इक्यानका अध्यक्ष शेषराज भट्टराईसँग हामीले शैक्षिक परामर्श उद्योगका उत्थानका लागि उनका दृष्टिकोण र नेतृत्वका बारेमा विशेष कुरा गरेका छौं । शेषराज भट्टराईले आफ्नो कार्यकालमा इक्यानलाई थप सशक्त र प्रभावकारी बनाउने प्रयास गरेका छन् । उनले समावेशिता र सहकार्यको आधारमा संघको रणनीतिहरू अघि बढाएको र शैक्षिक क्षेत्रको समग्र सुदृढीकरणका लागि गरेका महत्वपूर्ण पहलहरूको बारेमा जानकारी दिएका छन् । यस अन्तर्वार्तामा उनले इक्यानको भविष्यको योजनाहरू र शैक्षिक परामर्शका क्षेत्रमा आउने चुनौतीहरूको बारेमा पनि चर्चा गरेका छन्, जसले नेपालका विद्यार्थीहरूको भविष्यलाई उज्जवल बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन्ः
देशभरका इक्यान शाखाहरुको वार्षिक साधारणसभा (एजिएम) सम्पन्न भएको छ । सबै शाखाको एजिएम सकेर केन्द्रको एजिएमको तयारीमा हुनुहुन्छ । देशभर पुग्ने क्रममा शाखाहरुको बर्तमान अवस्था कस्तो पाउनुभयो ?
इक्यानको शाखाको वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ । कास्की शाखाको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । म नेतृत्वमा आइरहँदा मेरो कार्यकालमा शाखाहरूको सशक्तीकरण र तिनीहरूको क्षमता वृद्धिमा केन्द्रित हुने प्रतिबद्धता जनाएको थिएँ । आज म गर्वका साथ भन्न सक्छु कि हाम्रो हरेक शाखा सबल र सक्षम बनिसकेको छ । शाखाहरूको सदस्यतामा आकर्षण देखिएको छ । कोषको पनि विकास भएको छ । मकवानपुर र काभ्रेपलाञ्चोकमा नयाँ शाखाहरू स्थापना भएका छन् । जसले हाम्रो उपस्थिति र प्रभावलाई थप मजबुत बनाएको छ । हाम्रा शाखाहरूले आन्तरिक व्यवस्थापन र कार्यप्रणालीमा सुधार भइरहेको छ ।
संस्थाको नेतृत्व, आफ्नो व्यवसाय लगायत अन्य धेरै जिम्मेवारीमा हुनुहुन्छ । समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?
हो, मेरो दिनचर्या निकै व्यस्त छ । जब मैले यो पद सम्हाल्ने निर्णय गरेँ, मैले समय व्यवस्थापनको महत्व बुझिसकेको थिएँ । नेतृत्व भनेको केवल एउटा पदमा रहनु होइन, यो हाम्रो समुदायका सदस्यहरूको भविष्य निर्माण गर्ने जिम्मेवारी हो । चुनावमा मैले जितेको विश्वास र समर्थन, ‘यो मेरो मात्र जीत होइन, यो सबै इक्यानका सदस्यहरूको विश्वासको जीत हो’ भन्ने कुरालाई मैले सधैं ध्यानमा राखेँ । मेरो मुख्य उद्देश्य त्यो विश्वासलाई नतिजामा परिणत गर्नु हो । यसका लागि मैले हरेक निर्णय र कदमलाई संस्थाको उत्थान र सदस्यहरूको हितमा केन्द्रित गरेको छु । समय व्यवस्थापनका लागि म प्राथमिकता निर्धारण गर्छु । सबै कार्यलाई महत्वका आधारमा वर्गीकरण गर्छु र निश्चित समय सीमाभित्र काम पुरा गर्ने कोशिस गर्छु । मैले थाहा पाएको कुरा यो हो कि मेरो कार्यकालमा जिम्मेवारी पुरा गर्नु मात्रै होइन, इक्यानको प्रभाव बढाउनु र यसको सदस्यहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु मेरो कर्तव्य हो । म यसैमा लागिरहेको छु ।
इक्यानको वर्तमान नेतृत्व दुई गुटबाट आएको हो भन्ने कुरा सबैले थाहा पाएका छन् । काम गर्दा कति अफ्ठ्यारो परेको छ ?
