काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आउन १० महिना बाँकी नै छ । चुनाव आउन झण्डै एक वर्ष बाँकी रहेपनि महासंघभित्र चुनावी चहलपहल भने बढ्न थालेको छ । सीमित पदका लागि हुने निर्वाचनमा आकांक्षीहरुको भने लर्को नै छ ।
हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ आगामी महाधिवेशनपछि महासंघको अध्यक्षमा स्वतह बढुवा हुनेछन् । अन्य पदमा भने निर्वाचन हुनेछ । संशोधित विधानको व्यवस्था अनुसार अन्जनको कार्यकाल पछि मात्रै अध्यक्षमा पनि प्रत्यक्ष चुनाव नै हुनेछ ।
आगामी महाधिवेशनमा कोको छन् पदाधिकारी आकांक्षी ?
महासंघको आगामी अधिवेशनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने दौडमा हालका तीनै जना उपाध्यक्ष छन् । वस्तुगत उपाध्यक्ष हेमराज ढकाल देश दौडाहा नै हिडिसकेका छन् । महासंघका हालका जिल्ला तथा नगर उपाध्यक्ष सुरकृष्ण वैद्य र एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्षका स्वभाविक दावेदार हुन् । त्यसैगरी रामचन्द्र संघाई, दिनेश श्रेष्ठ, भास्करराज कर्णिकार र किशोर लाल प्रधान पनि वरिष्ठका आंकाक्षी छन् । आकांक्षी धेरै भएपनि अन्तिममा पुग्दा वरिष्ठ उपाध्यक्षमा बढीमा ३ वा ४ जनासम्मको उम्मेदवारी कायम रहने विश्लेषण गरिएको छ ।
त्यसैगरी एसोसिएट उपाध्यक्षका दावेदार प्रवलजंग पाण्डे, शैलेन्द्र गुरागाईं, अजित बस्नेत, अम्बिका प्रसाद पौडेल लगायत छन् । सार्वजनिक रुपमै उम्मेदवारी घोषणा नगरेपनि उनीहरु उपाध्यक्षको दाबेदार हुन् । बस्तुगत उपाध्यक्षतर्फ भने हालसम्म दुई जनाले उम्मेदवारी नै घोषणा गरिसकेका छन् । शिव घिमिरे र नरेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरी प्रचारप्रसार र लबिङ तिब्र बनाएका छन् । १४३ वस्तुगत संघबाट उपाध्यक्ष निर्वाचित हुनेछन् ।
त्यसैगरी जिल्ला नगर उपाध्यक्षमा उमेश डाल्मिया, कृष्ण शर्मा, कृष्णप्रसाद दुलाल, कल्पना गैरे, दिलसुन्दर श्रेष्ठ, नरेन्द्र खड्का लगायत आकांक्षी छन् । उनीहरु मध्ये केहीले आन्तरिक फोरमहरुमा उम्मेदवारी नै घोषणा गर्दै प्रचारप्रसार सुरु गरिसकेका छन् । जिल्ला नगरतर्फ २ जना उपाध्यक्ष चयन हुनेछन् । अहिले उपाध्यक्षको आकांक्षा देखाएपनि केहीले अन्तिम चरणमा कार्यकारिणी सदस्यमा मात्रै उम्मेदवार प्रस्तुत गर्ने सम्भावना बढी छ ।
यसरी हुनेछ संशोधित विधान अनुसार निर्वाचन
महासंघमा अबको चुनाव परिवर्तित विधान अनुसार हुनेछ । वरिष्ठ उपाध्यक्ष कार्यसमिति सदस्यहरुबाट निर्वाचित हुनेछ । यस अगाडि आफू विजयी हुन मेहनत गर्ने वरिष्ठ उपाध्यक्षका आकांक्षीले अब आफ्नो पक्षमा धेरै सदस्य जिताउन भूमिका खेल्नुपर्ने अवस्था आउनेछ । गत मङ्सिरमा सम्पन्न महासंघको विशेष साधारण सभाले सर्वसम्मत विधान संशोधन गरेको हो । महासंघको विधान २०४९ मा सातौँ संशोधन भएसँगै महासंघको अध्यक्षमा निर्वाचन हुने पूरानै व्यवस्था लागु भएको हो । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था महासंघमा लागु भएको थियो ।
महासंघकोे कार्यकाल ३ वर्षको रहेकामा अब २ वर्षे कार्यकाल लागु हुनेछ । महासंघको उपाध्यक्ष ३ जना रहेकोमा अब ५ जनाको रहनेछ । एक जना वरिष्ठ उपाध्यक्ष रहनेछन् । जिल्ला नगरतर्फ एक थप गरी दुई जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्षसमेत रहने व्यवस्था विधानमा गरिएको छ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ । कार्यकारिणी समितिमा कम्तीमा १२ जना महिला सदस्य भएमात्रै महिला उपाध्यक्ष चुनिनेछ । महिला उपाध्यक्षको सभापतित्वमा महिला उद्यमी परिषद् गठन हुनेछ ।
महासंघको नेतृत्व तहमा महिला सहभागिता बढाउन जिल्ला, नगर, वस्तुगत र एसोसिएटतर्फ महिला सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरिएको छ । महासंघ अन्तर्गतको नेपाल युवा उद्यमी मन्चका अध्यक्ष महासंघ केन्द्रीय कार्यकारिणी समितिमा पदेन सदस्य रहने व्यवस्था पनि नयाँ विधानमा गरिएको छ ।
Comments are closed.