक्रमहरू, भर्ना प्रक्रिया र अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त डिग्रीहरूबारे विस्तृत जानकारी प्रदान गर्न शैक्षिक मेलाको विशेष महत्व रहने उनको भनाइ छ । ‘विद्यार्थीले विदेशमा अध्ययन गर्न आवश्यक योग्यता, कागजातहरू, भिसा प्रक्रियादेखि छात्रवृत्तिका अवसरहरूका बारेमा प्रत्यक्ष परामर्श प्राप्त गर्न सक्नेछन्,’ उनले भने ।

मेलामा सहभागी हुने विद्यार्थीले विभिन्न देशका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउनेछन् । जसले गर्दा उनीहरूलाई आफ्नो शिक्षा र करियरको योजना बनाउन थप सहज र स्पष्ट हुने अपेक्षा इक्यानले गरेको छ ।

शैक्षिक मेला आयोजना गर्न इक्यानले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिएको छ । मेला एभरेष्ट होटलमा असोज १६ गते बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । वन अप प्रा.लि.को व्यवस्थापनमा आयोजित मेलालाई सफल बनाउन टाइटल स्पोन्सरमा रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सी प्रालिले र इन एसोसिएसन विथमा वेद इन्टरनेशनल एजुकेशन प्रालिले साथ दिएको छ ।

You might also like

Comments are closed.