इक्यानको नेतृत्व चुनावमा दुई गुटबाट निर्वाचित भएको सत्य हो । तर, यसले हामीलाई थोरै पनि कमजोर बनाएको छैन, बरु यसले हामीलाई अझ बलियो बनाएको छ । हाम्रो ध्यान सधैं एकता र संस्थाको भविष्यमा केन्द्रित छ । जब मैले अध्यक्षको जिम्मेवारी सम्हालें, मेरो मुख्य उद्देश्य गुटगत भेदभावलाई पन्छाएर सबैलाई एकसाथ मिलाएर संस्थाको उत्थान गर्नु थियो र यसमा सफल पनि भएको छु । गुटगत भेदभावभन्दा ठूलो कुरा हाम्रो संस्थाको समृद्धि र स्थिरता हो । चाहे हामी विभिन्न गुटबाट आएका हौं, हामी सबैको उद्देश्य एउटै छ, इक्यानको दीर्घकालीन सफलता र यसका सदस्यहरूको उन्नति । हामी सबै मिलेर काम गर्दैछौं, र यसले हामीलाई अझ प्रभावशाली र सशक्त बनाएको छ ।
हामीले सँगै मिलेर सबै चुनौतीहरूको सामना गरेका छौं र अब जिम्मेवारी पूरा गर्ने र इक्यानको भविष्यलाई अझ उज्जवल बनाउने समय आएको छ । यो मेरो दृढ विश्वास हो कि हाम्रो सामूहिक प्रयासबाट मात्र हामी संस्थाको वास्तविक विकास हासिल गर्न सक्छौं । आज इक्यानको नेतृत्व सबै सदस्यहरूको सहयोग र एकतामा आधारित छ ।
तपाईं नेतृत्वको इक्यानले हासिल गरेका मुख्य उपलब्धीहरु केके छन् ?
मेरो प्रमुख उद्देश्य इक्यानलाई शैक्षिक परामर्श क्षेत्रमा अग्रणी र विश्वसनीय संस्था बनाउने थियो । पछिल्ला डेढ वर्ष यो उद्देश्यमा हामीले धेरै महत्वपूर्ण उपलब्धिहरू हासिल गरेका छौं । हामी अहिले इक्यानको सुनौलो युगमा प्रवेश गरेका छौं । संघको बृद्धि र विकासले हामीलाई नयाँ उचाइमा पुर्याएको छ । शैक्षिक क्षेत्रमा भइरहेको परिवर्तनसँगै हामीले आफ्नो नेटवर्कलाई थप बलियो बनाएका छौं र अब अन्तर्राष्ट्रिय स्तरमा पनि पहिचान बनाउन सफल भएका छौं । हाम्रो प्रमुख लक्ष्य शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनु हो, र हामीले सरकार र अन्य संस्थासँगको सहकार्यमा प्रभावशाली भूमिका निर्वाह गरिरहेका छौं। अब हामी शैक्षिक नीतिहरूको निर्माणमा सक्रिय सहभागी छौं र हाम्रो प्रतिष्ठा देशभर फैलिएको छ । सबैभन्दा ठूलो उपलब्धि भनेको शैक्षिक परामर्श क्षेत्रको सार्वजनिक छवि परिवर्तन गर्नु थियो । हामीले यसलाई एउटा पेशागत, इमानदार र विद्यार्थी–केन्द्रित सेवामा रूपान्तरण गरेका छौं। त्यस्तै, इक्यान इडुक्लेभ जस्ता कार्यक्रमहरू सुरु गरेर हामीले नीति निर्माता, व्यावसायिक नेता, र अन्य सरोकारवालाहरूसँग शैक्षिक क्षेत्रमा खुला संवादको सुरुवात गरेका छौं।
हामीले ‘स्टडी इन नेपाल’ अभियानमार्फत नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि अध्ययन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने काम पनि सुरु गरेका छौं । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई शैक्षिक केन्द्रको रूपमा चिनाउन मद्दत पुर्याएको छ ।
भनेपछि तपाईंको नेतृत्वमा आएपछि संस्थाको उचाई थप बढेको छ भन्न सकिन्छ ?
