एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा चिराग गोयल

झापा । उद्यमी, लगानीकर्ता तथा समाजसेवी चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।

झापाको बुढाबारे स्थायी घर भएका गोयालको पूर्वी नेपालको प्रमुख वित्तीय संस्थाहरूमध्ये एक एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालक समितिमा प्रवेशलाई उनको फराकिलो व्यावसायिक तथा उद्यमशील अनुभवलाई बैंकिङ क्षेत्रसँग जोड्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । गोयल ग्रुपसँग आबद्ध गोयल लामो समयदेखि उत्पादन, व्यापार, बैंकिङ तथा वित्त, बीमा, रियल इस्टेट, खानी, नवीकरणीय ऊर्जा, कृषि, आतिथ्य तथा निर्माणलगायत विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

व्यवसायसँगै गोयल एक दशकभन्दा बढी समयदेखि सामाजिक तथा मानवीय क्षेत्रमा पनि निरन्तर सक्रिय छन् । सन् २०१५ को भूकम्पपछि ‘हेल्पिङ ह्यान्ड्स नेपाल’मार्फत सुरु भएको उनको सामाजिक यात्रा ‘रोबिन हुड आर्मी नेपाल’ लगायतका विभिन्न पहलहरूसँग सहकार्य गर्दै अघि बढेको हो । जसअन्तर्गत उनले खाद्य सहयोग, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, बाढी राहत परिचालन, कोभिड–१९ प्रतिकार्य र ‘प्रोजेक्ट कुहिरो’ जस्ता अभियानहरूमा स्वयंसेवक, संस्था, व्यावसायिक क्षेत्र तथा समुदायलाई जोड्दै स्रोत परिचालन र प्रत्यक्ष सहयोगमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

युवा नेतृत्व तथा उद्यमशीलताको क्षेत्रमा परिचित अनुहार गोयलले नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ), काठमाडौँको अध्यक्ष बनेर सन् २०२१ देखि २०२३ सम्म सफल नेतृत्व गरिसकेका छन् । साथै, उनी ‘नेपाल सेन्टर फर पोलिटिकल लिडरसिप’ (एनसिपिएल) का सह–संस्थापकसमेत हुन् ।

गोयलको यो नियुक्तिले एक्सेल डेभलपमेन्ट बैंकमा संस्थागत सुशासन र दीर्घकालीन मूल्य सिर्जनालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । यसले नेपालको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्र, वित्तीय संस्था, युवा नेतृत्व र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उनको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ ।

You might also like

Comments are closed.