पोखरा । डिजिटल भुक्तानीका लागि नेपालको अग्रणी प्लेटफर्म इसेवाका बिजनेश डेभलपमेन्ट हेड आशिष गौतमले सहकारीहरु र माइक्रो फाइनान्सहरु अबको दिनमा प्रविधिमैत्री बन्न आवश्यक रहेको बताएका छन् । वित्तीय सेवा प्रदान गर्ने सबै संस्थाहरु प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिदै उनले बैंकहरुले जस्तै गरी माइक्रोफाइनान्स र सहकारीले पनि प्रविधिमैत्री सेवामा जोडदिनुपर्ने धारणा राखे । इसेवा पोखरा ब्रान्चले सहकारी र माइक्रोफाइनान्स प्रतिनिधिसँग गरेको अन्तरक्रिया बोल्दै गौतमले डिजिटल कारोबारका लागि इसेवाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘अबको दिनमा नगद तथा चेकको कारोबार भन्दा डिजिटल कारोबारमा जोड दिनुपर्छ,’ गौतमले भने, ‘तपाईंहरु डिजिटल कारोबारलाई प्राथमिकतामा राख्नुहोस् । हामी तपाईंहरुसँग सहकार्य गर्न तयार छौं ।’ सहकारी एप्स, फोन-पे, क्यु आर कोडलगायतका सेवाका लागि सहकारी र माइक्रोफाइनान्ससँग इसेवाले सहकार्य गर्ने गौतमले बताए । सहकारीहरु इसेवाको फोन-पे नेटवर्कमा आबद्धता हुनेक्रम बढेको समेत उनले जानकारी दिए । ‘पछिल्लो समय प्राय सबै क्षेत्रमा डिजिटल भुक्तानी प्राथमिकतामा पर्ने गरेको छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै इसेवाका पोखरा ब्रान्च इन्चार्ज बिनोद बोहोराले पोखरा तथा आसपासका सहकारी र माइक्रोफाइनान्ससँग सहकार्य आफूहरु तयार रहेको बताए । ‘यस क्षेत्रका सहकारी र माइक्रोफाइनान्सहरुलाई डिजिटल भुक्तानीमा सहयोग गर्न हामीहरु तयार छौं,’ उनले भने ।
इसेवामार्फत बिल भुक्तानी, मोबाइल रिचार्ज, इन्टरनेट बिल तिर्न, एयरलाइन्स र बस टिकट, चलचित्र टिकट, बैंक स्थानान्तरण, स्क्यान र भुक्तानी लगायतका डिजिटल भुक्तानी सेवा लिन सकिन्छ ।
Comments are closed.