काठमाडौं । विद्युत् नियमन आयोगले कार्यालय सञ्चालनका लागि उपयुक्त घर भाडामा लिन चाहेकाे सूचना जारी गरेको छ । आयोगले २०८१ कार्तिक १७ गते सार्वजनिक गरेको सूचनामा काठमाडौं उपत्यकाभित्र अवस्थित कम्तीमा १५ कोठा वा सो सरहका कक्षासहितको आवासीय वा गैर–आवासीय भवन भाडामा आवश्यक रहेको उल्लेख गरिएको छ ।
आयोगले शान्त वातावरण, सहज यातायात पहुँच, पर्याप्त पार्किङ, बैठक कक्ष, विद्युत्, इन्टरनेट र सुरक्षा व्यवस्थासहितको घरलाई प्राथमिकता दिने जनाएको छ । साथै, भवन २० फूट सडकमा पर्ने तथा ८०० देखि १२०० वर्गफुटको कक्ष क्षमता उपलब्ध हुनुपर्ने आयोगले स्पष्ट पारेको छ ।
सूचनामा इच्छुक घरधनी वा संस्थाले भवनकाे सम्पूर्ण विवरण, नक्सा, तस्बिर, क्षेत्रफल, भाडादर प्रस्ताव तथा सम्बन्धित कागजातसहित ७ दिनभित्र प्रस्ताव पेश गर्नुपर्ने उल्लेख गरिएको छ । आयोगले प्राप्त प्रस्तावहरूको मूल्यांकन तथा भवन निरीक्षण गरी आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि भाडा सम्झौता गर्ने जनाएको छ ।
आयोगकाे कार्यालय हात्तीसार, काठमाडौंमा रहेको छ र प्रस्ताव त्यहीँ पेस गर्न सकिनेछ । आयोगले पारदर्शी प्रक्रिया अपनाई सुविधासम्पन्न तथा दीर्घकालीन रूपमा कार्यालय सञ्चालनका लागि उपयुक्त भवन छनौट गर्ने प्रतिवद्धता जनाएको छ ।









Comments are closed.