साउदीसँग आर्थिक सम्बन्ध विस्तार गर्न महासंघको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मिंखबीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ । बुधबार महासंघ सचिवालयमा भएको भेटवार्तामा नेपाल–साउदी आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, लगानी, पर्यटन तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

यस्तै नेपाल–साउदी व्यापार तथा लगानी सहकार्यलाई थप विस्तार गर्ने, निजी क्षेत्रबीच सम्बन्ध बढाउने तथा दुई देशबीच आर्थिक अवसर पहिचान गरी अघि बढ्ने विषयमा समेत सो अवसरमा छलफल भएको थियो । भेटवार्तामा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको परराष्ट्र सम्बन्धलाई आर्थिक अवसरमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । आर्थिक कूटनीतिले नेपाली व्यवसायका लागि नयाँ बजार खोल्ने, विदेशी लगानी भित्र्याउने, पर्यटन प्रवद्र्धन गर्ने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने गरी स्पष्ट परिणाम दिनुपर्ने उनको जोड थियो ।

अध्यक्ष श्रेष्ठले नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, उत्पादनमूलक उद्योग तथा पूर्वाधारलगायतका क्षेत्रमा ठूलो लगानी सम्भावना रहेको उल्लेख गर्दै गुणस्तरीय विदेशी लगानी आकर्षित गर्न स्थिर र पूर्वानुमानयोग्य नीति, छिटो स्वीकृति प्रक्रिया तथा लगानीमैत्री वातावरण आवश्यक रहेको बताए । नेपालले परम्परागत वस्तुको निर्यातसँगै विद्युत् तथा सूचना प्रविधि सेवा निर्यातको सम्भावनालाई समेत उपयोग गर्नुपर्ने भन्दै उनले चिया, कफी, जडीबुटी, हस्तकला लगायत नेपाली उत्पादनलाई साउदीमा निर्यात गर्न सकिने धारणा राखे ।
भेटमा साउदी राजदूत फहद बिन मोहम्मद बिन मिंखरले नेपालसँग आर्थिक सम्बन्ध थप विस्तार गर्न साउदी अरब इच्छुक रहेको बताए । उनले नेपालको जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा साउदी लगानी तथा सहकार्यको सम्भावनाप्रति चासो व्यक्त गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई थप गतिशील बनाउन आवश्यक पहल गर्ने बताए ।

राजदूत मिंखरले नेपाल र साउदी अरबबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तारका लागि छिट्टै हवाई सम्झौता हुन लागेको जानकारी दिँदै हवाई सम्पर्क विस्तारले दुई देशबीच पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध थप विस्तार गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले सरकार, निजी क्षेत्र र कूटनीतिक संयन्त्रबीच प्रभावकारी सहकार्य भए नेपालले अन्तर्राष्ट्रिय बजार, लगानी र पर्यटनका नयाँ अवसर हासिल गर्न सक्ने बताए । यस्तै महासंघ अध्यष श्रेष्ठले साउदी चेम्बरसंग साउदीका व्यवसायीहरु र बीटुबी सहकार्य बढाउन आवश्यक पहल गरिदिन रादुतसंग आग्रह गर्नु भयो । जवाफमा राजदूत मिंखरले सरकार–सरकार (जीटुजी) तथा व्यवसायी–व्यवसायी (बीटुबी) दुवै प्रकारको सम्बन्ध सदृढ गर्न आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

You might also like

Comments are closed.