काठमाडौं । नेपालले आर्थिक वर्ष २०८१/८२ मा भारत र बंगलादेशमा गरी झण्डै १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सफल भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यो तथ्यांक हालसम्मकै उल्लेखनीय उपलब्धि हो, जसले नेपालको ऊर्जा क्षेत्रमा निर्यात क्षमता विस्तार भएको संकेत गर्छ ।
मन्त्रालयले हालै सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार सोही अवधिमा नेपालले करिब १६.९ अर्ब रुपैयाँ बराबरको विद्युत् आयातसमेत गरेको थियो । पछिल्ला वर्षहरूमा नेपालले आन्तरिक विद्युत् उत्पादनमा ध्यान दिँदै आयातमा निर्भरता घटाएको छ ।
ऊर्जा मन्त्री दीपक खड्काले रिपोर्ट सार्वजनिक गर्दै भारतसँग ९४१ मेगावाट विद्युत् निर्यात र १००० मेगावाट आयात गर्ने सहमति भएको बताए । उनका अनुसार वर्षायाममा अधिकतम ८५० मेगावाट विद्युत् भारतमा निर्यात गरिएको थियो भने सुक्खायाममा ६७० मेगावाटसम्म आयात गरिएको छ ।
गत आर्थिक वर्षमा नेपालले २,३३२ गिगावाट घण्टा विद्युत् निर्यात तथा १,७१२ गिगावाट घण्टा विद्युत् आयात गरेको तथ्यांकले नेपाल क्रमशः आत्मनिर्भर बन्दै गएको देखिएको छ ।
अझै उल्लेखनीय कुरा के छ भने, भारत र बंगलादेशसँग भएको त्रिपक्षीय सहमति अनुसार नेपालले पहिलोपटक बंगलादेशमा डलर भुक्तानीमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । यो नेपालको जलविद्युत् क्षेत्रको अन्तर्राष्ट्रिय बजारतर्फको महत्वपूर्ण पाइला मानिएको छ, जसले भावी दिनमा निर्यातको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।
नेपालको समृद्ध भविष्यका लागि ऊर्जा क्षेत्रलाई अझ व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन नीति तथा पूर्वाधारमा थप सुधार आवश्यक रहेको विज्ञहरू बताउँछन् ।
Comments are closed.