निजी क्षेत्रलाई सहयोग गर्न एफएनसीसीआईको अपिल

काठमाडौं । देशभर भएका आन्दोलन तथा प्रदर्शनका क्रममा जनधनमा भएको क्षति प्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले गहिरो दुःख प्रकट गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको महासंघले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेको छ ।

महासंघले हालका घटनाक्रमलाई विवेकपूर्ण रुपमा व्यवस्थापन गर्दै युवा पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगार र राजश्वको सदुपयोग जस्ता मुद्दामा देश अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ । यसका लागि अन्यौल अन्त्य गरी सुशासन कायम गर्ने कार्यमा निजी क्षेत्र सहकार्य र समन्वय गर्न तयार रहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार पछिल्लो आन्दोलनका क्रममा विभिन्न उद्यमी व्यवसायीका उद्योग, प्रतिष्ठान, कार्यालय र निवासमा तोडफोड तथा आगजनी भएका छन् । यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमा भएको आक्रमणको महासंघले कडा शब्दमा भर्त्सना गर्दै यस्ता घटना पुनः नदोहोरिन सम्पूर्ण पक्षको ध्यानाकर्षण गराएको छ । प्रारम्भिक अनुमान अनुसार अर्बौं रुपैयाँ बराबरको क्षति भएको र यसले राजश्व र कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा गम्भीर असर पार्ने देखिएको महासंघले जनाएको छ ।

महासंघले निजी क्षेत्रका गतिविधि निर्वाध सञ्चालन हुन नसके अर्थतन्त्रमा थप समस्या उत्पन्न हुने चेतावनी दिँदै सर्वसाधारणले पेशा व्यवसाय गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । साथै निषेधाज्ञा वा कर्फ्युका बेलामा औषधि, खाद्यान्न, दूध, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तुहरूको ओसारपसारमा सहजता दिन समेत अनुरोध गरेको छ ।

त्यसैगरी, बजारमा अभाव सिर्जना हुन नदिन गुणस्तरीय सामानको नियमित आपूर्ति गर्न सबै उद्यमी व्यवसायीलाई महासंघले आह्वान गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल खुला भए पनि धेरै भन्सार नाका बन्द भएकाले अत्यावश्यक वस्तु आयात–निर्यात सहज बनाउन भन्सार नाकामा सुरक्षा व्यवस्था मिलाउन पनि महासंघले जोड दिएको छ ।

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको उल्लेख गर्दै महासंघले स्थायित्व कायम गर्दै समुन्नत समाज निर्माणमा सबै पक्ष सहकार्य गर्नुपर्नेमा जोड दिएको छ । बुधबार बसेको कार्यकारिणी समिति र पूर्व अध्यक्षहरूको बैठकले सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र युवाले अपेक्षा गरेको मर्यादित रोजगारी र सुशासन सम्भव हुने निष्कर्ष निकालेको छ ।

महासंघले अन्त्यमा, वाक स्वतन्त्रता, पेशा व्यवसाय गर्ने अधिकार, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार र सरोकारवालालाई आग्रह गर्दै समुन्नत नेपाल निर्माणमा सबै पक्ष एकजुट हुन आह्वान गरेको छ ।

You might also like

Comments are closed.