शैक्षिक परामर्श व्यवसायीको प्रभावशाली संस्था ‘इक्यान’

राधिका ढकाल

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) नेपाली शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा प्रभावशाली, संगठित र भरोसायोग्य छाता संस्थाका रूपमा स्थापित छ । देशभर फैलिएको यसको सञ्जाल, हजारौं विद्यार्थीको भविष्यसँग जोडिएको जिम्मेवारी र अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार भएको पहिचानले इक्यानलाई केवल व्यावसायिक संस्था मात्र नभई नेपाली शैक्षिक भविष्यको मेरुदण्डका रूपमा उभ्याईएको छ । हरेक वर्ष हजारौं नेपाली विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश अध्ययनतर्फ मार्गनिर्देशन गर्दै उनीहरूको सपना साकार पार्न इक्यानका सदस्यहरूले खेलेको भूमिका महत्वपूर्ण रहदै आएको छ ।

शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, उत्तरदायी, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने उद्देश्यसहित स्थापना भएको इक्यानले दुई दशकभन्दा लामो समयदेखि यस क्षेत्रको संस्थागत विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । नेपाल सरकारको नीति नियममा रहेर सञ्चालन हुँदै आएका संस्थाहरूलाई इक्यानले थप अनुशासित बनाउन आफ्नै आचारसंहितामा बाँधेको छ । अर्थात इक्यान सदस्यहरू मर्यादित र अनुशासित भएर नीति नियममा रहेर मात्रै व्यवसाय गर्छन् भन्ने मान्यता स्थापित गर्न इक्यानले अग्रणी भूमिका खेलेको छ ।
अव्यवस्थित, असुरक्षित र अनौपचारिक अवस्थामा रहेको शैक्षिक परामर्श व्यवसायलाई विधिसम्मत, जिम्मेवार र व्यवस्थित बनाउने कार्यमा इक्यानको योगदान ऐतिहासिक मानिन्छ । यही निरन्तर प्रयासका कारण आज शैक्षिक परामर्श व्यवसाय राष्ट्रको शिक्षा प्रणाली र मानव–पूँजी विकासको महत्वपूर्ण अंगका रूपमा स्थापित भएको छ ।

सकेसम्म नेपाली विद्यार्थीलाई नेपालमै राख्नुपर्छ भनेर इक्यानले ‘स्टडी इन नेपाल’ अभियानसमेत सञ्चालन गरिसकेको छ । इक्यान अध्यक्ष शेषराज भट्टराई भन्छन्, ‘हाम्रो चाहना पनि नेपाली विद्यार्थी सकेसम्म नेपालमै अध्ययन गरुन् भन्ने हो ।’ सुन्दर भविष्यको चाहना सहित विदेश जाने विद्यार्थीलाई सही गन्तव्य छनोटमा सहयोग गर्नुपर्ने र परामर्श दिनुपर्ने आफूहरूको दायित्व रहेको उनले बताए ।

परामर्श व्यवसाय विद्यार्थीको भविष्यसँग जोडिएकाले इक्यान सदस्यहरू यो पेशाप्रति संवेदनशील रहेको उनले बताए । ‘देशभरका इक्यान सदस्यहरू आफ्नो जिम्मेवारीप्रति सचेत र संवेदनशील रहेको पाएका छौं,’ उनले भने । भट्टरार्ईको कार्यकालमा इक्यानको शाखा ६ बाट बढेर ९ वटा पुगेको छ । ‘हामीले देशभरका व्यवसायीलाई समेटेर संस्थालाई थप बलियो र सशक्त बनाएका छौं,’ उनले भने ।

इक्यानका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु) ले सदस्य संस्थाहरूको व्यावसायिक हक–अधिकारलाई इक्यानले केन्द्रमा राखेर काम गरिरहेको बताउँछन् । ‘इक्यानको वास्तविक शक्ति यसको सदस्य संस्थाहरू हुन् । सदस्यहरूको व्यावसायिक सुरक्षा, प्रतिस्पर्धात्मक क्षमता र अन्तर्राष्ट्रिय विश्वसनीयता सुनिश्चित नगरी संस्था बलियो हुन सक्दैन । हामी सदस्यहरूलाई बलियो बनाउँदै इक्यानलाई पनि थप बलियो बनाउने अभियानमा निरन्तर जुटेका छौं ।’

इक्यानले आफ्ना सदस्य संस्थाहरूलाई आचारसंहिता, व्यावसायिक मापदण्ड र सेवा–संस्कृतिमा बाँध्दै आएको छ । विद्यार्थी ठगी नियन्त्रण, गलत सूचना निराकरण, अवैध दलालविरुद्ध सचेतना अभियान तथा सरकारसँग सहकार्य गर्दै सुरक्षात्मक नीति निर्माणमा इक्यानको सक्रियता निरन्तर रहँदै आएको इक्यानका महासचिव दीपकराज भुसाल बताउँछन् ।

