भोटेकोशी बाढी प्रभावितको राहत र उद्धारमा जुट्न सुनचाँदी रत्न तथा आभूषण महासंघको अपिल

काठमाडां । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत, उपचार तथा पुनस्र्थापनाका लागि जुट्न नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आवद्ध सम्पूर्ण व्यवसायी, कालिगढ तथा कर्मचारीहरूलाई अपिल गरेको छ ।

छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा अकल्पनीय बाढी आएको र सो बाढी रसुवा हुँदै त्रिशूली नदीको तटीय क्षेत्रतर्फ तीव्र गतिमा अघि बढेकाले नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका आसपासका जिल्लाका बासिन्दालाई उच्च सतर्कता अपनाउन महासंघले आग्रह गरेको छ ।

महासंघका महासचिव निर बहादुर विश्वकर्मा (विमल धमला) द्वारा जारी प्रेस विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता एवं सम्पर्कविहीन नागरिकहरूको यथाशीघ्र खोजी तथा उद्धार गर्न सरकार र सरोकारवालासँग आग्रह गरिएको छ ।

विपद् प्रभावित नागरिकका लागि सक्दो आर्थिक, राहत सामग्री तथा मानवीय सहयोग उपलब्ध गराउने, आ–आफ्नो स्थानबाट सहयोग संकलन गरी राहत अभियानलाई प्रभावकारी बनाउने तथा प्रभावित क्षेत्रका व्यवसायी, कालिगढ, कर्मचारी तथा सर्वसाधारणको अवस्था संकलन गरी आवश्यक सहयोगका लागि महासंघसँग समन्वय गर्ने विज्ञप्तिमा उल्लेख छ ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवता, सहकार्य र एकताको भावनाका साथ पीडितको सहयोगमा जुट्न पनि महासंघले अपिल गरेको छ ।

महासंघको ‘विपत् व्यवस्थापन, सामाजिक सेवा समिति’ मार्फत आर्थिक एकद्वार प्रणालीबाट राहत संकलन गरी वितरण गरिने विज्ञप्तिमा उल्लेख छ । महासंघले सम्पूर्ण प्रदेश महासंघ, जिल्ला संघ, नगर संघ तथा सम्बद्ध व्यवसायी र कर्मचारी वर्गलाई पुनस्र्थापनाको यस अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै पीडित परिवारको साथमा रहने प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.