फिस्टेल एकेडेमीको ‘फिस्टेल स्पोर्टस् फेस्ट’ पुषको पहिलो साता

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले ‘फिस्टेल स्पोर्टस् फेस्ट’ पुषको पहिलो साता आयोजना गर्ने भएको छ ।

विद्यालय स्थापनाको २९ औं बार्षिकोत्सबको अबसरमा आगामी पुषको ५ देखि ७ गतेसम्म उक्त प्रतियोगिता संचालन हुने शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो।

प्रतियोगीताको बारेमा जानकारी उक्त बिद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले बास्केटबलतर्फ छात्र तथा छात्रा दुवै र सेभेन ए साइड फुटबलमा छात्र समूह सहभागी हुने गरी गर्न लागिएको उल्लेख गरे ।

सो प्रतियोगितामा देशभरिका विद्यालयहरूले कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराउन सक्ने छन् । तीनओटै खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने रानाभाटले जानकारी दिए ।

लन टेनिसतर्फ छात्र र छात्रा दुवैमा १६ वर्षमुनि, १२ वर्षमुनि र ९ वर्षमुनिका खेलहरू समाबेश हुने छन् । लन टेनिस प्रतियोगितामा पनि आकर्षक पुरस्कार रहेको विद्यालयले जनाएको छ । विद्यार्थीहरूमा शैक्षिक विकासका साथसाथै खेलकुदमार्फत उनीहरूको चौतर्फी विकास गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको कुरा विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी गराए । रानाभाटले प्रतियोगिता सम्पन्न गर्न करिब रू १२ लाख खर्च हुने अनुमान गरिएको जानकारी दिए ।

कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तोरण बानियाँले पोखरालाई खेल पर्यटन सहरको रूपमा बिकास गर्न विभिन्न खेल प्रतियोगिता नियमित आबश्यक पर्ने हुदा आबश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विक्रम संवत् २०५१ मा स्थापना भई लामो समयसम्म शिक्षा र खेलकुद क्षेत्रमा ठुलो योगदान पुऱ्याउँदै आइरहेको यस विद्यालयले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर सो कार्यक्रमको आयोजना गर्न लागेको हो । एसईई २०७९ मा ४ जिपिए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस विद्यालयले विगत दुई वर्षदेखि आफूलाई गण्डकी प्रदेशकै एकमात्र प्रगतिशील विद्यालय (Progressive School) को रूपमा अगाडि बढाउँदै आएको छ । आईबी पिवाईपी  (IB PYP)  प्रस्तावित सो विद्यालयले आयोजना गर्ने उक्त खेलकुद प्रतियोगितामा देशका विभिन्न विद्यालयहरू सहभागी हुनेछन् ।

You might also like

Comments are closed.