४ जलविद्युत आयोजनामा क्षति पुग्दा करोडौँंको नोक्सान

कृष्ण दवाडी/कास्की । केही दिनदेखिको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकामा चार वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । मादीको वडा नं १ र २ स्थित नदी किनारमा निर्माण सम्पन्न भएका र निर्माणाधीन जलविद्युत् आयोजनामा गएरातिको बाढीले ठूलो क्षति गरेको हो ।

बाढीबाट ४४ मेगावाट क्षमताको निर्माणाधीन सुपर मादी जलविद्युत आयोजनामा सबैभन्दा बढी क्षति पुगेको र सञ्चालनमा रहेका अन्य तीन आयोजनामा आंशिक क्षति पुगेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार आयोजना सम्पन्न भएर हाल सञ्चालनमा रहेका १० मेगावाटको सिक्लेस हाइड्रो पावर, १२ मेगावाट क्षमताको हिमालयन हाइड्रो(नार्माजुङ) र २५ मेगावाट क्षमताको अपर मादीमा क्षति पुग्दा विद्युत उत्पादन अहिले बन्द भएको छ ।

अपर मादीको बाँध पुरिएको र विद्यृत गृहमा बाढीले क्षति पु¥याएको अध्यक्ष गुरुङले जानकारी दिए । पहिराले सिक्लेस हाइड्रको प्रशारण लाइन बगाएको छ भने विद्युत गृह पनि जोखिममा रहेको बताइन्छ । आगामी वर्ष विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको सुपर मादी आयोजना बाढीले सबैभन्दा बढी प्रभावित बनेको छ । आयोजनामा काम गर्ने १७० जना मजदूरलाई भने स्थानीयवासी, नेपाली सेनालगायतको पहलमा आज बिहान उद्धार गरी विद्यालयलगायतका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइन्छ ।

jutta mela

सात अर्ब ५० करोड रुपैयाँ लगानीमा बन्दै गरेको सो आयोजनामा बाढीबाट एक अर्ब भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको आयोजनाका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताए । उनका अनुसार इलेक्ट्रो मेकानिकलतर्फ रु ३० करोड, हाइड्रो मेकानिकल रु १२ देखि १५ करोड, सिभिल कन्ट्रयाक्टरको निर्माण सामग्री, डन्डी, फलामसहित रु २० करोड, प्लान्ट र उपकरणमा रु २० करोड र सिभिल संरचनामा रु २० करोड गरी रु एक अर्ब हाराहारीमा क्षति पुगेको छ ।

यसैगरी आयोजनाको सुरुङबाहेक बाँध, विद्युत् गृह, हाइड्रो मेकानिकल र अन्य सिभिल संरचनाहरु बाढीले बगाएको छ । आयोजनास्थलमा रहेकका चार वटा एक्साभेटर, चारवटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, छ वटा कम्प्रेसर, अन्दाजी ४५० टन डण्डी र १० हजार बोरा सिमेन्ट बगाएको आयोजनाले जनाएको छ । “हिजो रातिको बाढीले आयोजनामा ठूलो वितण्डा मच्चाएको छ । मानवीय क्षति हुनबाट रोक्न सफल भएपनि हेडवक्र्स र विद्युत् गृह पूर्णतः नष्ट भयो ।” अध्यक्ष ढुङ्गानाले भने,“मानवीय क्षति रोक्न सफल भए पनि आयोजनामा करोडौँको भौतिक क्षति भएको छ ।” हाल आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएकामा बाढीका कारणले पुगेको क्षतिबाट आयोजना थप एक वर्ष लम्बिने र लागत बढ्ने अनुमान गरिएको उनले बताए ।

You might also like

Comments are closed.