काठमाडौं । नेपालको प्राविधिक शिक्षा र निर्माण क्षेत्रमा ई. कुन्दन शर्माको नाम छोटो समयमा स्थापित भएको छ । सिटीजन सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक, सिटीजन प्राविधिक शिक्षालय र बौद्धनाथ निर्माण सेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत भएर उनले व्यावसायिक क्षेत्रमा काम गरिरहेकी छन् । सानो उमेरमै उनले देखाएको अग्रसरता, अध्ययनमा उत्कृष्टता र व्यवसायमा समर्पणले उनलाई अग्रणी युवा व्यवसायीमा स्थापित गर्न सफल भएको छ ।
नेपालकै पहिलो सर्जिकल रोबोटिक्स इन्जिनियर
कुन्दनले चीनको प्रतिष्ठित नान्जिङ युनिभर्सिटी अफ एरोनटिक्स एण्ड एस्ट्रोनटिक्सबाट मेकानिकल इन्जिनियरिङमा स्नातक तथा हार्बिन इन्जिनियरिङ युनिभर्सिटीबाट मेकाट्रोनिक्समा स्नातकोत्तर तहसम्मको अध्ययन पूर्ण गरेकी छन् । दुबै डिग्री छात्रवृत्तिमा अध्ययन गर्दै उनले नेपालमै पहिलो महिला मेकाट्रोनिक्स इन्जिनियर हुने गर्विलो उपाधि हासिल गरेकी छन् । थेसिसमा उनले अटोमेसन र रोबोटिक प्रविधिमा केन्द्रित अनुसन्धान पनि गरिसकेकी छन् ।
जिसान हेभी इन्डष्ट्रिजको आधिकारिक बिक्रेता
कुन्दनको नेतृत्वमा सिटीजन सप्लायर्सले हेभी तथा कन्स्ट्रक्सन उपकरण र स्पेयर्स पाट्र्सको व्यापार गरिरहेको छ । २०१५ देखि चीनको जिसान हेभी इन्डष्ट्रिजको लागि नेपालमा एकमात्र आधिकारिक बिक्रेता भएर यो कम्पनीले काम गर्दै आइरहेको छ । २०१४ मा सुरु भएको यो कम्पनीले २०१५ देखि हाइड्रोलिक ब्रेकर लगायतका सामग्री नेपालमा बिक्रीवितरण गर्दै आएको छ । यो प्रडक्ट अहिले नेपालमा निकै लोकप्रिय छ ।
कम्पनीले नेपाली बजारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको कुन्दन बताउँछिन् । चिनिया ब्रान्डका ब्रेकर तथा अन्य मेसिनरी पार्ट पुर्जा नेपालमा सुपथ मूल्यमा बिक्री भइरहेको उनको भनाइ छ । नेपाली बजारमा सो सामग्रीका गुणस्तरको स्तर, यथार्थ मूल्य, उत्पादन प्रकृया लगायत विषयका बारेमा जानकारी गराउन नेपाली व्यवसायीलाई इन्जिनियर कुन्दन र सिटिजन सप्लायर्सले चीनको उद्योग नै भ्रमण गराउदै आइरहेको छ । बिक्रीपछि सेवालाई प्राथमिकता दिँदै सेवा प्रदान भइरहेको उनको भनाइ छ । एक वर्षको निःशुल्क सर्भिस, गुणस्तरीय स्पेयर पार्टस् र कुशल सेवा प्रणालीले कम्पनीलाई यो क्षेत्रमा अग्रणी बनाएको छ ।
हेभी अपरेटर उत्पादनका लागि प्राविधिक शिक्षालय
सिटीजन प्राविधिक शिक्षालयमार्फत मेकानिकल तालिम तथा हेभी इक्विपमेन्ट अपरेटर प्रशिक्षण प्रदान हुँदै आइरहेको छ । हालसम्म एक हजारभन्दा बढी प्रशिक्षार्थी उत्पादन भइसकेका छन् । जसमा पुरूषका साथै महिला सहभागिता पनि छ । ५० प्रतिशत भन्दा बढी सहभागीलाई नेपालका मध्यम तथा उच्च वर्गका निर्माण कम्पनी साथै नेपालका लगभग सबै चीनियाँ परियोजना लगायतका विभिन्न विदेशी निर्माण कम्पनीमा रोजगारीको अवसर प्राप्त भएको कुन्दन बताउँछिन् । एक महिने कोर्समा छात्रवृत्तिको सुविधा पनि उपलब्ध छ । महिला अपरेटर गुरु उत्पादनमा समेत अग्रणी पहिचान बनाउन सफल यो शिक्षालयले स्थानीय तहसँग सहकार्यमा निःशुल्क तालिम पनि सञ्चालन गर्दै आइरहेको छ ।
निर्माण क्षेत्रमा सशक्त उपस्थिति
