कोरोना महामारीका बेला फेवासिटीको मनोमानी, इन्डोस्कोपी शुल्कमा असामान्य वृद्धि

सुरेन्द्र पौडेल ।

पोखराको फेवासिटी अस्पतालले सेवाग्राहीलाई मर्का पर्नेगरी चरम लापरबाहीसहित शुल्कमा मनपरी वृद्धि गरेको छ । संसारभर फैलिएको कोरोना महामारीको प्रत्यक्ष मारमा नेपालसमेत परेको छ । कोरोना संक्रमण कम गर्न सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । संवेदनशील भएर सेवाभावका साथ स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने समयमा फेवासिटी अस्पतालले भने शुल्क बृद्धि गरेर सेवाग्राहीको ढाक सेक्ने काम गर्यो ।

फेवासिटी अस्पतालले इन्डोस्कोपी सेवामा एकैचोटी ३ हजार रुपैयाँ वृद्धि गरेको छ । इन्डोस्कोपी गरेको २ हजार रुपैयाँ लिदै आएको अस्पतालले लकडाउनको समयमा शुल्क वृद्धि गरी ५ हजार रुपैयाँ पुर्याएको हो । अस्पतालका अध्यक्ष चेतबहादुर गुरुङ र डाक्टर सुरेश थापाको मिलेमतोमा सञ्चालक समितिमा समेत छलफल नगरी गत वैशाख पहिलो साताबाटै शुल्क वृद्धि गरिएको स्रोतले बतायो । डाक्टर थापा अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन, पेट तथा कलेजो रोग विशेषज्ञ हुन् । इन्डोस्कोपीबापतको शुल्कबाट ३० प्रतिशत अस्पतालले र ७० प्रतिशत डाक्टरले प्राप्त गर्छन् ।

इण्डोस्कोपीको शुल्क वृद्धि गरिएको अध्यक्ष गुरुङले स्वीकारे । सम्बन्धित डाक्टर सुरेश थापाले डिएम (ग्याष्ट्रोलोजी) गरेपछि विशेषज्ञताको आधारमा शुल्क वृद्धि गरिएको गुरुङले बताए । थोरै शुल्क वृद्धिलाई सामान्य मान्न सकिएपनि लकडाउनको समयमा एकैचोटी ३ हजार रुपैयाँ वृद्धि गरिनुलाई असमान्य मानिएको छ ।

स्रोतका अनुसार अस्पताल सञ्चालक समितिका केही सदस्यहरुले समेत यो समयमा शुल्क वृद्धि गर्न नहुने अडान राखेका थिए । यद्यपि अध्यक्ष, डाक्टर र केही सञ्चालकको मिलेमतोमा शुल्क वृद्धि गरी सेवाग्राही बिरामीलाई मर्कामा पार्ने काम गरिएको छ । अस्पतालका प्रशासकीय प्रमुख त्रिभुवन पराजुलीले मंसिरबाटै शुल्क वृद्धि गर्ने भनिएपनि वैशाखबाट मात्रै बढाइएको बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले एकैचोटी ३ हजार रुपैयाँ शुल्क वृद्धिको कारण के हो भनेर अस्पतालसँग सोधिने प्रतिक्रिया दिए । ‘शुल्क वृद्धिको बारेमा प्रशासनमा उजुरी परेको छैन,’ उनले भने, ‘शुल्क बढाउनुको कारण के रहेछ हामी बुझ्छौं । एकैचोटी यति धेरै शुल्क नबढ्नुपर्ने हो ।’

उपभोक्ता मञ्च गण्डकी प्रदेशका संयोजक कपिलनाथ कोइरालाले अस्पतालले एकैपटक शतप्रतिशत भन्दा बढी रकम बढाउनु भनेको अनुचित र आपत्तीजनक कार्य रहेको बताए । ‘२ हजारबाट ५ हजार रुपैयाँ शुल्क बढाउनुपर्ने कारण खोजिने र कारण पुष्टि गर्न नसके कालोबजारी ऐन अन्तर्गत कारबाही गर्नुपर्छ,’ उनले भने । अस्पतालको अनुगमन गरी शुल्क वृद्धिका बारेमा जानकारी लिइने र कारबाहीको दायरामा ल्याइने कोइरालाले बताए ।

You might also like

Comments are closed.