काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपालमा झन्डै १० हजार थान विद्युतीय कार, जीप तथा भ्यान (ईभी) भित्रिएका छन् । यसले नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण तीव्र गतिमा बढिरहेको देखाउँछ।
भन्सार विभागको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कुल ९ हजार ८५९ वटा चारपाङ्ग्रे ईभी आयात भएका हुन् । यी ईभी आयातका लागि नेपालबाट २३ अर्ब १० करोड ५७ लाख रुपैयाँ बाहिरिएको छ ।
आयातित ईभीमध्ये अधिकांश चीनबाट भित्रिएका छन् । विभागका अनुसार, यस अवधिमा चीनबाट मात्रै ७ हजार ३५३ वटा ईभी नेपाल भित्रिएका छन्, जसले चिनियाँ ईभीको नेपाली बजारमा बलियो पकड रहेको पुष्टि गर्छ । चीनपछि ईभी आयातमा भारत दोस्रो स्थानमा रहेको छ । भारतबाट २ हजार ४११ वटा ईभी नेपाल आएका छन् ।
यसबाहेक, इन्डोनेसिया, दक्षिण कोरिया, जर्मनी, मलेसिया र संयुक्त राज्य अमेरिका जस्ता देशहरूबाट पनि उल्लेख्य संख्यामा ईभी आयात भएको तथ्यांकले देखाउँछ । विशेषगरी, यस अवधिमा चीनबाट ९ वटा अनएसेम्बल्ड (जोडान नगरिएका) ईभी समेत आयात भएको विभागले जनाएको छ ।
विद्युतीय सवारीको बढ्दो आयातसँगै सरकारले राम्रो राजस्व समेत संकलन गरेको छ । विभागका अनुसार, यी ईभी आयातबाट १० महिनाको अवधिमा सरकारलाई १४ अर्ब २५ करोड ११ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।
Comments are closed.