बौद्धनाथ निर्माण सेवा प्रा.लि.मार्फत यो समूहले मेसिनरी तथा उपकरण भाडामा दिने काम कम्पनीले गर्दै आइरहेको छ । फास्ट ट्रयाक, भेरी बबइ, बुटवल–नारायणगढ, मध्य भोटेकोशी, मरिन डाइभर्सन जस्ता ठूला आयोजना र चिनियाँ प्रोजेक्टमा कम्पनीका क्रेन, लोडर, एक्साभेटर, रोलर लगायतका हेभी इक्विपमेन्ट प्रयोग भइरहेका छन् ।
पारिवारिक प्रेरणा
यो समूहका संस्थापक उनका पिता उमाकान्त शर्मा हुन् । उनले सरकारी सेवाबाट अवकाश पश्चात् २०१४ मा यो व्यवसाय सुरु गरेका हुन् । बुबाले सुरु गरेको व्यवसायलाई आधुनिकता प्रदान गर्दै कुन्दनले २०१९ देखि व्यावसायिक नेतृत्व सम्हाल्दै आएकी हुन् । विदेशमा राम्रो अवसर हुँदाहुँदै पनि स्वदेशमै केही गर्नुपर्ने सोचले मास्टर्स पढाइ सम्पन्न गर्ने बित्तिकै नेपाल फर्केकी कुन्दन आज व्यावसायिक मोर्चामा उदाहरणीय भूमिका निर्वाह गरिरहेकी छन् । बुबा लगायत परिवारकै प्रेरणाबाट आफ्नो व्यावसायिक यात्रा अगाडि बढेको कुन्दन बताउँछिन् ।

नेपाल र चीनका व्यवसायीसँग पुलको काम
चीनमा ७ वर्षसम्म बसेर पढेको र कामसमेत गरेको अनुभव कुन्दनसँग छ । सोही अनुभवले उनलाई चीनसँग जोड्न सहज भएको छ । उनले चिनियाँ भाषामा ‘एचएसके फोर’ स्तर उतीर्ण गरेकी छन् । यही सीपका कारण उनले चीनसँगको व्यापार अझ सहज बनाएकी छन् । उनले नेपालका अन्य व्यवसायीलाई पनि चीनसँग जोड्ने पुलको भूमिका खेल्दै आएकी छन् । चिनियाँ भाषामा दक्षताका कारण उनी नेपाल–चीन व्यापार सम्बन्ध विस्तारमा पनि काम गर्दै आइरहेकी छन् ।
इभीमा काम गर्ने तयारी
निर्माण क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल यो कम्पनीले अबका दिनमा विद्युतीय सवारीमा पनि काम गर्ने तयारी गरेको छ । विशेषगरी कमर्सियल इभी र चार्जिङ स्टेसन बिस्तारमा काम गर्ने योजना रहेको उनले सुनाइन् ।
व्यक्तिगत रुची
अध्ययन तथा भ्रमण उनको विशेष रुचीको क्षेत्र हो । कुन्दनले चीन, भारत, यूके, आयरल्याण्ड, फ्रान्स, इटाली, स्वीजरल्याण्ड, अष्ट्रिया, बंगलादेश, थाइल्याण्ड, मलेसिया, सिंगापुर लगायत देशको भ्रमण गरिसकेकी छन् । नयाँ नयाँ विषय अध्ययन गर्न उनलाई रुची लाग्छ । गायन र नृत्य पनि उनको रुचीको क्षेत्र हो ।
विदेशी प्रोजेक्टमा नेपाली व्यवसायीका प्रडक्ट प्रयोग गर्न सुझाव
नेपालमा सञ्चालन भइरहेका ठूला परियोजनामा विदेशी कम्पनीहरुले निर्माणको काम गरिरहेका हुन्छन् । नेपालमा हुने ठूला विदेशी प्रोजेक्टमा प्रयोग हुने उपकरणहरु नेपाली व्यवसायीबाटै भाडामा लिएर प्रयोग गरिनुपर्ने उनको माग छ । नेपालमा नपाइने उपकरण विदेशबाट ल्याउने र यहाँ उपलब्ध सबै उपकरण नेपाली व्यवसायीबाट भाडामा लिएर प्रयोग हुनुपर्ने कुन्दन बताउँछिन् ।
व्यवसायमा चुनौती र सम्भावना
सानै उमेरदेखि व्यवसायमा लागेकी कुन्दनले नेपालमा हेभी इक्विपमेन्ट व्यवसाय चलाउँदा अनेकौं चुनौतीहरूको सामना गर्नु परेको बताउँछिन् । ‘महिला भएर यो क्षेत्र रोज्नु र अगाडि बढ्नु सजिलो थिएन, तर आत्मविश्वास, पारिवारिक समर्थन र प्राविधिक दक्षता मेरा बलिया आधार भए,’ उनी भन्छिन्, ‘चुनौतीहरुको सामना गर्दै व्यवसायको सफल यात्रा अगाडि बढाउन पाउँदा गौरव महसुस हुन्छ ।’ कोभिड महामारी र आर्थिक मन्दीले व्यवसायमा केही असर पु¥याए पनि अब नेपालमा निर्माण गतिविधि बढ्न थालेको, विदेशी लगानी आउन थालेको र प्राविधिक शिक्षा लिने युवाको संख्या बढ्दै गएकाले आगामी दिन उज्यालो देखिएको उनको भनाइ छ ।
Comments are closed.