काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य देश दौडाहामा रहेका बेला दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
शाक्य चितवनको विद्युत आपूर्तिको अवस्था बुझ्न सोमबार त्यहाँ पुगेका थिए भने मंगलबार जनकपुर पुगेका छन् । उता, काठमाडौंमा दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको अगुवाईमा कर्मचारीहरू प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि कालोपट्टी बाँधेर धर्नामा बसेका छन् ।
उनीहरूले पटक–पटक मासिक ज्यालादारीमा नियुक्ति दिने सहमति र सञ्चालक समितिको निर्णय कार्यान्वयन नभएको गुनासो गर्दै आन्दोलन चर्काएका हुन् ।
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको २०७८ साउन ३१ गते बसेको ९४९औं बैठकमा दैनिक ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा रूपान्तरण गर्ने निर्णय भएपनि हालसम्म कार्यान्वयन नभएको आन्दोलनकारीहरूको आरोप छ ।
संघर्ष समितिका सदस्य तथा हेलम्बु वितरण केन्द्रमा कार्यरत गणेश प्रसाद खतिवडाले निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै भने, “यदि निर्णय कार्यान्वयन गर्न सकिँदैन भने औपचारिक रूपमा खारेज गरी हामीलाई घर फर्काउनुहोस्। तर सामाजिक सुरक्षा कोषमा भने हामीलाई आबद्ध गरिनुपर्छ।”
खतिवडाले नियुक्तिपत्रसहित उचित व्यवस्थापन गरिएमा आन्दोलन फिर्ता लिने संकेत दिँदै, नत्र अनिश्चितकालीन धर्नामा जाने चेतावनी पनि दिएका छन्।
उनका अनुसार, “हामी वार कि पार युद्धको अवस्थामा छौं। निर्णय कार्यान्वयन नगर्ने हो भने प्राधिकरणले स्पष्ट भनिदिनुपर्छ, नत्र हामी हाम्रो हकको लागि अन्तिमसम्म लड्नेछौं।”
आन्दोलनरत कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म काम ठप्प पार्दै अनिश्चितकालीन धर्ना जारी राख्ने अडान लिएका छन् । प्राधिकरण व्यवस्थापनले तत्काल समाधान खोज्नेतर्फ पहल नगरे आन्दोलन विस्तारित हुने संकेत देखिएको छ।
Comments are closed.