कठमाडौं । आसन्न ईक्यान निर्वाचनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका फिलिप कुमार डाँगी क्षेत्रीले आफ्नो उम्मेदवारी स्वेच्छाले फिर्ता लिने निर्णय गरेका छन् । यसै क्रममा सदस्य पदका उम्मेदवार प्रकाश रिजालले पनि आफ्नो उम्मेदवारी फिर्ता दिएका छन् ।
उनीहरूले संस्थागत हित, एकता र सशक्त नेतृत्वलाई प्राथमिकतामा राख्दै अध्यक्ष पदका उम्मेदवार दीपक राज भुसालको टिमलाई समर्थन जनाएका छन् । उनीहरूको निर्णयले ईक्यानभित्र आपसी सद्भाव र व्यावसायिक एकता थप मजबुत हुने अपेक्षा गरिएको छ।
फिलिप कुमार डाँगी क्षेत्रीले ईक्यानको समग्र उन्नति, व्यवसायीहरूको हक–हितको संरक्षण तथा शैक्षिक परामर्श क्षेत्रलाई अझ व्यवस्थित, मर्यादित र सशक्त बनाउने दीर्घकालीन लक्ष्यका साथ आफू अघि बढिरहेको उल्लेख गरेका छन्। वर्तमान अवस्थामा ईक्यानलाई अझ बढी गतिशील, एकताबद्ध र दृढ नेतृत्व आवश्यक रहेको महसुस गर्दै व्यक्तिगत पदभन्दा संस्थागत हित, टिम स्पिरिट र साझा उद्देश्यलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
यसै सन्दर्भमा अध्यक्ष पदका उम्मेदवार दीपक राज भुसालसहित सम्पूर्ण टिमलाई विजयी गराउने तथा एक सशक्त नेतृत्व निर्माणमा योगदान पु¥याउने उद्देश्यले आफूले उपाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिएका छन् । उनले आफ्नो निर्णयले ईक्यानभित्र आपसी सद्भाव, विश्वास र व्यावसायिक एकता अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चुनावी प्रतिस्पर्धाभन्दा माथि उठेर संस्थागत सुधार, पारदर्शिता र दीर्घकालीन हितका लागि निरन्तर सक्रिय र प्रतिबद्ध रहने स्पष्ट पारेका छन् ।
फिलिप कुमार डाँगी क्षेत्रीले अध्यक्ष पदका उम्मेदवार दीपक राज भुसाल तथा उनको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । साथै, आफ्नो उम्मेदवारीप्रति माया, साथ, समर्थन र शुभेच्छा प्रदान गर्ने सबैप्रति आभार प्रकट गर्दै भविष्यमा औपचारिक पदमा रहे वा नरहे पनि शैक्षिक परामर्श उद्योगप्रतिको आफ्नो प्रतिबद्धता निरन्तर रहने बताएका छन् ।
उपाध्यक्ष पदको उम्मेदवारीका क्रममा प्राप्त फोन कल, सन्देश तथा शुभेच्छाप्रति धन्यवाद दिँदै उनले सबैको विश्वास कहिल्यै निराश नबनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।




Comments are closed.