काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ ।
गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ पदका लागि निर्वाचन सम्पन्न भएको थियो। शपथग्रहण कार्यक्रम नारायणप्रसाद दाहाल ले नेपालको संविधानको धारा ८६ को उपधारा (२) बमोजिम गराउनुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।
शपथग्रहण कार्यक्रममा सहभागी हुन सदस्यहरूले आफ्नो पहिचान झल्कने पोशाकमा उपस्थित हुनुपर्नेछ । साथै, निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले कानुनअनुसार शपथको व्यहोरा आफ्नै मातृभाषामा अनुवाद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको सचिवालयले जनाएको छ ।
निर्वाचन आयोग का अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएका छन् । मधेश प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन् ।
त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन् भने कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित भएका छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन् ।



Comments are closed.