काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुन, चाँदी तथा हिरासम्बन्धी कर र शुल्क व्यवस्थामा हेरफेर गरेको छ । नयाँ व्यवस्थाअनुसार सुनका गहनामा लाग्दै आएको विलासिता शुल्क र हिरामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा खारेज गरिएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको निरन्तरको पहल र आन्दोलनपछि सरकारले यो निर्णय लिएको भन्दै महासंघले स्वागत गरेको छ ।
नयाँ व्यवस्थाअनुसार मिति २०८२ साल भदौ २ गतेअघि प्रचलित कानुन बमोजिम बिक्री गरिएको सुन तथा सुनका गहनामा लागेको विलासिता शुल्क र हिरा, जवाहरात, रत्न तथा पत्थरमा लागेको भ्याट बिक्रीमा समायोजन नभएको अवस्थामा स्वतः मिनाहा हुने भएको छ । महासंघको आन्दोलनका कारण साउन महिनामा विलासिता शुल्क र हिरामा भ्याट नउठाइएको भएमा सम्बन्धित व्यवसायी वा व्यक्तिले कुनै विवरण वा निवेदन पेश गर्नु नपर्ने महासंघले जनाएको छ ।
सरकारले आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी भन्सार दर र अन्य शुल्कमा समेत परिमार्जन गरेको छ ।
सुन र चाँदी दुवैमा ०.५ प्रतिशत सीप प्रवद्र्धन शुल्क असुल गरिनेछ । नयाँ भन्सार दर सुनमा २०%, चाँदीमा २०% र हिरामा ५% तोकिएको छ । यद्यपि भारतमा १५ प्रतिशत भन्सार दर भएकाले समान गर्न पनि महासंघका अध्यक्ष किसान सुनारले माग गरेका छन् ।
कर खारेजी र बजेटका नयाँ व्यवस्थाहरूलाई नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सकारात्मक रूपमा लिएको छ । वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, भारतीय बजारसँगको प्रतिस्पर्धा तथा हालै भएको भन्सार दर वृद्धिलाई मध्यनजर गर्दै सुन बजारलाई थप व्यवस्थित, प्रतिस्पर्धी र सन्तुलित बनाउन यो व्यवस्थाले सघाउने महासंघको विश्वास छ ।

महासंघका अध्यक्ष सुनारले समग्रमा बजेट राम्रो आएको बताए । सरकार र महासंघबीच सघन छलफलपछि भएका १२ बुँदे सहमतिका अधिकांश बुँदाहरू बजेटमार्फत कार्यान्वयनमा आएको उनको भनाइ छ।
‘सरकारको यो कदम सकारात्मक छ, तर नेपाली बजारलाई पूर्ण प्रतिस्पर्धी बनाउन नेपाल र भारतको भन्सार दर समान हुनुपर्छ भन्ने हाम्रो मुख्य माग कायमै छ,’ उनले भने ।
महासंघले आगामी दिनमा पनि बजार सुधार, व्यवसाय संरक्षण र नीतिगत सहजीकरणका लागि सरकार र सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरिरहने प्रतिबद्धता जनाएको छ । थप प्राविधिक जानकारीका लागि महासंघले आफ्ना सदस्य तथा व्यवसायीहरूलाई महासंघको सचिवालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।







Comments are closed.