मेरो नेतृत्वले इक्यानमा समावेशीता र सहकार्यको संस्कृति स्थापित गरेको छ । केन्द्र र शाखा समितिहरूबीचको संवादलाई प्रभावकारी बनाउँदै, सबै सदस्यको आवाज सुन्ने र निर्णय प्रक्रियामा सहभागी गराउने व्यवस्था गरिएको छ । सरकार, विशेषगरी शिक्षा मन्त्रालयसँगको सहकार्यलाई सुदृढ पार्दै, नीति निर्माणमा इक्यानको सक्रिय भूमिका सुनिश्चित गरिएको छ। विद्यार्थीहरूको भिसा प्रक्रिया सरलीकरण, परामर्श व्यवसायलाई व्यवस्थित बनाउने, र नेपालको शैक्षिक परामर्शको मान्यता बढाउने काममा सफलता पाएका छौं। विद्यार्थीहरूका लागि सहज परामर्श सेवा र सदस्यहरूको व्यावसायिक विकासमा ध्यान दिँदै, तालिमबाट परामर्श प्रक्रियालाई प्रभावकारी बनाएका छौं । इक्यान इडुक्लाभ जस्ता कार्यक्रमहरूले नीति निर्मातादेखि समाजका प्रमुख सरोकारवालासम्मको सहभागिता सुनिश्चित गर्दै इक्यानलाई प्रभावशाली नेतृत्वमा स्थापित गरेको छ । मेरो नेतृत्वले इक्यानलाई केवल एउटा संस्था होइन, शिक्षा क्षेत्रमा विश्वासिलो र अग्रणी संस्था बनाउन योगदान दिएको छ । संस्थाको गरिमा र उचाई बढाउने काम हामीले गरेका छौं ।
इक्यानले सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रमहरू कसरी अघि बढाएको छ ?
इक्यानको सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्दै आइरहेको छ । सिएसआर हाम्रो संस्थाको मूल दर्शन र उद्देश्यसँग जोडिएको छ । शिक्षा, समाजसेवा, र सदस्यहरूको आवश्यकतालाई प्राथमिकतामा राख्दै, इक्यानले विभिन्न कार्यक्रमहरू मार्फत समाजमा दीर्घकालीन योगदान पुर्याउँदै आएको छ । सबैभन्दा पहिले, शिक्षा क्षेत्रको प्रवर्द्धन गर्न हामीले ग्रामीण क्षेत्रहरूमा पुस्तकालय स्थापना गरेका छौं । यसले स्थानीय विद्यार्थीहरूलाई पढाइका साधन र अवसर प्रदान गर्दछ, जहाँ शैक्षिक सामग्रीको पहुँच कम छ।
आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको लागि छात्रवृत्ति प्रदान गर्नु हाम्रो अर्को प्रमुख सामाजिक योगदान हो । यी छात्रवृत्तिहरूले उनीहरूको शैक्षिक यात्रामा आर्थिक दबाब कम गर्दै, उनीहरूलाई आफ्नो लक्ष्यमा अघि बढ्न प्रेरित गर्दछ ।
प्राकृतिक विपत्तिका समयमा, इक्यानले राहत सामग्री वितरणदेखि पुनःस्थापनाका कार्यक्रमहरू सञ्चालन गरेको छ । उदाहरणका लागि, बाढी, पहिरो वा भूकम्पजस्ता आपत्कालीन अवस्थामा प्रभावित समुदायलाई राहत पुर्याउन हाम्रो टोली सक्रियताका साथ खटिएको छ।
हाम्रो यी प्रयासहरूले इक्यानलाई केवल शिक्षा परामर्शको अग्रणी संस्था बनाएको छैन, समाजप्रतिको उत्तरदायित्वमा पनि एक उदाहरणीय संस्था बनाएको छ। यी कार्यहरूले हाम्रो संस्था र समाजबीच एक गहिरो सम्बन्ध स्थापित गरेको छ, जसले इक्यानलाई अझ सशक्त र विश्वासिलो बनाएको छ।
इक्यानले अन्तर्राष्ट्रिय सम्बन्धहरू कसरी सुदृढ बनाएको छ ?
