निर्वाचनका लागि आजदेखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिने

काठमाडौं । यही फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका मतदान केन्द्रहरूमा कर्मचारी र सुरक्षाकर्मी परिचालन गर्न सुरु गरेको छ । आयोगले यातायातको सुविधा भएका स्थानका मतदान केन्द्रमा सोमबार अपराह्नसम्म अनिवार्य पुग्न सबै कर्मचारीहरूलाई निर्देशन दिएको छ ।

दुर्गम क्षेत्रमा टोली पुगिसकेको सुदूरपश्चिम र कर्णाली जस्ता सडकको सहज पहुँच नभएका विकट क्षेत्रका करिब ३ सय मतदान केन्द्रहरूमा सुरक्षाकर्मीसहितको टोली केही दिनअघि नै पुगिसकेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबारसम्ममा नै ती क्षेत्रमा कर्मचारीहरू पुगेको रिपोर्ट प्राप्त भइसकेको थियो तुलनात्मक रूपमा सुगम र तराईका क्षेत्रमा भने सोमबार साँझसम्म सबै कर्मचारी पुगिसक्ने आयोगको भनाइ छ ।

मतदान केन्द्रमा पुगेपछि मतदान अधिकृतहरूले तत्कालै केही महत्वपूर्ण कामहरू सम्पन्न गर्नुपर्नेछ । उनीहरूले मतदान केन्द्रको चारकिल्ला तोकेर स्पष्ट देखिने गरी सूचना टाँस्नुपर्ने र निर्वाचन प्रचारप्रसारमा रोक लगाइएको जानकारी गराउनुपर्नेछ । यसका साथै मतदान प्रक्रियालाई व्यवस्थित बनाउन उनीहरूले तत्कालै सर्वपक्षीय बैठक आह्वान गर्नुपर्ने व्यवस्था रहेको छ ।

निर्वाचन सामग्री र मतपत्रको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको छ । आयोग र प्रहरी प्रधान कार्यालयले मतदान अधिकृत र सिलबन्दी गरिएका सामग्रीहरूलाई २४सै घण्टा कडा निगरानीमा राख्न निर्देशन दिएका छन् । मतदान अधिकृतले सुरक्षाकर्मीको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालयबाट सामग्रीहरू बुझ्ने गर्दछन् ।

कार्यविधि अनुसार एउटा मतदान केन्द्रमा बढीमा एक हजार मतदाता रहने व्यवस्था छ। यदि मतदाता संख्या धेरै भएमा एउटै स्थलमा ’क’, ’ख’ वा ’ग’ गरी अलग केन्द्र तोकिने भए पनि एउटै स्थलमा सातवटा भन्दा बढी केन्द्र राख्न पाइने छैन ।

निर्वाचन सम्पन्न भएपछि सबै दलका प्रतिनिधिको उपस्थितिमा मतपेटिका सिलबन्दी गरी मुचुल्का तयार पारिनेछ। मतदान अधिकृतले ती मतपेटिका र सामग्रीहरू निर्वाचन अधिकृतको कार्यालयमा बुझाएपछि मात्रै खटिएका कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुने आयोगले स्पष्ट पारेको छ ।

You might also like

Comments are closed.