ललितपुर । जिल्ला बजार अनुगमन समितिले कुम्भेश्वर, बङ्गलामुखी र शङ्खमूल क्षेत्रमा गरेको अनुगमनमा मासु व्यवसायी कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरमा सो क्षेत्रका स्थानीयवासीको गुनासो बढेसँगै आज भएको अनुगमनमा शङ्खमूलका मस्र्याङ्दी चिकेन सप्लायर्स र चिकेन डेलिभरी एण्ड कोल्ड स्टोर कारबाहीमा परेका हुन् ।
सहायक प्रजिअ ललितकुमार बस्नेतले अनुगमनका क्रममा आवश्यक कागजपत्र माग्दा देखाउन असहयोग गरेकाले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम रु पाँच÷पाँच हजार जरिवाना गरिएको बताए । घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका उद्योग अधिकृत भूमिका ओझाले सो क्षेत्रका कतिपय पसल दर्ता नभई सञ्चालन भएकाले छिट्टै व्यवसाय दर्ता गरी सञ्चालन गर्न निर्देशनसमेत दिएको जानकारी गराए ।
अनुगमनमा बस्नेत, ओझासहित ललितपुर महानगरपालिकाका प्रतिनिधि श्रीभद्र ओझा, उपभोक्ता मञ्चका धु्रवलाल तण्डुकार, उद्योग वाणिज्य सङ्घकी प्रतिनिधि गीता न्यौपानेलगायतको उपस्थिति थियो ।
Comments are closed.