काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको हबका रूपमा विकास गर्ने उद्देश्यका साथ सञ्चालित ‘स्टडी इन नेपाल’ अभियानलाई बंगलादेशमा थप विस्तार गरिने भएको छ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका शैक्षिक परामर्श व्यवसायीहरूलाई यस अभियानमा सहकार्य गर्न आग्रह गरेका छन् ।
बंगलादेशमा आयोजित ‘फ्याड क्याब’को १४औँ शिक्षा मेलाको समापन समारोहमा बोल्दै राजदूत भण्डारीले दुई देशबीचको शैक्षिक तथा जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन ‘स्टडी इन नेपाल’ र ‘फ्याड क्याब’को सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे ।
नेपालका कलेज तथा विश्वविद्यालयहरूमा आधुनिक पूर्वाधार र प्रविधि उपलब्ध रहेकाले उच्च शिक्षाका लागि बंगलादेशी विद्यार्थीहरूलाई नेपाल भित्र्याउन सकिने उनको भनाइ थियो ।
कार्यक्रममा दुई दिवसीय मेलामा ८६ वटा स्टल रहेका थिए भने करिब २२ हजार आगन्तुकले अवलोकन गरेका थिए । नेपालका तर्फबाट इक्यानका निबर्तमान अध्यक्ष शेषराज भट्टराई, बर्तमान उपाध्यक्ष विकल्पराज पोखरेलसहित मुकेश धमलाको टोलीले मेलामा सहभागिता जनाउँदै शैक्षिक आदानप्रदानको वातावरण बनाएको पोखरेलले जानकारी दिए ।

हाल करिब २ हजार ७ सय नेपाली विद्यार्थी बंगलादेशमा अध्ययनरत छन् । उनीहरु विशेष गरी चिकित्सा क्षेत्रमा बढी आबद्ध छन् । राजदूत भण्डारीले बंगलादेशका युवाहरूका लागि पनि नेपाल गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउँदै नेपाली दूतावासले यस्ता पहलमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।



Comments are closed.