इक्यानलाई सबल बनाउने प्रमुख आधार भनेको यसको सुदृढ संरचना, जिम्मेवार नेतृत्व प्रणाली र सदस्य–केन्द्रित कार्यसंस्कृति हो । देशभर फैलिएको इक्यानको सञ्जालले काठमाडौं देखि सुदूर क्षेत्रसम्म शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग गरेको छ । अन्तर्राष्ट्रिय विश्वविद्यालय, शैक्षिक संस्थान र कूटनीतिक नियोगसँगको संस्थागत सम्बन्धले नेपाली विद्यार्थीलाई विश्वका प्रमुख अध्ययन गन्तव्यसम्म सहज पहुँच दिलाएको छ ।

कोषाध्यक्ष आशिक कार्कीले आर्थिक अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर बर्तमान कार्यसमितिले काम गरिरहेको बताउँछन् । ‘आर्थिक कारोबार स्पष्ट, उत्तरदायी र लेखापरीक्षणमैत्री हुनुपर्छ । आर्थिक पारदर्शिता नभएसम्म कुनै पनि संस्था विश्वसनीय बन्न सक्दैन,’ उनले भने, ‘हामीले आर्थिक पारदर्शितालाई सधैं प्राथमिकतामा राख्ने गरेका छौं ।’

किन विदेश जान चाहन्छन् विद्यार्थी ?

नेपाली विद्यार्थी सुन्दर भविष्यको परिकल्पनासहित विदेश जान चाहन्छन् । प्लस टु उत्तीर्ण गरेपछि उनीहरू विदेश जानका लागि प्रक्रिया सुरुवात गर्न चाहन्छन् । पछिल्लो समय स्नातक अध्ययनमा विद्यार्थी घट्नुको मुख्य कारण पनि नेपाली विद्यार्थीको बढ्दो विदेश मोह नै हो । उच्च शिक्षा अध्ययनका लागि विदेश जानु पूर्व शिक्षा मन्त्रालयबाट विद्यार्थीले एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) लिनुपर्छ । एनओसी लिने विद्यार्थीको संख्याले पनि स्पष्ट पार्छ विद्यार्थीको विदेश मोह बढ्दो छ । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा विदेश पढ्न जानका लागि १ लाख २० हजार ८८८ नेपालीले एनओसी लिएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा १ लाख १२ हजार ९६८ जना नेपालीले एनओसी लिएका थिए । अर्थात हरेक वर्ष एनओसी लिने विद्यार्थीको संख्या बढ्दो छ ।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी सकेसम्म विद्यार्थीलाई स्वदेशमै अध्ययनको वातावरण तय गर्नुपर्ने बताउँछन् । विदेश जानैपर्ने अवस्थामा विद्यार्थी र अभिभावकलाई सत्य तथ्य र सही परामर्श आवश्यक पर्ने र त्यसका लागि परामर्श व्यवसायीहरूले सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ छ । इक्यान जस्ता संस्थाहरूले पनि स्वदेशकै शिक्षालाई प्राथमिकतामा राख्न विद्यार्थीलाई प्रोत्साहन गर्नुपर्ने बताउँछन् । इक्यान अध्यक्ष शेषराज भट्टराई पनि आफूहरूले स्वदेशकै शिक्षालाई प्राथमिकतामा राखेपनि विद्यार्थीको विदेश जाने चाहना बढ्दो क्रममा रहेको बताउँछन् । जो विद्यार्थी विदेश गएर उच्च शिक्षा अध्ययन गर्छन् त्यसपछि स्वदेशमै फर्किनका लागि पनि प्रोत्साहनको खाँचो रहेको उनको भनाइ छ । ‘विदेश गएर पढ्नु र अन्तर्राष्ट्रिय रुपमा आफूलाई प्रतिस्पर्धी जनशक्ति तय गर्नु नराम्रो होइन,’ उनी भन्छन्, ‘विदेशमा सिकेको सिप र ज्ञानलाई नेपालमै प्रयोग गर्नका लागि अध्ययन पछि नेपाल आउने वातावरण पनि बनाउन जरुरी छ ।’ यसका लागि सरकारले लिने नीति सही हुनुपर्ने र देशमा काम गर्ने वातावरण र भविष्यको ज्ञारेन्टी हुनुपर्ने उनी बताउँछन् ।

 

You might also like

Comments are closed.