काठमाडौं । दशैं पर्वको अवसरमा परम्परागत नगद दक्षिणालाई आधुनिक डिजिटल प्रविधिसँग जोड्दै इ-सेवाले “डिजिटल दक्षिणा सेवा” सुरु गरेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले परिवार, आफन्त र नातेदारलाई सजिलै मोबाइलमार्फत दक्षिणा पठाउन सक्नेछन् ।
इ-सेवाका अनुसार अब प्रयोगकर्ताले एप खोलेर ‘Dashain Dakshina’ विकल्प रोजी लाभग्राहीको इ(सेवा आईडीमा रकम पठाउन सक्नेछन् । पठाइएको रकम तुरुन्तै प्राप्त हुनेछ र दक्षिणा दिने–लिने परम्परागत संस्कारलाई डिजिटल माध्यमले अझ सहज र सुरक्षित बनाउने उद्देश्य लिइएको छ ।
डिजिटल दक्षिणाले धेरै सुविधा पुर्याउने इ-सेवाले जनाएको छ । नगदको झन्झट हट्ने, हराउने वा नष्ट हुने सम्भावना कम हुने, र दूरी टाढा भए पनि सजिलै दक्षिणा पठाउन सकिने यसको प्रमुख फाइदा हुन् । साथै, दशैंमा हुने भौतिक सम्पर्क र नगद वितरणका क्रममा हुने भीडभाडलाई समेत यसले कम गर्ने अपेक्षा गरिएको छ।
परम्परागत संस्कृतिको सम्मान गर्दै आधुनिक प्रविधि प्रयोग गर्ने उद्देश्यले ल्याइएको यो सेवाले विशेषगरी विदेशमा रहेका नेपाली वा टाढा बस्ने आफन्तका लागि दक्षिणा पठाउन सजिलो हुने बताइएको छ। इ- -सेवाले यसलाई “सुरक्षित, सहज र समयानुकूल विकल्प” भन्दै सबैलाई प्रयोग गर्न आग्रह गरेको छ।
दशैंजस्ता ठूला पर्वहरूमा बालबालिकादेखि बृद्धबृद्धासम्म सबैले दक्षिणा पाउने परम्परा रहिआएको छ । अब भने नगद होइन, मोबाइलमा डिजिटल दक्षिणा उपलब्ध हुने भएकाले यसले नेपाली समाजमा नयाँ डिजिटल संस्कृतिको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।
Comments are closed.