इटर्नल साउण्ड्सको महत्वाकांक्षी ‘जुनकिरी’ परियोजना: नेपाली संगीतलाई विश्वव्यापी पहिचान दिने लक्ष्य

काठमाडौं । गुणस्तरीय र कालजयी संगीत निर्माणको लक्ष्यसहित स्थापित कोलकातास्थित ‘इटर्नल साउण्ड्स LLP’ ले नेपाली संगीत क्षेत्रमा एक नौलो प्रयोगसहित आफ्नो उपस्थिति जनाउने भएको छ। कम्पनीले नेपाली र अंग्रेजी गीतहरूको सङ्ग्रह “जुनकिरी” आगामी सन् २०२५ मे ७ मा काठमाडौंमा एक विशेष कार्यक्रमबीच सार्वजनिक गर्ने घोषणा गरेको हो।

“जुनकिरी” परियोजना प्रख्यात संगीतकर्मी सुमन थापाद्वारा तयार पारिएको हो। यस एल्बमको मुख्य विशेषता भनेकै नेपाली लोक बाजाहरू जस्तै बाँसुरी र सारङ्गीको मौलिक धुनलाई पश्चिमी शैलीको गीत लेखन र संगीतसँग कलात्मक ढंगले मिश्रण गर्नु हो। यस परियोजनामा विभिन्न प्रतिष्ठित संगीतकारहरूले संगीत संयोजनमा सहकार्य गरेका छन्, जसले गीतहरूलाई अझ परिष्कृत बनाएको छ। एल्बममा समावेश “मेरो आवाज” गीतले प्रियजन गुमाउँदाको वियोगान्त भाव बोकेको छ भने “भ्याली अफ सनशाइन” गीतले मृत्युसँगको दार्शनिक संवाद र सुन्दर भविष्यको आशालाई प्रस्तुत गर्दछ।

१ लाख २० हजारभन्दा बढी सब्सक्राइबरहरू रहेको इटर्नल साउण्ड्सले उत्कृष्ट प्रतिभा सधैं जीवित रहने विश्वास राख्दछ। आजको transitory संगीतको दौडभन्दा फरक, कम्पनीले स्थायी र अर्थपूर्ण संगीत सिर्जनामा आफूलाई केन्द्रित गरेको छ। यसअघि नै इटर्नल साउण्ड्सले हरीहरन, शुभा मुद्गल, अरुणा सायराम, राशिद खान, सोनु निगम, शान, कविता सेठ, महालक्ष्मी अय्यर, पं. विश्वमोहन भट्ट, पं. रोनु मजुमदार, कौशिकी चक्रवर्ती, तौफिक कुरेशी जस्ता भारतका दिग्गज तथा उदीयमान कलाकारहरूसँग सहकार्य गरिसकेको छ।

कम्पनीको भविष्यको योजना अझ महत्वाकांक्षी छ। जोन म्याकलफलिन, नोरा जोन्स, रिकी केज, अनुष्का शंकर, ग्रेग एलिस, स्टिभ स्मिथ जस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूसँग सहकार्य गरी भारतबाट ग्रामी पुरस्कार योग्य प्रस्तुतिहरू सिर्जना गर्ने र विश्व संगीत क्षेत्रमा अमिट छाप छोड्ने लक्ष्य इटर्नल साउण्ड्सले राखेको छ।

इटर्नल साउण्ड्सका मुख्य साझेदारहरूमा वित्तीय बजार विज्ञ उत्सव परेख, उद्योगपति मयंक जालान, राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्माता गौरांग जालान, र संगीत गुरु  बिक्रम घोष रहेका छन् । यी चारैजना संगीतप्रेमी हुन् र भारतमा आकर्षक तथा स्थायी संगीतको पुनर्जागरण गर्ने साझा सपना बोकेका छन्।

उनीहरूको यही आन्तरिक लगाव र दृढ विश्वासले कम्पनीलाई अघि बढाएको छ। “आगामी वर्षहरूमा हामी हाम्रा श्रोताहरूलाई उत्कृष्ट मूल्यको संगीत उपहार दिन सक्षम हुनेछौं भन्ने आशा राखेका छौं,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। “जुनकिरी” परियोजनाले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय श्रोतासम्म पुर्याउन एक महत्वपूर्ण कडीको काम गर्ने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.