आजको प्रतिस्पर्धात्मक दुनियाँमा, अन्तर्राष्ट्रिय सहकार्य अत्यन्त महत्वपूर्ण छ । हाम्रो पेशा तथा व्यवसायका लागि अझै बढी अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यको महत्व छ । हामीले ब्रिटिश काउन्सिल, आईसीईएफ, र विभिन्न दूतावासहरूसँग निकट सहकार्य गरेका छौं । यी साझेदारीहरूले विद्यार्थीहरूको भिसा प्रक्रिया सरल बनाउन, सही जानकारी उपलब्ध गराउन, र विदेश अध्ययनको यात्रा सहज बनाउन मद्दत पुर्याएका छन् । त्यस्तै, हामीले कूटनीतिक कार्यक्रमहरू आयोजना गरेका छौं, जसले नेपाल र इक्यानलाई अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा सम्मानजनक रूपमा प्रस्तुत गरेको छ ।
नेपालमा शिक्षाको भविष्यको लागि इक्यानको भूमिकालाई कसरी हेर्नुहुन्छ?
इक्यानको भूमिका नेपालमा शिक्षा सुधार गर्न र नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यको रूपमा प्रस्तुत गर्न महत्वपूर्ण छ । हामी केवल विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, नेपालका शैक्षिक संस्थाहरूलाई सुधार गर्दै, ‘स्टडी इन नेपाल’ अभियानमार्फत विदेशी विद्यार्थीहरूलाई आकर्षित गर्न काम गर्दैछौं ।
हामी नेपाललाई शिक्षा प्रणालीमा सुधार गर्नका लागि शिक्षा मन्त्रालय, कलेजहरू र विश्वविद्यालयहरूसँग मिलेर काम गर्दैछौं । यसका साथै, नेपालमा शैक्षिक अवसरहरू सृजना र विदेशी विद्यार्थीहरूको लागि राम्रो वातावरण बनाउनका लागि निरन्तर प्रयासरत छौं । इक्यानको उद्देश्य नेपाललाई एक प्रमुख शैक्षिक गन्तव्य बनाउनु हो, र त्यसको लागि हामी शिक्षामा गुणस्तर सुधार र संस्थागत छवि सुदृढ गर्न काम गर्दैछौं ।
अन्त्यमा, इक्यानका सदस्यहरू र शैक्षिक समुदायलाई के सन्देश दिन चाहनुहुन्छ ?
म सबै इक्यान सदस्यहरूलाई स्पष्ट रूपमा भन्न चाहन्छु कि हामी सबैलाई एकजुट भएर केवल व्यक्तिगत लाभको लागि मात्र नभएर समग्र शैक्षिक क्षेत्रको लागि काम गर्नुपर्नेछ । हाम्रो उद्देश्य सधैं विद्यार्थीहरूको भविष्यलाई सुरक्षित र उज्जवल बनाउनु हो । यसलाई प्राप्त गर्न हामीले इमानदारिता, पारदर्शिता र उच्च कार्यक्षमताका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ । शिक्षा मात्र व्यक्तिगत समृद्धि को लागि होइन, सम्पूर्ण समाजको विकास र समग्र राष्ट्रको समृद्धि को लागि पनि एक शक्तिशाली उपकरण हो। त्यसैले, हामीलाई हाम्रो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनु पर्छ र निरन्तर सुधारको लागि काम गर्नुपर्छ। विद्यार्थी र अभिभावकहरूलाई म विश्वास दिलाउन चाहन्छु कि इक्यानले सधैं उनीहरूको हितको रक्षा गर्नेछ र यस क्षेत्रको सर्वोत्कृष्ट सेवा प्रदान गर्नेछ। हामी सबैको सामूहिक प्रयासले नेपालको शिक्षा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ र यसलाई एक नयाँ उच्चाईमा पुर्याउन सक्छ। आउने दिनहरूमा, हामीले नेपालको शैक्षिक व्यवस्था र यसको भविष्यलाई नयाँ दृष्टिकोण र सुधारका साथ सुदृढ बनाउन हाम्रो कसम र प्रयास जारी राख्नेछौं ।
Comments are closed.