भक्तपुर । नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिका कोषाध्यक्ष एवं स्वास्थ्य हित प्रवर्द्धन समितिका संयोजक संजीप घिमिरे शुभचिन्तकले पत्रकारको स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगर र सचिव डा सुमित्रा गौतमसंग भेटवार्ता गरेका छन् ।
भक्तपुरमा भएको भेटवार्तामा संयोजक घिमिरेले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ल्याएको पत्रकार स्वास्थ्य बीमा कार्यक्रम प्रति आभार प्रकट गरे ।
“बीमाको प्रीमियम प्रदेश सरकारले ब्यहोर्ने र त्यस अन्तर्गत वार्षिक एक लाख रुपैयाँसम्मको उपचार खर्च समेटिने ब्यवस्थाले पत्रकारको स्वास्थ्य हित प्रवर्द्धन गर्ने प्रदेश समितिले बिश्वास लिएको छ ।” स्वास्थ्य हित प्रवर्द्धन समितिका संयोजक घिमिरेले भने ।
उपत्यका प्रदेशका तीन जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरमा गरी १ हजार ६ सय पत्रकार रहेका जानकारी गराउदैँ घिमिरेले स्वास्थ्य हित कोषमा योगदान गर्न समेत आग्रह गरेका छन् ।
सो अवसरमा स्वास्थ्य सचिव डा सुमित्रा गौतमले पाँच जना पत्रकारलाई एउटा परिवार मानी स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराउने मोडालिटी प्रस्तुत गरिन् । जिल्ला स्वास्थ्य कार्यालय मार्फत सजिलै बीमामा आवद्ध भई तोकिएको अस्पतालबाट सेवा लिन सकिने उनले बताएकी छन् ।
त्यसैगरी बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगरले पत्रकार महासंघको साथ र सहयोगले पत्रकार स्वास्थ बीमा कार्यक्रम सफल हुने बिश्वास ब्यक्त गरे ।
यो वर्ष ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी – एक घण्टा मेरो लागि अभियान, “एक जिल्ला, एक स्वस्थ सहर” र “एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था” जस्ता कार्यक्रम प्रदेशभर लागू हुने र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्न यसले मद्दत मिल्ने मन्त्री थापामगरले बताएका छन् ।
“प्रादेशिक संरचनापछि स्वास्थ्य क्षेत्रमा आएको परिवर्तन गर्व लायक बनाउनेगरी र जनतामा प्रदेशप्रति विश्वास बढाउनेगरी काम अघि बढाइरहेका छौं” मन्त्री थापामगरले भने,”यसका लागि सञ्चार जगतको साथ र सहयोग आवश्यक छ ।
Comments are closed.