दुग्ध क्षेत्रको समस्या समाधान गरौं (सम्पादकीय)

नेपालको अर्थतन्त्र आयातमुखी छ । नेपाललाई कृषि प्रधान देश भनिए पनि प्राय कृषि जन्य उत्पादन नै आयात गर्नुपर्ने बाध्यता हामीलाई छ । नेपालको कृषि क्षेत्र मध्य डेरीलाई महत्वपूर्ण क्षेत्र मानिन्छ । दूध र दुग्धजन्य उत्पादनसँग सम्बन्धित यो व्यवसायले भने नेपालमा धेरै फड्को मारेको छ । नेपाल दूध र दुग्धजन्य पदार्थमा लगभग आत्मनिर्भर नजिक पुगिसकेको छ । सिजनमा दूध उत्पादन बढी हुँदा पाउडर, बटर, छुर्पी, चिज लगायतका प्रडक्ट बनाउने गरिएको छ । अहिले दूधबाट बनेका पाउडर, बटर, चिज, छुर्पी लगायतका प्रडक्टहरुको स्टक बढी भएको व्यवसायीको भनाइ छ । पाउडर र बटर मात्रै ५ अर्ब रुपैयाँ भन्दा बढीको स्टक रहेको व्यवसायीहरु बताउँछन् ।

पछिल्लो समयमा दूध उत्पादन बढेको र खपत कम भएको अनुमान गर्न सकिन्छ । दूधमा मूल्य बृद्धि हुँदा र आर्थिक क्षेत्रमा मन्दी देखिएकाले पनि दूधको माग बिगतको तुलनामा घटेको हो । नेपालबाट चिज र छुर्पीले अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान लिएको थियो । पछिल्लो समय मूल्य बृद्धिले ती प्रडक्टले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा उत्पादन भएर पनि निर्यात कमजोर रहेको देखिन्छ । जसले गर्दा कतिपय उद्योगीहरु पलायनको अवस्थामा छन् ।

दुग्ध व्यवसायसँग किसान, सहकारी, डेरी उद्योगी र उपभोक्ताहरु प्रत्यक्ष जोडिएका छन् । अधिकांश दूध निर्वाहमुखी पशुपालनबाट बजारमा आएको देखिन्छ । नेपाल दूधमा आत्मनिर्भर नजिक पुगिसक्दा पनि अपेक्षा अनुसार पशुपालनको व्यावसायिक विकास अझै भइसकेको छैन । अब व्यावसायिक पशुपालनमा जोड दिन जरुरी छ ।

उपभोक्ताले स्वस्थ र गुणस्तरीय दूध सेवन गर्न पाउनुपर्छ । किसान र व्यवसायीले उपभोक्ताको अधिकारमाथि खेलवाड नगरी गुणस्तरीय दूध बजारमा पठाउनुपर्छ ।

हरेक व्यवसायमा कुनै न कुनै समस्याहरु हुन्छन् । डेरी क्षेत्रमा आबद्ध किसानदेखि ठूला उद्योगीसम्मले पनि धेरै समस्याहरु भोगिरहेका छन् । ती विविध समस्या समाधानका लागि सरकार लगायत सरोकारवाला निकायहरुको विशेष ध्यान जान जरुरी छ ।

 

डेरी क्षेत्रमा नेपालमा विभिन्न संघसंस्थाहरु सक्रिय छन् । ती संस्थाहरु मध्ये नेपाल डेरी एसोसिएसन एउटा सशक्त संस्था हो । यो संस्थाले स्थापनाको २५ औं वर्ष पुरा गरेको छ । एसोसिएसनले देशभर छरिएर रहेका घरेलु, साना, मझौला तथा ठूला डेरी व्यवसायीलाई समेटेको छ । रजत जयन्तीसँगै संस्थाको गतिविधि आगामी दिनमा अझै सशक्त र रचनात्मक तथा किसान, उद्योगीदेखि उपभोक्ताहरुको हितमा केन्द्रित होस् भन्ने शुभकामना ।

You might also like

Comments are closed.