काठमाडौं । नेपालको वित्तीय सेवा क्षेत्रका अगुवाहरु काठमाडौंमा भेला भई डिजिटल आधुनिकीकरणतर्फको यात्राबारे छलफल गरेका छन् । युकेमा मुख्यालय रहेको आईटी परामर्श, कन्सल्टिङ तथा साइबरसिक्युरिटी कम्पनी जेनेस सलुशन द्वारा आयोजित सेमिनारमा बैंक, वित्त, बीमा र पुँजी बजारसँग सम्बन्धित १०० भन्दा बढी सीइओ, सीआइएसओ, सीटीओ तथा सरकारी अधिकारीहरु सहभागी भएका थिए ।
“Securing the Shift: Driving Digital Transformation with Cloud Migration and Cyber Resilience for BFIs” शीर्षकमा आयोजित सेमिनारमा डिजिटल ट्रान्सफर्मेसनका अवसर, चुनौती र सुरक्षाबारे बहस गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयन गर्दै आएको उल्लेख गर्दै नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न कुनै कसर बाँकी नराखिने बताए ।
उनले नेपालमा उपलब्ध दक्ष जनशक्ति, स्वच्छ उर्जा र भौगोलिक स्थितिले मुलुकलाई आइटी हब बनाउन सक्ने सम्भावना रहेको औंल्याए ।जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले क्लाउड प्रविधि बैंक तथा वित्तीय संस्थाका लागि अब विकल्प नभई आवश्यकता बनेको बताए । उनले भने, “साइबर रेजिलियन्स एउटा संस्कृति हो, केवल कम्प्लायन्स चेकलिस्ट होइन । डिजिटल विकास अब नयाँ आधारशिला बनेको छ ।”
सेमिनारमा क्लाउड माइग्रेशन, साइबर रेजिलियन्स, ग्राहक संलग्नता र नियामक दृष्टिकोणका विषयमा विभिन्न सत्र, प्यानल छलफल र नेटवर्किङ अवसरहरु समावेश थिए । जेनेस सलुशनका उपाध्यक्ष विष्णु सुवेदीले स्वागत मन्तव्य दिँदै कार्यक्रमका उद्देश्यबारे जानकारी गराए भने कैलाश बडुले जेन एआइ युगमा ग्राहक संचार विषयमा प्रस्तुति दिए । निरञ्जन कुँवर र सम्पन्ना श्रेष्ठले आइएसओ २७००१ का उत्कृष्ट अभ्यास र नेपालको वित्तीय संस्थाका लागि सिकाइबारे आफ्ना विचार राखे ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले डिजिटल ट्रान्सफर्मेसनमा केन्द्रीय बैंकको नीति तथा अनुगमनबारे प्रष्ट्याए । जेनेस सलुशनका अनुसार, यस सेमिनारले नेपालको बैंकिंग तथा वित्त क्षेत्रका नेतृत्वकर्ताहरुलाई ज्ञान साटासाट गर्ने, चुनौती सम्बोधन गर्ने र सुरक्षित डिजिटल मार्ग खोज्ने साझा प्लेटफर्म प्रदान गरेको छ ।
Comments are closed.