काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २०औँ वार्षिक साधारण सभा यही पुस २८ गते सोमबार हुने भएको छ । काठमाडौँको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान ८ बजेदेखि साधारणसभा सुरु हुने संघले जनाएको छ ।
पुस ९ गते बसेको इक्यान कार्य समितिको बैठकले साधारण सभाको मिति र स्थान तय गरेको हो । यस वर्षको साधारण सभाले इक्यानको आगामी कार्यकालका लागि नयाँ कार्यसमितिको चयन गर्नेछ ।
साधारण सभामा सहभागी हुन र मतदान प्रक्रियामा भाग लिनका लागि सदस्य संस्थाहरूले आर्थिक वर्ष २०८२/८३ का लागि सदस्यता नवीकरण गरेको हुनुपर्नेछ । इक्यानका अनुसार यही पुस १८ गते शुक्रबार कार्यालय समयसम्म सदस्यता नवीकरण गर्ने अन्तिम मिति तोकिएको छ । उक्त मितिसम्म नवीकरण गर्ने सदस्य कम्पनीका आधिकारिक प्रतिनिधिहरूले मात्र सभामा भाग लिन पाउने व्यवस्था गरिएकोछ ।
साधारणसभाले महासचिव दीपकराज भुसालद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदनमाथि छलफल र पारित गर्नेछ । कोषाध्यक्ष आशिक कार्कीद्वारा प्रस्तुत हुने आर्थिक प्रतिवेदनको प्रस्तुतीकरण र अनुमोदन हुनेछ ।
इक्यानको साधारणसभा घोषणा भएसँगै चुनावी अभियान पनि तिब्र बनेको छ । इक्यानका बर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु) र महासचिव दीपकराज भुसालले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् ।




Comments are closed.