काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र नेपाल विश्वविद्यालयबीच शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धान प्रवर्द्धनका लागि पाँच वर्षे सहकार्य समझदारी भएको छ । महासंघ सचिवालयमा बुधबार आयोजित कार्यक्रममा पाठ्यक्रम विकास, तालिम कार्यक्रम, संयुक्त परियोजना तथा सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा सहकार्य गर्ने बुझापत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा महासंघका तर्फबाट अध्यक्ष ढकाल र विश्वविद्यालयका तर्फबाट रजिष्टार डा. सूर्यराज आचार्यले हस्ताक्षर गरेका छन् । पाँच वर्ष कायम रहने सो एमओयूमा पाठ्यक्रम विकास, संयुक्त अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता विकास, तथा विद्यार्थी इन्टर्नशिप र रोजगारीका अवसर विस्तारका कार्यक्रम समावेश गरिएको छ ।
कार्यक्रममा महासंघ अध्यक्ष ढकालले युवा जनशक्ति विदेश पलायन भइरहेको परिस्थितिमा विश्वविद्यालय–महासंघ सहकार्यले देशमै दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुग्ने बताए । “उद्योग–व्यवसायलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्न र युवालाई रोजगारीका अवसर प्रदान गर्न यो सहकार्य महत्वपूर्ण छ,” उनले भने ।
नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दुनाथ लोहनीले महासंघसँगको सहकार्यले नेपालको शैक्षिक प्रणालीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्त्वपूर्ण कदम भएको उल्लेख गरे । “हाम्रो लक्ष्य विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप र उद्यमशीलताको भावना प्रदान गर्नु हो,” उनले भने ।
त्यस्तै, उपकुलपति डा. अर्जुन कार्कीले सीपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन विश्वविद्यालयको प्राथमिकता रहेको उल्लेख गर्दै यसका लागि निजी क्षेत्रसँगको सहकार्य निर्णायक हुन्छ भने ।
रजिष्टार डा. सूर्यराज आचार्यले परम्परागत शिक्षण संरचनाले बदलिँदो श्रम बजारको माग पूरा गर्न नसकेको उल्लेख गर्दै समाज र उद्योग–व्यवसायको आवश्यकताअनुरूप जनशक्ति उत्पादन गर्नु विश्वविद्यालयको मुख्य लक्ष्य रहेको बताए ।
गत जेठमा दुवै संस्थाबीच व्यावहारिक शिक्षा, सीप विकास, रोजगारी अवसर विस्तार तथा उद्योग–व्यवसायमैत्री दक्ष जनशक्ति उत्पादन सम्बन्धी प्रारम्भिक छलफल भएको थियो, जुन अब औपचारिक समझदारीमा परिणत भएको छ।


Comments are closed.